कैलालीका बालबालिका समेत निर्मला बलात्कार/हत्या प्रकरणमा आन्दोलनमा उत्रिए

मा प्रकाशित


धनगढी । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७० दिन पुगिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन। निर्मला हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रदर्शन भइरहँदा कैलालीका बालबालिकासमेत आन्दोलित बनेका छन्।

हत्यामा संलग्नलाई कारबाहीको साटो सरकार अपराधी बचाउमा लागिरहेको भन्दै दोषीलाई कारबाहीको मागसहित लम्कीचुहा नगरपालिका अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पूर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करिब डेढ घन्टा चक्काजामसहित कोणसभा गरेका छन्। उनीहरुलाई बालबालिकाले पनि साथ दिए।

विभिन्न विद्यालयबाट स्वस्फुर्त रुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थीहरु सरकारको यस्तो कदमले आफूहरु सशंकित मात्र नभई ढुक्कसँग हिँडडुल गर्नसमेत असहज भइरहेको भन्दै आक्रोशित भएका छन्।

सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तिबाट आइरहेका अभिव्यक्तिले निर्मला पन्तका हत्यारा प्रक्राउ हुनेमा आफूहरु विश्वस्त हुन नसकेको उनीहरुले बताए।

पछिल्लो समय बढ्दै गरेका बलात्कार र हत्याका श्रृङ्खलाले आफुहरुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको बताए । आफुहरुको एक मात्र चाहना निर्मला पन्त र उनी जस्तै बलात्कृत भएका चेलीहरुलाई न्याय दिलाउनु रहेको भन्दै उनीहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

हत्यारा आफ्नै वरिपरी निर्धक्क घुमिरहेको भएपनि सरकार कानमा तेल हालेर सुतिरहेकोले सरकारको नेतृत्व गर्ने माथि नै गम्भीर शंका उत्पन्न भएको बालिकाहरुको भनाइ थियो ।

‘यस्ता गतिविधिले समाजमा शिर निहुराएर हिँडिरहनुपरेको छ,’ लम्की बहुमुखी क्याम्पस स्ववियु सभापति ललित जोशीले भने, ‘कुनै पनि हालतमा निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्छ। हामी निरन्तर दबाब दिनेछौं।’ – नेपाल लाइभबाट साभार

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: