तीन वर्षभित्र सबैलाई स्वच्छ खानेपानी : मन्त्री बीना

मा प्रकाशित


काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले खानेपानीको दिगो स्रोत व्यवस्थापनमा ध्यान दिएको, शहरी तथा राजमार्ग क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्नेतर्फ ध्यान दिइएको उल्लेख गर्नुभयो ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालयमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताउनुभयो ।

मन्त्रालयलाई आगामी वर्ष करीब रु ३४ अर्ब बजेट उपलब्ध भएको जानकारी दिँदै उहाँले तराई मधेश तथा पहाडी क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन नीति, योजना तथा कार्यक्रम लागू गरिने र आगामी तीन वर्षभित्र सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्माणमा रहेका सबै आयोजनालाई समयमै कार्यान्वयन गर्न स्थानीय, प्रदेश सरकार र संघीय सरकारले एकीकृतरुपमा प्रयास गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले तराई मधेशका जनतालाई आर्सेनिकमुक्त खानेपानी उपलब्ध गराउन सरकारले योजनाबद्धरुपमा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो ।

आगामी वर्ष योजना बनाएर खानेपानी परियोजना अगाडि बढाइएका कारण सबै जिल्ला र स्थानीय तहमा स्वच्छ खानेपानी उपलब्ध गराइने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!