हावाहुरीले बैतडीका एक दर्जन विद्यालयमा क्षती

मा प्रकाशित


बैतडी ।

बर्षासंगै चलेको हावाहुरीले बैतडीका एक दर्जन विद्यालयमा क्षती पुर्याएको छ । गएराती पानीसंगै आएको हावाहुरीले विभिन्न स्थानमा विद्यालयका छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका,शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिका विभिन्न विद्यालयमा क्षती पुर्याएको शिक्षा विकास तथा समन्वय एकाई बैतडीले जनाएको छ ।

शिवनाथ गाउँपालिकाका शिवपूर्ण आधारभूत विद्यालयको ६ कोठे भवनको छानो उडाएको छ भने पञ्चेश्वर ३ मा रहेको हटैराज आधारभूत विद्यालयको ३ कोठे भवनको छानो उडाएको हाम्रा सम्वाददाता गम्भीर दयालले बताउनुभयो । यस्तै पञ्चेश्वर ३ मै रहेको कमलेश्वर मावि मडको ३ कोठे भवन, शिवनाथ गाउँपालिकामा रहेको उदयदेव मावि कफाडीको पनि ३ कोठे भवनको छानो उडाएको छ । हावाहुरीले दोगडाकेदारमा रहेको केदारनाथ मावि पिपलकोटको दुईकोठे भवनको छाना उडाएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख शंकर दत्त जोशीले जानकारी दिनुभयो ।

पुर्चौडीमा रहेको बिउरेश्वरमावि रपनाको दुईकोठे भवनको छाना उडाउनुका साथै सोलारपातामा समेत क्षती पुगेको उहाँले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकामा रहेको जवलपुर मावि सैलोडाको एक कोठे भवनको छाना तथा २ कोठे शौचालयको छाना उडाएको छ ,कैलपाल निमावि चौडालीको २ कोठे भवनको छाना उडाएको छ भने टापतिलकपुर मावि बन्नाको १ कोठे भवनको छाना उडाएको बताईएको छ । यस्तै सुर्नया गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय मावि ग्वानीको एक विद्यालय भवनको छाना र २ कोठे शौचालयको छाना उडाएको छ ।

हावाहुरीले विद्यालयका छाना उडाएपछी पठनपाठन कार्य समेत प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख जोशीले जानकारी दिनुभयो । जस्तापाताले छाएका विद्यालय भवनका छाना हावाहुरीले उडाएको हो । हावाहुरीले जिल्ला अन्य विद्यालयमा पनि क्षती पुर्याएको बिबरण संकलन कार्य जारी रहेको छ ।

यस्तै पाटन नगरपालिका वडा नम्वर ४ का केही स्थानिय बासिन्दाका स्लेटले छाएका घरमा समेत हावाहुरीले क्षती पुर्याएको छ । स्थानिय दान सिंह विष्ट, रामसिंह विष्ट,कालु सिंह विष्ट, बहादुर विष्ट र राम सिंह विष्टको घरमा हावाहुरीले क्षती पुर्याएको हाम्रा सम्वाददाता राजेन्द्र विष्टले जानकारी दिनुभयो । यसअघि मंगलवार राती परेको असिनापानीले बैतडीका किसानले लगाएको अन्नबाली,तरकारी र फलफुलमा ठुलो क्षती पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!