प्रदेश ७ मा ‘ओल्के’ पर्व धुमधामका साथ मनाइँदै

मा प्रकाशित


बैतडी ।

प्रदेश नं ७ का जिल्लाहरुमा हर्लोल्लाषका साथ आज ओल्के पर्व मनाइदै छ । यो पर्व भाद्र संक्रान्तिका दिन प्रदेश नं ७ मा धुमधामका साथ मनाउने गरिन्छ ।

आजको दिनमा बिहानै नुहाईधुवाई गरी खानाका विभिन्न परिकारहरु तयार गरेर आफन्तलाई ओल्को अर्थात् उपहार दिने गरिन्छ । यस पर्वमा आफूभन्दा ठूलावडा, मान्यजनहरुलाई सम्मान स्वरुप गाभा अर्थात् कर्कलाको भित्री पात फलफूल आदि दिने, मीठो मसिनो खाने, हातमा मेहन्दी लगाउने, युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउँसोभरी रमाईलो गर्ने गरिन्छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन छ ।

ओल्कोले खासगरी सौगात उपहार वा कोसेली भन्ने बुझाउँछ । वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा यो पर्व मनाइन्छ । यस पर्वपछि विभिन्न चाडपर्व सुरु हुने हुँदा यस पर्वलाई यहाँका बासिन्दाले जेठो पर्वका रुपमा पनि लिने गर्छन् ।

धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ ।

नेपालको प्रदेश नं ७ क्षेत्रसँगै यो पर्व भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ । ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्दछन् । यसरी तयारी गरिएको बुढीलाई असोज सङ्क्रान्तिका साँझ गाउँका सबै जना मिलेर एकैसाथ पोल्ने चलन छ । यसलाई पोल्दा आत्म मङ्गलसँगै सर्वमङ्गलको कामना गरिन्छ ।

यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु रहेको बुकापाका बताउँछन् । खासगरी विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहे अनुसार यो पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: