आजदेखि विश्वकप फुटबल सुरु हुँदै

मा प्रकाशित


काठमाडौं ।
आज रातिदेखि ‘फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८’ सुरु हुँदैछ। रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ। उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुँदैछन् ।

फुटबलको महासंग्राम अर्थात् विश्वकप फुटबलको आज मस्कोस्थित लुजनिकी रंगशालामा उद्घाटन हुँदैछ । २१ औ संस्करणको विश्वकपमा युरोपबाट १४,एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट ५–५ र उत्तर अमेरिकाबाट ३ टोली सहभागी छन् ।

६ क्षेत्रबाट भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ। ३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए। जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसला भएको थियो।

अब यी ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ। ८ समूहका रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट छानिएका २–२ टिम अन्तिम १६ मा पुग्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ।

बिहीबार साँझ हुने उद्घाटन समरोहमा ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनेछन्। उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिना र ब्राजिलका पूर्व फुटबलर रोनाल्डोले साथ दिनेछन्। उद्घाटन समारोह आधा घन्टा चल्नेछ। राति सवा ८ बजे सुरु हुने समारोह आधा घण्टा चल्नेछ। लगत्तै रसिया र साउदी अरेबियाबीचको खेल सुरु हुनेछ। उद्घाटन समारोहमा रंगशालामा ८० हजार दर्शक उपस्थित हुनेछन्।

रसिया विश्वकपका लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी सहभागी हुँदैछन्। यी मध्ये २ सय खेलाडी दोस्रो पटक खेल्दैछन्। जसमा सन् २०१४ को विश्वकप खेलेका १ सय ८६ र सन् २०१० को विश्वकप खेलेका ६१ खेलाडी छन्। २१ खेलाडी सन् २००६ को विश्वकप खेलेका छन्। एक खेलाडी भने २००२ मा जापान र कोरियामा भएको विश्वकप खेलेका खेलाडी पनि छन्। उनी हुन् मेक्सिकोको डिफेन्डर राफा मार्क्युज। उनी मैदान उत्रिएमा पाँच वटा विश्वकप खेल्ने चौथो खेलाडी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: