धुर्मुसले भावुक हुँदै भने, ‘हिनामिना भएको प्रमाणित भए म यो धरतीमा रहन्नँ’

मा प्रकाशित


 

काठमाडौं । नेपालकै जेठाे अस्पताल वीर अस्पतालमा रङ-राेगनसहित सरसफाइ गरेर पुनः चर्चामा अाएका हास्य कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले अाफूमाथि अवाञ्छित अाराेप लागेकाे बताएका छन् ।

वीर अस्पताल सफाइ र रङ राेगनमा अाफूहरूले करिब ४८ लाख रकम खर्च गरिसकेकाे बताउँदै धुर्मुसले भने, ‘हामीलार्इ अस्पताल र सरकारबाट रकम निकासा भएकाे छैन ।’ उधारोमै रङ र पेन्टहरू किनेर अस्पतालका भित्ता रंग्याएकाे बताउँदै उनले अाफ्नाे कामबाट प्रभावित भएर स्वतस्फूर्त रूपमा सहयाेग रकम उठेकाे जानकारी दिए ।

बिहीबार वीर अस्पतालमै अायाेजित पत्रकार सम्मेलनमा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका धुर्मुसले वीर अस्पतालको सरसफाइको अवस्था नाजुक देखेपछि अाफूले थप राम्राे बनाउने उद्देश्यले रङराेगन लगायत कार्य गरेकाे र साेका लागि रकम अपुग भएकाे बताए । दाताहरूबाट सहयाेगस्वरूप उठेकाे रकम उनले सामाजिक सञ्जालबाट सार्वजनिक पनि गर्दै अाएका छन् ।

सफाइका लागि उठेकाे रकमबारे केही मिडियामा तथ्यहीन अाराेप लागेकाे भन्दै धुर्मुसले अाफू हरेक कार्यमा पारदर्शी रहेकाे बताए । ‘हामी सबै काम पारदर्शी रूपमा गरिरहेका छाैँ,’ उनले भने, ‘यदि कहीँ कतै हामीबाट एक रुपैयाँ पनि हिनामिना भएको प्रमाणित भएमा म याे धरतीमै रहन्नँ ।’

गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सामुदायिक/सरकारी स्वस्थ्य संस्था सरसफार्इकाे अभियान वीर अस्पतालबाटै सुर गराएकी थिइन् । उनले नै धुर्मुस-सुन्तली फाउन्डेसनलार्इ अभियानमा साथ दिन आग्रह गरेपछि धुर्मुस सुन्तली वीर अस्पतालकाे सफाइमा लागेकाे बताइन्छ ।

धुर्मुस अाफैँले स्वास्थ्य मन्त्रालय, वीर अस्पताल र फाउन्डेसनको सहमतिमा काम सुरू गरेकाे दाबी गरेका छन् । सरकारका सरसफाइ दूत समेत रहेका धुर्मुस-सुन्तलीले आफै खटेर वीर अस्पतालकाे मुहार फेरेका थिए । तर पछिल्लाे समय उनी अफ्ठेराेमा परेकाे बताइरहेका छन् ।

बिहीबारकाे पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइकाे सबै रकम सरकारले बेहाेर्ने र चन्दा वा  सहयाेग संकलन गर्न नपाइने बताइन् । तर धुर्मुस फाउन्डेसनबाट भएकाे कार्यका लागि के कति रकम खर्च भयाे र त्याे सरकारले बेहाेर्ने या नबेहाेर्ने भन्ने बारेमा उनले केही खुलाइनन् ।

अहिले वीर अस्पताल सफाइकाे कामलार्इ लिएर अस्पताल प्रशासन, स्वास्थ्य राज्यमन्त्री र फाउन्डेसनबीच विवाद उत्पन्न भएकाे बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: