टाइफाइड, यसका लक्षण र बच्ने उपाय

मा प्रकाशित


बाल्यवस्थामा लगभग हामी सबैजसोले एकपटक टाइफाइड रोगको अनुभव गरेका हुन्छौँ ।

अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ ‘टाइफसजस्तै लाग्ने’ भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखापर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो । टाइफाइडलाई म्यादी ज्वरो तथा आन्तरिक ज्वरोको नामले पनि चिनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी (मुख्य) र पाराटाइफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । तुलनात्मकरूपमा एशियामा टाइफाइडका बिरामी बढी हुने गर्छन् । त्यसपछि अफ्रीकी मुलुकहरू दोस्रो नम्बरमा आउँछन् । एशियन मुलुकहरू जस्तै बंगलादेश, चीन, नेपाल, इन्डिया, इंडोनेशिया, लाओस, भियतनाम आदिले ८०५ रोग ओगट्छन् । असार, साउन र भदौ अर्थात् वर्षायाममा यो रोगको सङ्क्रमण बढ्दछ । दूषित पानी, खानाका माध्यमबाट सर्ने यो रोग मानिसको व्यक्तिगत सरसफाइ तथा वातावरणीय सरसफाइसँग प्रत्यक्षरूपमा सम्बन्धित छ । त्यसैले विकासोन्मुख देशहरूमा यो रोग एउटा स्वास्थ्य चुनौती पनि हो।

टाइफाइड रोगको कीटाणु जब दूषित पदार्थसँगै निलिन्छ तब यो पेट हुँदै आन्द्रासम्म पुग्दछ । सामान्यतया पेटमा हुने अम्लीय रस र शरीरको प्रतिरक्षा प्रणालीले यी कीटाणुलाई मार्दछ र रोग लाग्नबाट बचाउँछ । तर, यसबाट फुत्किन सफल भएमा मेसेन्टेरिक लिम्फ नोड र त्यहाँबाट कलेजो, हाडको मासी, फियो, थोरासिक डक्टमा गएर बस्छन् जहाँ प्रजननद्वारा आफ्नो संख्या वृद्धि गर्छन् । त्यसपश्चात यहाँबाट सीधा रगत र टार्गेट अंगहरूमा पुग्दछन् । पित्तथैलीमा पुग्ने पनि रगत वा पित्त रसको माध्यमबाट हो । पित्तले ब्याक्टेरियाको लागि सहज वातावरण बनाउँछ। यसमा ब्याक्टेरिया लामो समयसम्म बाँच्न सक्छन् ।

उक्त व्यक्तिले जीवनभर अरूलाई टाइफाइड सार्न सक्ने क्षमता राख्दछ किनकी हरेक पटक पित्त (जसले पाचन रसको काम गर्छ) दिशासँगै मिसिएर र ब्याक्टेरिया पित्तसँगै मिसिएर बाहिर निस्कन्छ । पिसाबमा पनि कीटाणु मिसिएका हुन्छन् । गलत के नबुझौँ भने, यस्तो बेलामा सबै मानिसमा लक्षण देखा पर्नै पर्छ भन्ने चाहिँ होइन । बिना लक्षण पनि मान्छेले टाइफाइड सार्न सक्छन्।

कस्ता–कस्ता लक्षणहरू देखिन्छन् त टाइफाइड हुँदा ?

संक्रमण छ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्द देखि गम्भीर प्रकृतिका हुने गर्दछन् ।

रोगको पहिलो हप्ता

० पाचन प्रणाली संग सम्बन्धित लक्षण जस्तै पेट दुख्ने, कब्जियत हुने
० बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो
० फुको खोकी लाग्ने
० टाउको दुख्ने
० बढ्दो आलस्यता
० कन्फ्युज हुने आदि।

र हप्ताको अन्त्यमा,
० लगातार उच्च ज्वरो (१०३–१०४ डिग्री फरेनहाइट)
० केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग (२–५ दिन पछि हराउँछ)

यति हुँदासम्म पनि बिरामीले उपचार नपाएमा,

रोगको दोस्रो हप्ता
० माथीका लक्षण बढ्दै जाने
० पेट फुलिने
० फियो सुनिने
० मुटुको गति सापेक्षीक रूपमा घट्ने

रोगको तेस्रो हप्ता
० उत्तिकै ज्वरो
० खाना पटक्कै खान मन नलाग्ने
० शरीरको तौल घट्ने
० आँखामा इन्फेक्सन
० छिटो छिटो सास फेर्ने
० कमजोर नाडी
० हरियो–पहेँलो (केराउको सुपजस्तो) एकदम गन्हाउने पातलो दिशा
० अनुहारबाटै सिरियस बिरामी देखिने
० दिग्भ्रमित हुने
० मानसिक सन्तुलन गुमाउने आदि।

यदि अवस्था अझै गंभीर हुँदै गए पेयर्स प्याचेज कुहिने अनि आन्द्रामा प्वाल पर्ने हुन्छ। जसले गर्दा भित्र धेरै रगत बगेर वा इन्फेक्सन (पेरिटोनाइटिस) भएर बिरामीको मृत्यु हुनसक्छ ।

कथम कथाचित बिरामी बाँची हालेमा, रोगको चौँथो हप्ता

० ज्वरो, मानसिक स्थिति र पेट फुल्न विस्तारै ठीक हुन थाल्छ
० तौल बढ्न र स्वास्थ्य पुनः पहिले जस्तो हुन लामो समय लाग्छ
० यो रोग अरूलाई सार्न सक्ने क्षमता जीवनभर राख्न सक्दछ।नोटः टाइफाइडका लक्षणहरू सधैँ माथी दिए जस्तै हुन्छन् भन्ने होइन । लक्षणहरूको एकदम अनियमित खालको प्रस्तुति रहन सक्छ।

रोगको निदान
यस रोगको निदान लक्षणहरूको आधारमा नै गरिन्छ। तर प्रमाणको लागि कल्चरबाट ब्याक्टेरिया छुट्याउनु पर्ने हुन्छ।

हाडभित्रको मासी, रगत, दिशा आदिलाई परीक्षण तथा कल्चरको लागि प्रयोग गरिन्छ।आन्द्रामा प्वाल परेनपरेको पत्ता लगाउन एक्स(रे, सिटीस्क्यान, एमआरआइ पनि गर्न सकिन्छ।

रोग निदानका लागि विडाल टेष्ट वर्षौसम्म प्रयोगमा रह्यो तर प्रमाणका लागि कल्चर गर्नै पर्ने तथा उक्त टेष्टको sensitivity र specificity कम हुनाले आजकल प्रयोग हुन छाडेको छ।

उपचार

एम्पिरिकल ब्रोड इस्पेक्ट्रम यान्टिबायोटिक, रोग प्रमाणित हुनु भन्दा अगाडि चलाइन्छ भने टाइफाइड भन्ने प्रमाणित भइसकेपछि न्यारो इस्पेक्ट्रम यान्टिबायोटिक चलाइन्छ । एन्टिवायोटिक जुन पायो त्यही र जति पायो त्यति डोजमा सेवन गर्दा प्रतिरोध विकसित भइ पछि उही एन्टिवायोटिकले पनि काम नगर्ने हुन्छ र निको हुन त्योभन्दा कडा चाहिने हुन्छ जुन आफैँमा एउटा ठूलो समस्या हो ।े

प्रायः बिरामीको उपचार ओपिडिबाट नै हुन्छ र बिरामीलाई राम्रोसँग वैज्ञानिक तरिकाले हात धुन सिकाइन्छ साथै घरको लागि खाना नबनाउन सल्लाह दिइन्छ । बिरामीको दिशा पिसाब उपयुक्त ठाउँमा मात्र विसर्जन गर्न सल्लाह दिइन्छ। यी कुराहरूले रोग अरूमा सर्नबाट बचाउँछ । हस्पिटलमा भर्ना भएका बिरामीहरूलाई पनि रोग सार्न सक्ने स्थितिमा छन् भने अरूबाट अलग्गै राखेर उपचार गरिन्छ।

आन्द्रामा प्वाल पर्नु (आन्द्राको केही भाग काटेर फालिदिने) तथा यान्टिबायोटिकले पित्त थैलीको ब्याक्टेरिया मार्न नसक्नु (पित्तथैली निकालेर फालिदिने) अपरेसन गर्नुपर्ने स्थितिको सिर्जना हुनु हो ।

प्रशस्त मात्रामा पानी र झोलीलो खाना खाने, आराम गर्ने जसले रोग चाँडो निको हुन सहयोग गर्दछ।

रोकथामका उपायहरू
० यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ।

० यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन।

० टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिसत रोग लाग्नबाट बचाउन सकिन्छ। यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ।

० टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ।

रोचक तथ्यहरू

१. अमेरिकी महिला कुक म्यारी म्याल्लोन (टाइफ्वोइड म्यारी) लक्षण बिना यो रोग सार्ने (५१ जनालाई जसमध्ये ३ जनाको मृत्यु भयो) पहिलो ब्यक्ति हुनुभयो।

२. सन् १९८९ मा अंग्रेजी भाषाका कवि जेराल्ड म्यान्ली हप्किन्सको टाइफाइडका कारणले मृत्यू भएको थियो।

३. सन् १९८६ को अस्ट्रेलियन क्रिकेट टिमका क्याप्टेन डा. एच् जे एच् टुपु स्कट, इंगल्याण्ड टुरमा जाँदा सन् १९१० मा टाइफाइडबाट मरेका थिए।

४. जापानी मेडिकल वैज्ञानिक हाकारू हासिमोटोको मृत्यु पनि टाइफाइडका कारणले सन् १९३४ मा भएको थियो।

५. गायक लाउर्डेज भान डुनेम् टाइफाइडले सन् २००६ मा मरेका थिए। -एजेन्सीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!