आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

मा प्रकाशित


काठमाडौं ।

आज ऋषिपञ्चमी, नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

रजस्वलाका समयमा भएका त्रुटि आज अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

आज बिहानै उठेर महिलाहरुले नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ ।

नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गर्नुपर्ने भनाइ उनको छ । -अनलाइनखबर बाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: