प्रदेश ४ को प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

मा प्रकाशित


पोखरा ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ४ को प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । प्रदेशको नामसम्बन्धी प्रतिवेदनमाथि छलफल गराउन माग गर्दै कांग्रेसले एकै दिन दुई पटक संसद अवरुद्ध गरेको हो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक कार्यव्यवस्था समितिमा सहमति नजुटेपछि ४.५५ बजे मात्रै बैठक सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले उठेर बिरोध गरेका थिए ।

लगतै सभामुखले संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्ने समय दिए । सांसद नेपालीले प्रदेशको नामबारे निर्णय गरेरमात्रै बैठक अघि बढाउन आग्रह गरे । नभए सदन चल्न नदिने बताए ।

सभामुख सिर्जना शर्माले संसदको कार्यसूची अगाडि बढाउन लागेपछि कांग्रेसका सांसदहरुले रोस्टममा नाराबाजी गरे ।

आधा घन्टाका लागि स्थगित गरिएको बैठक साढे सात बजे फेरि सुरु भयो । तर, दोस्रो पटक पनि कांग्रेस सांसदहरुले उठेर विरोध जनाए ।

प्रतिपक्षीले उठाएको माग बजेट आइसकेपछि असार १० गते कार्यसूचीमा राख्नै सभामुख शर्माले जानकारी गराइन् ।

उनले फेरि कार्यसूचीअनुसार कारबाही अगाडि बढाउन लाग्दा कांग्रेसका सांसद रोस्टममा नाराबाजी पुगे । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ कर तथा गैर कर उठाउने सम्बन्धी विधेयक प्रस्तुत गर्न जान खोज्दा धकेलाधकेल समेत भयो । उनीहरुले मन्त्रीलाई रोकिछाडे ।

सत्तापक्षका सांसदले भने नियमापत्ति गरे । नाराबाजी र धकेलाधकेल बढेपछि सभामुखले फेरि आधा घन्टाका लागि संसद स्थगित गरेकी छन् ।

असार १ गते बजे ल्याउनै पर्ने भएकाले बजेटपछि मात्र प्रदेशको नामबारे छलफल गर्ने सत्ता पक्षको प्रस्ताव छ तर, कांग्रेसले पहिले दर्ता भएका विधेयकको पहिले छलफल गर्नुपर्ने अडान लिएको छ ।

०७४ चैत १२ गते गठित नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेश सभामा प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!