हिन्दु परम्परामा भराण (भण्डार) प्रर्दशन

मा प्रकाशित


नेपाल राज्यका प्रदेश न. ७, ६ र भारत उतराखण्डका कुमाउँ गढवालमा आफना कूलदेवता र पूर्वजहरुबाट स्थानीय देवी-देवताहरुको अर्ध वा वार्षिकरुपमा हुने पूजाकार्यमा प्रयोग हुने सामग्री (देवीदेवताका नामबाट संकलित एकप्रकारको जिन्सी धनसम्पति जसको स्रोत मनशान्ती गर्न, मनोकामना पूर्ण गराउन अनुयायीहरुले श्रद्धापूर्वक समर्पण गरेको जिन्सी धनसम्पति वा देवस्वको) संरक्षण गर्ने, पूजाकार्यको दिन श्रदालुहरुलाई देखाउने वा उनीहरुको विश्वास कायम राख्ने प्रयोजनको लागि भण्डार संरक्षण गर्ने परिवारको घरबाट भणाण लैजाने प्रथा परम्परा चलि आइरहेको छ। यो परम्परा चल्नु चलाइनुको पछाडीको मूलकारण के होला यो परम्पराको सामाजिक औचित्य र यसका गुह्य रहस्यहरु के हुन सक्छन ? भन्ने सन्दर्भमा यसको उपादेयीताको ऐतिहासिक र सामाजिक विकास विज्ञानको कसौटीमा विवेचना गर्न भण्डारका साथै भण्डारी थरबारे केही प्रशङग र आधारहरुको विश्लेषण यस लेखमा गर्ने प्रयास गरेको छु।

राजेन्द्र सिंह भण्डारी

हिन्दु संस्कृति र पूजापद्धती:

हिन्दु धर्म नभई एउटा संस्कृति हो भनेर धार्मिक विद्धानहरुको भनाई रहेको छ। सर्वप्रथम प्रसियनहरु (हालको इरान जसको अर्थ आर्यहरुको भूमि मानिन्थ्थो करिब इ.स.१९३५ भन्दा पहिले) ले हिन्दु शब्द संवोधन गरेको मानिन्छ, प्रशियन र हिन्दुहरुका साझा राजा ‘यम’ हुनु ‘गाथ’ शब्द दुवै समुदायमा प्रचलित हुनुले प्राचिनकालमा दुवैको सामिप्यता रहेको हुनसक्छ। विश्वका तिन महान र पूराना सभ्यताहरुमा ककेसाइड, मंगोलाइड र निग्रोस सभ्यतालाई मानिन्छ।मध्ये मध्य-एशियाको ककेससबाट पछि जो ककेशियन कहलिए ‘सिन्धुनदी पार गरेर आएकाहरुलाई ‘स’ को उच्चारण ‘ह’ अपभ्रंश हुदै सिन्धुघाँटीमा सभ्यता वसाई हिन्दु धार्मिक संस्कृतिमा परिस्कृत तथा संस्कारित भएका भन्ने धारणा छ’ भने अर्कोतिर ११ औ र १२औ शताब्दीमा भारतमा मूगलहरुको व्यापक आक्रमणले हिन्दु संस्कृतिमा गरेको दखलका कारण वैदिक आर्यहरु आफनो सभ्यता बचाउन नेपालको पहाडक्षेत्रमा वसोबास गर्नपुगी खसहरुसँग मिलि उनीहरुमा समेत साँस्कृतिक प्रभाव पारेको भन्ने धारणा समेत रहेको पाइन्छ। हालको पाकिस्तानमा पर्ने सिन्धुनदी जीवन उद्दारक खासगरी तत्कालिन कृषियुगमा सम्पूर्ण समाजखेतीमा आधारित जीवनपद्धतीमा भरपर्ने भएकाले सिन्धि सभ्यताको सेरोफेरो मोहनजो दारो र हरप्पाको समय सभ्यतामा सिन्धनदीलाई ‘माँ’ को उपमा दिई पुजा गर्ने प्रचलन रहेको थियो। ‘हि’ को अर्थ ‘सूर्य’ र ‘इन्दु’ को अर्थ ‘चन्द्रमा’ मानिने भएकाले प्रतिकात्मक रुपमा ‘सूर्य र चन्द्रमा’ समेतलाई प्रकृतिको प्रतिकका रुपमा पूजागर्ने, सबैमा ईश्वरको दर्शन गर्नेहरुलाई हिन्दु भनिएको धारणा एकातिर छ भने तत्कालिन सनातनी हिन्दुहरु देवी-देवताहरुको कल्पना गर्दै देवी-देवताहरुकै जीवन जस्तो मानवहरुको आचरण, व्यवहार र क्रियाकलापको कल्पना गर्ने भएकाले मूर्तिपूजामा विश्वास गर्ने हिन्दुहरु प्राचीनकाल देखि नै पाञ्चायन देवी-देवताहरु (गणेश, विष्णु, शिव, देवी, सूर्य) पूजागर्ने भएकाले हिन्दु भनिएको भन्ने मत समेत छ।

जीवनको पवित्रतामा काल्पनिक देवी-देवता वा भगवानका चरित्रको आशा अपेक्षा गर्ने र प्रकृतिका हरेकवस्तु र प्राणीमा रहेका गुणहरु वा तिनका योगदान प्रति (कृतज्ञता) सम्मान गर्ने उद्देश्यले पूजापद्धतिको विकास भएकाले यिनै मान्यताहरुको शुरुवात प्राचीनकाल कहिलेबाट शुरुभएको हो एकिन मितिसमय नभएकोले सनातन भनिएको। वैदिककाल अर्थात वेद लेखिए देखि नै शुरु भएकाले वैदिक सनातन नामले पुकारिएको पनि भनिन्छ। धेरैजसो आधुनिक विद्धानहरुले हिन्दु ‘धर्म’ नभई संस्कृति हो। सनातन संस्कृति हो; यसभित्र नैतिक नियम, प्रकृति संवर्धन, सामाजिक सदाचार कायम, अहिसांत्मक कार्य, सुख र आनन्द प्राप्त हुने सवैकार्य र व्यवहार समेटिएका आशय प्रकट गर्दछन।

हिन्दु संस्कृतिमा खासपद्धती, नियम, आचरण, व्यवहार समेतमा निश्चितता र एकरुपता हुने भएपनि हिन्दु को पहिचान कुनैसंस्था वा व्यक्तिले घोषणा वा निर्धारण नगर्ने एकबाट अनेक अनेकबाट एक जसले जस्तो गर्दा पनि हिन्दु हुनेगरी फराकिलो दायरा छ। व्यवहार प्रचलनमा कसैले चाँहदैमा वा हिन्दु बनाउने कुनै संस्था संयन्त्र वा व्यक्ति नभएपनि केवल मान्छे स्वयंको विवेक, गुरु-यजमानको परम्परा र जीवन जीउने पद्धतिका कारण समाजले हिन्दु संस्कृति भित्र समुदायको आवद्धता अन्तर्निहित गराएको हुन्छ। सदभाव र प्रकृतिका गुणप्रतिको कृतज्ञता वा सम्मान हिन्दुदर्शन मान्यता भित्रका सुन्दर पक्ष भएपनि संस्कृतिको परिभाषा गर्न कठिन छ। समग्रतामा संस्कारहरुको निरन्तरता जो जीवन पद्धतिमा आचरणबाट प्रर्दशित हुन्छ त्यसलाई संस्कृति भन्न सकिन्छ भने संस्काररुपी व्यवहारका कारण समाजको संस्कृति निर्माण हुने भएकाले संस्कारका बारेमा शास्त्रहरुमा विभिन्न परिभाषा होलान त्यतातिर नगई संस्कार जो ‘जीवन व्यवहार, आचरण र सदाचारको अभिलेख हुन जुन चलायमान तथा गतिशिल हुन्छ। ‘ज्ञान र अनुभवको माध्यमबाट प्राप्त स्वयं महशुस गरेको यथार्थता वा वोधलाई जीवन व्यवहार आचरणमा निरन्तर अभ्यास गर्दै लैजाने प्रक्रियालाई संस्कार मान्दै यो पद्धती जीवनभर वा सन्तान दर सन्तान निरन्तर रुपमा चलेको हुन्छ ।

हिन्दु संस्कृति भित्र धार्मिक पूजापद्धती, कर्मकाण्ड, यज्ञहरु र विभिन्न उत्सव चाँडपर्वहरु पर्ने भएकाले प्राचीनकाल देखि नै प्रकृतिका मूलस्वरुपहरुको संरक्षण गर्दै सदभाव र एकता कायम गर्न एकठाउँमा भेला भई मानवीय वा प्राकृतिक भयबाट मुक्ति पाउने उद्देश्यले प्रार्थना गर्ने, आफनो राज्यक्षेत्रको संरक्षण गर्न एकजुट हुने, आफुप्रति कृपा वा जीवन निर्वाह गर्न गुण लगाउने तत्व ‘पञ्चमहाभुत’ (अग्नी, जल, वायु, आकाश र पृथ्वी) लाई भोग लगाउने, ईश्वर वा देवतालाई खुसी तुल्याउन, मनशान्तिका लागि पूजा-प्रार्थना गर्न पूजाविधि, विभिन्न कर्मकाण्ड र परम्पराहरु चलेकामा अन्यथा भन्न सकिन्न। संस्कृति व्यक्तिको मात्रै नभई समाजको पनि हुने भएकाले बहुसंख्यक समाजले ग्रहण गरेको वा अपनाएको संस्कृतिमा पनि व्यक्तिहरुले अपनत्व वा सहभागिता जनाउन विभिन्न सामाजिक चाँडपर्व प्रथा परम्पराहरु जन्मेका हुन। हिन्दु संस्कृतिमा यस्ता धेरै प्रथा-परम्पराहरु रहेका छन। समयको गतिशिलताले हिजोका संस्कार र परम्पराहरु धेरै परिवर्तन भएका छन र हुने क्रममा छन। हिजो सतिप्रथा, बहुविवाह, छुत अछुत, झुमा, देवकी प्रथा, बाल विवाह, अनमेल विवाह, नरबली, पशुबली, गुरुशिष्य परम्परा, नातेदार आफनै वन्धुवान्धव सँगका विवाह समेत नेपाली समाजमा थिए भने आज समयको अन्तराल चेतनाको विकासका कारण यस्ता परम्परा परिवर्तन हुदै परिमार्जन भएका छन। परिवर्तन श्रृष्टीको शाश्वत नियम भएकाले समय सँगसँगै परिवर्तन नहुने संस्कृति प्रथा परम्परालाई बोक्दै हिडनु पनि आजको पुस्ताको लागि वोझ हुनसक्ने संभावनालाई नकार्न नसकिने हुदाँ समसामयिक सुधारको खाचो समेत रहेको छ।

प्राचीनकालमा पृथ्वीका अदभूत अवयवहरुको पूजागर्ने प्रचलन प्रशियन र सनातनी हिन्दु समाजमा भएपनि मध्यकालसम्ममा आजका जस्ता आधुनिक स्वरुपका मन्दिर वा प्रार्थाना गर्ने ठाउँ बन्न नसकेकाले तत्कालिन समाजमा धर्तिका कुनै अदभूत ठाउँ, पुरुषार्थ वा साहासिक कार्यगर्ने व्यक्ति प्रतिको सम्मान, भयबाट मुक्तिपाउन, हिसांको प्रायश्चित गर्न, कृतज्ञता र सम्मान गर्न पूजापद्धतीहरुको विकास भई कालान्तरमा घेरपर्खाल, रुख, गुफा, ढुङगाँ वा अदभूतवस्तु, खोलानदी, पहाडपर्वत, गुणवान प्राणी र पुरुषार्थ गर्ने देवतुल्य व्यक्ति देवता वा अन्य प्रकृतिका अवयवहरुको पूजा हुनु समयको आवश्यकता थियो । प्रत्यक्ष नदेखिने भयहरु जो confidential मन, वुद्धीसँग सम्बन्धितबाट मुक्ति पाउँने उपाय केवल सामाजिक ‘ऐक्यवद्धता’ मात्रले संभव थिएन। धार्मिक संस्कृतिले यही ऐक्यवद्धता मार्फत मान्छेसँग मान्छेलाई सामाजिक रुपमा जोडन मद्दत गरेको हुनुपर्छ। दैनिक जीवनको कर्म व्यबहारबाट मुक्त भएको समयमा फैलिएका आफना आफन्तसँगको भेटघाट गर्ने, मनोरञ्जन गर्ने, धर्ति वा पञ्च महाभूत प्रति सम्मान कृतज्ञता गर्न सामुहिक रुपमा भेला भई प्रार्थना गर्न पूजागर्ने स्थानहरु निश्चित हुदै गएका हुन भन्न सकिन्छ।

आफनो राज्यको सुरक्षा प्रथम प्राथमिकता भएको तत्कालिन समयमा राज्य सुरक्षित पश्चात खेतीपातीको काम सम्पन्न गर्ने र आमोदप्रमोद कालागि सुखमा उत्सव र दुःखमा संवेदना दिन सामुहिक उपस्थितिको आवश्यकता महशुस हुदै गएको र सामाजिक सदभाव कायम गर्न पूजापद्धती, भक्ति मार्गलाई माध्यम बनाई आत्मा, मनशान्त गर्न कूलका देवीदेवता, पूर्खा, भगवान वा ईश्वरलाई खुसी मनाउने तौरतरिकाहरुको शुरुवात भएकोमा आश्चर्य मान्नु नपर्ला। राज्यको लागि लडाई गर्नुपर्ने लडाईमा आफन्तहरु धेरैको क्षति हुने, जोसुकैबेला पनि राज्य र धन सम्पत्तिको सुरक्षाको चिन्ता हुने, मनशान्त गर्न वा मनको चिताएको पुरयाउन, कुनै कार्यमा सफलता हासिल गर्न, भगवान वा देवीदेवतालाई भोग लगाउने पद्धतीहरु विकास हुदै गर्दा भगवानसँग आफुले सोचेको कार्यमा सिद्धि पाउन भक्तिको नाममा नरबली (कुनै समयमा धार्मिक नै मानिन्थ्यो) देखि पशु-पंक्षीको बली गर्ने आजको समयमा विकृति ठानिएका परम्परा समेत चले। कागजी नोटहरुको आविस्कार नभैसकेका हुदाँ देवी-देवता खुसी मनाउन अन्न फलफुलका साथै वस्तु, धनका साधन जस्तै जग्गा, सुनचाँदी, अन्यधातु सुनचाँदी र अन्यधातुका सिक्का चढाउने चलनहरु चल्दै गएँ।

भण्डार संरक्षणको अवधारणाः

अहिलेका जस्ता मन्दिर पाटीपौवा धर्मशाला बनेका र विकसित नभइ सकेकाले देवी-देवतालाई आफनो मनोकामाना पूर्णगर्न धितोको रुपमा चढाएका सुनचाँदी वा वस्तु कहाँ कसरी राख्ने ? कसले संरक्षण गर्ने आदी समस्याहरु आउन थाले । यस्ता समस्याहरुको समाधान गर्न गाँउकै कुनै “सज्जन, इमान्दार वा गाँउमा शाररिक रुपमा बलियो” व्यक्तिको खोजी हुनसक्ने संभावनालाई नकार्न सकिदैन। भण्डार संरक्षकको रुपमा गाँउकै उक्त गुण भएको व्यक्तिलाई जिम्मेवारी दिनेकार्य भएको हुनुपर्छ र कालान्तरमा त्यस्तो व्यक्तिलाई भण्डारे वा भणणे र निजको परिवारलाई भणणेको परिवारका नामले पश्चिम नेपालदेखि राजधानी पशुपतिका राजभण्डारीहरुले जिम्मेवारी पाएकाबाट कालान्तरमा कर्मको नामले थर पहिचान हुने नेपालको सामाजिक यथार्थ हुन गएको हुनुपर्छ।

प्राचीन कालदेखि नै खसआर्यहरु शैवधर्म (जे जुन नाम वा स्थानमा पनि शिवको पूजा) मान्ने हुदाँ प्रतिकात्मक रुपमा शिव भगवानका नाममा विभिन्न गुफा, मन्दिर, लिङगहरु स्थापित हुदैगए। बैतडी जिल्लाकै सेरोफेरोमा पनि तिनदेखि पाँच हजार भन्दा बढी स्थानमा स्थापित शिव भगवानलाई विभिन्न स्थानानुसारको नामबाट संवोधन गरिन्छ। जव समाजमा व्यक्तिहरुले विश्वास अविश्वासका विषय उठाउन थाले धितोको रुपमा राखिएका सुनचाँदी वस्तुको जो कसैको घरमा राखिएकाले नोक्सान हुनसक्ने, नाशिने, व्यक्तिगत प्रयोगमा लगाउन सक्ने, मौका पर्दा वेचविखन हुनसक्ने संभावनाहरुले इमान्दारिताको प्रश्नहरु खडाभए तव त्यसरी व्यक्ति वा परिवारलाई सभाल्न दिएको जिम्मेवारीमा दिएका सुनचाँदी धनसम्पति वार्षिक अर्धवार्षिक वा पूजाको समयमा संरक्षकको तर्फबाट गाऊँका प्रवुद्ध व्यक्तिलाई देखाउन पूजाको दिन भणाण लैजाने त्यसरी पूजा गर्ने स्थानसम्म लैजादाँ रमाइलोसँग सवैमिलेर सामुहिक रुपमा लैजाने धामीझाँक्री परम्परामा पनि खसआर्यहरु विश्वास गर्ने हुनाले सँगसँगै जाने रीतिरिवाँज चलन चलेको हुनुपर्छ। नासोको रुपमा राखिएको धितो सुनचाँदी सवैलाई देखाउनुको मेरो सामाजिक जिम्मेवारी कायम छ, यथावत नासिएको मासिएको छैन भनि एकप्रकारको सामाजिक परिक्षण public Audit को रुपमा विश्वास दिलाउने सामाजिक उतरदायित्व प्रतिको इमान्दारिता नै भणाण लैजाने परम्परा हो भन्न सकिन्छ। भणणे वा भण्डारी परिवारको समाजका प्रति धार्मिक, साँस्कृतिक सामाजिक जिम्मेवारी र उत्तरदायित्वको वहन नै भणणे र भण्डार संरक्षकको सार्थकता हो निष्ठा हो, आफनो समाजप्रतिको विश्वासका आधारहरु कायम राख्ने कार्यको निरन्तरता पनि हो। असहिष्णु समाज, गरिबी, अविश्वास, सन्देह, र भौतिकवादको यो समयमा यस्तो कार्यको जिम्मेवारी सम्हाल्नु आजको सन्दर्भमा चुनौतिपुर्ण जोखिमले भरिपूर्ण छ।

भण्डारी थर:

‘भण्डारी’ संस्कृत शब्द ‘भाण्डागारिक’ को अपभ्रंश रुप हो। यसको अर्थ कोषाध्यक्ष या अर्थमन्त्री भन्नेहुन्छ। देवताको नाममा प्राप्त भएको धन होस वा राज्य वा राजाको भण्डारी थर देवस्व र राजस्वको संरक्षण गर्ने, धार्मिक साँस्कृतिक सामाजिक कार्यको जिम्मेवारीका कारण पहिचानमा आई प्रयोगमा आएको संभावनालाई नकार्न सकिन्न। भण्डारीहरुको पहिचानका बारेमा इतिहासविद् सूर्यमणि अधिकारीका अनुसार “जिताराम भण्डारी र उनका सन्तानहरु सिंजापती भण्डारी रहेछन भन्नु भएको छ। ‘यसरी भण्डारी एउटा सरकारी दर्जाभए तापनि कालान्तरमा पारिवारिक उपनाम अर्थात थरमा परिणत हुन गएको देखिन्छ। राजा अशोक चल्लका (मल्ल) पालामा (वि.स.१३१२-३५)मा आफुलाई क्षत्रिय कुलदिपक भन्ने ‘सहणपाल’ नाम गरेका व्यक्ति सिंजाको दरबारमा ‘भण्डागारिक’ पदमा थिए (इपिग्राफिया इण्डिका, भोलम १२,पृ.३०) राजा पुण्यमल्लका वि.स.१३९३ र ९४ का कनकपत्रहरुमा दृष्टसाक्षीका रुपमा भाण्डागारिकहरु पनि रहेकाछन (इतिहास प्रकाशनमा सन्धिपत्र संग्रह भाग १, पृ. ७६१-६२) राजा पृथ्वीमल्लका पालामा (वि.स.१३९५-१४१५) सम्ममा भाण्डागारिकहरुलाई भण्डारी भन्न थालिसकेको देखिन्छ। पृथ्वीमल्लका अभिलेखबाट अभु भण्डारी, शङकरदेव भण्डारी, बाछु भण्डारी आदी व्यक्तिहरुले सिंजाको प्रशासनमा महत्वपूर्ण स्थान प्राप्त गरेको देखिएको छ। (इतिहास प्रकाश अंक,२,भाग १,पृ.४९,७०)” त्यस्तै प्रा.डा.दिल बहादुर क्षेत्रीले ‘खसजाती आदिवासी कि आप्रावासी तथ्य र तथ्याङकमा आधारित निचोड’ शिर्षकमा भण्डारीलाई ‘राजकीय कोषको प्रमुखको’ रुपमा उल्लेख गरेका छन’ भने प्रा.डा. सुरेन्द्र केसीले सोही पुस्तकमा खस साम्राज्यका सरकारी दर्जाबाट उत्पति भएका थरहरु भन्ने उपशिर्षकमा ‘भण्डारीथर’ भन्नाले ‘राजकीय कोषको प्रमुख’ को रुपमा उद्धरण गरेका छन।

‘डोटी राज्यको इतिहासका’ लेखक भोजराज भट्टराईले भण्डारीवशंको उत्पति र विस्तारका बारेमा ‘भण्डारीक्षेत्री गढवाल मटुरगाँउबाट डोटीमा आएका, पौराणिककालमा धारमनगरका वासिन्दा हुन। धारमनगरका जगदेउका सन्तान भनेर बताउँछन। धारमनगरमा राज्यगर्ने राजा उदयाजितका दुई राजकुमार थिए। जेठा जगदेउ र कान्छा बाईदेउ जेठाछोरा राजा हुनुपर्नेमा विविध कारणले कान्छा उतराधिकारी घोषित हुदाँ सो विरोधका कारण धारमनगर छोडी विस्थापित गढवालमा वसोवास गरी भण्डारी जाती पवारवंशी भनेर बताउँछन। खस सम्वत शाके १३ सयदेखि १४ सयको आसपास डोटीमा प्रवेश गरे। शान्तीसुरक्षा राम्रो भएकाले पल्यालभाट र भण्डारी सँगसँगै प्रवेश गरेका थिए’ भनि लेखेका छन। यो लेखबाट कुनै एकपरिवारको आगमनलाई मात्र विस्तार भएको देखाएकाले ऐतिहासिक प्रमाणहरुको अभावमा विश्वसनीय र यथार्थ नजिक मान्न सकिदैन। कुमाउँमा शान्तीसुरक्षा राम्रो नहुने र डोटीमा हुने कति विश्वासपरक होला र एउटा परिवारबाटै भण्डारीहरु अधिराज्यभरी र भारतका विभिन्न ठाउँमा कसरी फैलिन सक्छन अर्कोतिर भण्डारी क्षेत्रीजाती मात्र छैनन ब्राहमणजाती समेत छन। गोत्रिय हिसाबले नेपालभरी विभिन्न गोत्रका छन भने बैतडी पाटनका भण्डारी आफुलाई गौतम गोत्रका सन्तान र सो गोत्रमा चन्द ठकुरी देखि बिष्ट, कठायत समेत छन।

मूलजातीय विस्तारका हिसावले ककेशाइड मूलका भण्डारी थरका परिवार क्षेत्री हुन वा ब्राम्ह्रण खसजाती मूलका हुन। खसहरुजातीहरु ईसापूर्व ३३००-१३०० को समयदेखि नै मध्यएशियाबाट आई खसहरुले कुमाउँ गढवाल, डोटी कर्णाली खसप्रदेशमा मध्ययुगमा साम्राज्यहरु खडागरेको इतिहासले कामको जिम्मेवारीका आधारमा (देवस्व र राजस्वको संरक्षण गर्ने) भण्डारी थरको उल्लेखित प्रशङग तथ्य र सत्य नजिक मान्न सकिन्न। धारमनगरका जगदेउका सन्तान मात्रले भण्डारीहरुको मूलस्रोत प्रमाणित हुन सक्दैन र नेपाल वा भारतका विभिन्न भौगोलिक क्षेत्रमा समेत भण्डारीहरु ठूलो संख्यामा उपस्थिति हुनुले यो तथ्यलाई पुष्टी गर्दैन। भण्डारको संरक्षण गर्ने जिम्मेवारी पाएका व्यक्तिबाट परिवार संख्या बढदै गएपछि भण्डारी थर पहिचानमा आएको र कुनै ठाउँका रजौटा भएपनि वा समयकालमा भण्डारीका पूर्खाहरुले काजीपदवी पाएपनि भण्डारीहरुको कुनै शासन गरेको राजवंशसँग सम्बन्धित भएको इतिहास भेट्टाइदैन। जिम्मेवारी वहन गरेको र गर्दै आइरहेकाले नै भण्डारीहरुको थर पहिचान भएको हो। खसराजा र राज्यको राजधानी सिजांमा ‘भाण्डागारिक’ शब्दको अपभ्रश नै भण्डारी थरको उत्पत्तिको आधिकारिक मान्न सकिन्छ।

उपसंहारः

मध्यकालमा राज्यविस्तारका क्रममा लडाई काटमार, लुटपाट, हत्या, डकैतीका कारण मान्छेहरु सधै त्रसित अवस्थामा रहन्थ्ये, खस साम्राज्यहरु; कत्युर, डोटी, सिन्जा राज्यहरुको विस्तार नै आपसी लडाई कारण थियो। भणणे वा भण्डारीथर सामाजिक विश्वासको आधारबाट खडाभएको थर हो जुन मध्यकाल वा खस सम्राज्यको राज्यविस्तारकै क्रममा उत्पत्ति भएको भन्न सकिन्छ। भणाण लैजाने वा देखाउनुका पछाडी सामाजिक जिम्मेवारी, धार्मिक आवद्धता प्रतिको समर्पण र ईमान्दारीता प्रतिको विश्वास हो। आज सम्मका कतिपय विरालो बाँध्ने संस्कृति मात्रैले अन्त:संस्करण शुद्धी नभई आध्यात्मिक जागरण वा मुक्ति समेत नहुने हुदाँ हरेक प्रथा परम्पराहरुको अनुशरण वुद्धिमानी युक्त तरिकाबाट हुनुपर्छ र सामाजिक धार्मिक प्रथा परम्पराहरुको समसामयिक सुधार हुनुपर्ने आवश्यकता पनि हो।

(लेखक सिद्धनाथ उदयदेव मन्दिर पाटन बैतडीका भण्डार संरक्षक (भरणे) हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: