जनता आवासवाट अनुदान रोकिदा घर अधुरै

मा प्रकाशित


मोहन चन्द,
बैतडी ।

विपन्न समुदायका नागरिकहरुलाई लक्षित गरी नेपाल सरकारले ल्याएको जनता आवस कार्यक्रम संचालन हुदा विपन्न नागरिकहरुमा एक किसमको खुसियालि देखिन्थ्यो । तर त्यो खुसियाली आजभोलि निरासामा वदलिन थालेको छ । कार्यक्रमले समेटेका सुदूरपश्चिमका बैतडी, दार्चुला र बझाङका कतिपय विपन्न नागरिकको घर निर्माण विगत डेढ वर्षदेखि अधुरै छ भने कतिपयले जेनतेन घर त निर्माण गरे तर सरकारबाट पाउने भनेको रकम नपाउदा उनिहरु पनि साहुको ऋण बोक्न बाध्य छन् ।

गत आर्थिक बर्ष जनता अवास कार्यक्रम अन्तरर्गत बैतडीका ५ सय परिवार तथा दार्चुला र बझाङका एक–एक सय परिवारको घर निर्माण सुरु गरिएको थियो । तर चार किस्ता मध्ये अहिलेसम्म कतिपय लाभग्राहीले दोस्रो किस्ता समेत पाएका छैनन् ।

दोस्रो किस्ता समेत नपाउदा विपन्न नागरिकहरुले ऋण निकालेर घर निर्माण गरिरहेका छन् । मापदण्ड भन्दा बढी प्रगति भैईसक्दा समेत दोस्रो किस्ताको रकम नपाएको दशरथचन्द नगरपालिका ४ शाहिलेकका तामुराम भुलले गुनासो गरे । ‘घरको आधा काम भैईसक्यो तर पैसा जग र डीबीसी हाल्न मात्रै पाएँ,’ उनले भने । गतबष बैतडीको साविकका तल्लादेही, डिलासैनी, महादेवस्थान, महारुद्र, आम्चोरा, शर्माली, न्वाली, विशालपुर, सित्तड, मेलौली, श्रीकोट र रुद्रेश्वरमा जनता आवास कार्यक्रम सञ्चालित छ ।

पहिलो किस्ता ५८ हजार, दोस्रो र तेस्रो किस्ता ७०–७० हजार र चौथो किस्ता ३५ हजार रुपैया दिने प्रवधान रहेको छ । तीनओटै जिल्लामा जनता आवास कार्यक्रमको जीम्मेवारी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीले लिएको डिभिजन प्रमुख प्रविन शाहले बताए । ‘अहिले तीनै जिल्लामा सञ्चिालित कार्यक्रमका लागि शहरी विकास तथा भवन निर्माण विभागबाटै समयमै बजेट निकासा नहुदा समस्या भएको छ,’ शाहले भने । रकमको लागि विभागमा पत्र पठाई सकेकाले यसै आर्थिक वर्षमा अधिकासं लावग्रोहीको अन्तीम किस्ता समेत वितरण हुने शाहको भनाई छ । कार्यक्रमको भौतिक प्रगति ८० प्रतिशत भन्दा बढी सम्पन्न भैईसकोको तर रकम निकासा नहुदा लाभग्राही मारमा परेको डिभिजन कार्यालयले जनाएको छ ।

‘रकम निकासा नहुदा लाभग्राहीको काम अलपत्र छ,’ उनले भने, ‘तर कतिपयले ऋण काडेर घर बनाईरहेका छन् ।’ बैतडीमा जनता आवास कार्यक्रम फेरी दोस्रो पटक पनि सञ्चालन भएको छ । गत आर्थिक बर्षमा ५ सय परिवारका लागि सञ्चालित कार्यक्रम आब ०७४÷०७५ मा फेरी थप ५ सय परिवारका लागि आएको थियो ।

फेरी थपिएका ७ सय घरको काम अलपत्र यो बर्ष पनि बैतडीका ५ सय र दार्चुला तथा बझाङका एक एक सय परिवारका लागि जनता अवास कार्यक्रमले घर बनाई दिने सरकाले निर्णय गरेको थियो । गतबर्ष आवासका लागि छनौट भएका नागरिकहरुले घर निर्माण सम्पन्न गर्न नपाउदै थप ७ सय गरिब तथा असहाय दलित समुदायका परिवारले पनि आवासका लागि आर्थिक तथा प्राविधिक सहयोग पाउने आसा गरेका थिए । तर कार्यक्रम थपिएको मैनौ भईसक्यो अझै उक्त कार्यक्रमको कुनै भौतिक प्रगती भने हुन सकेको छैन् ।

दोश्रो पटक बैतडीमा साविकका गाविसहरु गुरुखोला, मठैराज, पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर र गिरेगडामा कार्यक्रम सञ्चालन भएको छ । यी क्षेत्रबाट निवेदन संकलन गर्ने बाहेक अन्य कुनै कामपनि अघि बढ्न सकेको छैन् । विभिन्न स्थानिय तह मार्फत निवेदन संकलन गरिएको थियो । गत वर्षको कार्यक्रमनै अलपत्र भएकाले पछिल्लो समयको काम समेत अघि नबढ्दा विपन्न नागरिकहरु समस्यामा परेका छन् ।

फोटो क्याप्सन : जनता आवास कार्यक्रम अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका– ४ मा बन्न लागेको विपन्न नागरिकको घर । फोटो : मोहन चन्द

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: