गोकुलेश्वरमा पढ्न आएका बिद्यार्थी आपसमै लड्न थाले

मा प्रकाशित


बैतडी ।

अभिभावकले दुःख गरेर प्राविधिक शिक्षा पढाउने सपना साँचेर पढ्न पठाएका बिद्यार्थीहरु राजनीतिका नाममा आपसमै लड्न थालेपछि बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसको पठनपाठन प्रभावित बनेको छ ।

शुक्रवार राती १० बजे क्याम्पसको गेट अगाडि कुटाकुट हुँदा दुई जना बिद्यार्थी घाईते भएका छन् । नयाँ बिद्यार्थी भर्नाको विषयमा उनीहरुवीच दिउँसो बिवाद चलेको प्रहरीले बताएको छ । यो खबर गोकर्ण दयालले आजको गोरखापत्रमा लेखेका छन् ।

डिलासैनी गाउँपालिका ६ स्थित गोकुलेश्वर कृषि क्याम्पसमा अध्ययनरत नेबि संघ समर्थक कञ्चनपुर गुलरियाका पुरुषोत्तम जोशी र अनेरास्ववियु समर्थक बझाङका कुबेर रोकायावीच झैझगडा भएको प्रहरीले जानकारी दिएको छ ।

झगडामा कुबेर रोकाया र नुवाकोट घर भएका दिनेश जमरकट्टेल सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नेत्रमणी गिरीले बताउनुभयो । थप विवाद नहोस् भनेर पुरुषोत्तम जोशीलाई नियन्त्रणमा लिएर चौकीमा राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । समाचार तयार पारुन्जेलसम्म जोशी प्रहरी नियन्त्रणमै छन् ।

कुटपिटपछि अनेरास्ववियु समर्थित बिद्यार्थीहरुले क्याम्पससित कुनै सम्बन्ध नभएका बिद्यार्थी आएर कुटपिट गरेको आरोप लगाउँदै क्याम्पसमा तालाबन्दी गरेको छ । नेबि संघ समर्थित बिद्यार्थीहरुले अनेरास्ववियु समर्थित बिद्यार्थीहरुले विवाद गरेको आरोप लगाएको छ ।

नयाँ बिद्यार्थी भर्ना चलिरहेका बेलामा बिद्यार्थी संगठनहरुले आफुतिर आकर्षित गर्ने विषयमा बिद्यार्थीवीच झगडा भएको क्याम्पस प्रमुख परमानन्द जोशीले जानकारी दिनुभयो । कुटपिटमा केही बाहिरका बिद्यार्थी पनि संलग्न भएको जोशीले बताउनुभयो ।

पढ्न आएका बिद्यार्थीहरुले ज्ञान आर्जन गर्नु पर्ने भन्दै क्याम्पस प्रमुख जोशीले राजनीतिका नाममा बिद्यार्थीहरु आपसमा लड्दा क्पाम्पसको पढाई प्रभावित भएकोले क्याम्पसलाई राजनीति मुक्त बनाउन अभिभावक र दलका नेताहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई अनुरोध गरिएको क्याम्पस प्रमुख जोशीले बताउनुभयो ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसमा आईएसी एजी र विएससी एजीको पढ्न काठमाण्डौं, झापा, नवलपरासीदेखि देशका विभिन्न ठाउँबाट बिद्यार्थीहरु पढाईका लागि बैतडीको गोकुलेश्वर आउने गरेका क्याम्पसले जानकारी दिएको छ । २०६७ सालदेखि विससीएजीको पठनपाठन सुरु भएको र अहिले विससीएजीमा मात्रै दुईसय जना बिद्यार्थी अध्ययनरत रहेको क्यम्पस प्रमुख परमानन्द जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: