हाते टेक्टरले फेरियो कृषि गर्ने शैली

मा प्रकाशित


बैतडी ।

महिलाहरुले खेतमा हलो जोत्नुहुँदैन भन्ने चलन गाउँघरमा अझै कायम छ तर, जिल्ला कृषि विकास कार्यालयले हाते टेक्टर उपलब्ध गराएपछि महिलाहरु खेत जोत्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालय बैतडीले कृषि खाद्य सुरक्षा आयोजना र कृषि प्रसार कार्यक्रमबाट जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका अगुवा कृषहरुलाई हाते टेक्टर वितरण गरेपछि कृषि गर्ने शैली समेत फेरिएको छ ।

‘खेत जोत्न अब वर्षभरी गोरु पाल्नु पर्ने, हलो जोत्न पूरुष मान्छे खोज्नु पर्ने बाध्यता अन्त्य भएको छ । दुईलिटर तेल किनेर ल्यायो । धमाधम खेत जोत्यो । महिलाहरु पनि खेत जोत्न थालेका छौं,’ हाते टेक्टरले मकै छर्दै गर्नुभएकी पाटन नगरपालका–६ की पार्वती भण्डारीले भन्नुभयो । हाते टेक्टरले खनजोत गर्न निकै सजिलो भएको भण्डारीले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

जिल्ला कृषि विकास कार्यालय बैतडीले यो वर्ष खाद्य सुरक्षा लागु भएका साबिकका १० गाविसहरुमा २१ वटा हाते टेक्टर वितरण गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकारी कर्णबहादुर चन्दले बताउनुभयो । खाद्य सुरक्षा लागु भएका साविकका पाटन, कैलपाल, हाट, ग्वाल्लेक, कोटपेटरा, गोकुलेश्वर, देउलेक, न्वाली र श्रीकेदार गाविसमा यो वर्षमा २१ वटा हातेटेक्टर वितरण गरिएको चन्दले बताउनुभयो । हाते टेक्टर बाहेक अगुवा किसानलाई गहुँ र धान झार्ने थ्रेसर मेशिन र उन्नत जातको बीउबिजन वितरण गरिएको चन्दले बताउनुभयो ।

एउटा हातेटेक्टरको मुल्य ७० देखि ८० हजार पर्ने र कृषिले ८० प्रतिशत अनुदानमा किसानलाई कृषि उपकरणका रुपमा वितरण गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीले जानकारी दिएको छ । एक लिटर तेलले चार घण्टासम्म खेत जोत्न सकिने भएकोले पछिल्लो समय बैतडीमा हातेटेक्टरप्रति किसानहरु आकर्षित भएका छन् ।

बैतडी जिल्लामा तीन वर्षसम्म संचालन भएको खाद्य सुरक्षा आयोजनाबाट मात्रै किसानहरुलाई बीउबिजनसंगै सय भन्दा बढी हातेटेक्टर उपलब्ध गराईएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जानकारी दिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत दशरथ चन्द नगरपालिका–४ जर्ग वस्तीका अगुवा महिला किसानलाई दुई वटा हाते टेक्टर उपलब्ध गराएपछि महिलाहरुलाई व्यावसायिक तरकारी खेती गर्न सजिलो भएको अगुवा किसान पार्वती लोहारले बताउनुभयो । हाते टक्टरले समयको बचत हुँने र खेत राम्ररी जोतिने गरेको लोहारले बताउनुभयो । हाते टेक्टर पाएपछि गोरु पाल्ने झन्जट नभएको जर्ग वस्तीका अगुवा महिला किसानहरुले बताएका छन् ।

भूमिमा महिला कृषि सहकारीमा आबद्ध भएर तरकारी खेतीबाट बचेको पैसा सहकारीमा बचत गरेर आत्मनिर्भर बनेको जर्गका अगुवा महिला किसानहरुले बताएका छन् । जर्गको दलित वस्तीका महिला किसानहरुले व्यावसायिक तरकारी खेतीबाट राम्रो प्रगति गरेकोले सहकारीको सिफारिसमा उहाँहरुलाई जिल्ल कृषि विकास कार्यालयले हाते टेक्टर उपलब्ध गराएपछि कृषि गर्ने शैली फेरिएको भूमिमा महिला कृषि सहकारीका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।

फोटो क्याप्सन: पाटन नगरपालिका–६ की पार्वती भण्डारी हाते टेक्टरले खेत जोतेर मकै छर्दै ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: