सडकसँग जोडिएका विद्यालय नजिक जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम

मा प्रकाशित


नबिन अवस्थी
बैतडी ।

बैतडीमा सडकसँग जोडिएका विद्यालयहरुमा जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । जिल्लामा राष्ट्रिय राजमार्गसँग जोडिएका एकदर्जन बढी विद्यालयहरु रहेका छन ।

ती विद्यालयहरु नजिक ब्रेकर र जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्दै गएको दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताउनुभयो । पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको हो ।

सडकमा तीव्र गतिमा सवारी साधनहरु हाँक्ने तर ब्रेकर र जेब्रा क्रसिङको अभावमा गति नियन्त्रण नहुँदा दुर्घटना बढ्दै गएका छन । सडक नजिकका विद्यालयहरुमा बालबालिकाहरु सडक दुर्घटनाको जोखिममा रहेका भए पनि यसको नियन्त्रणका लागि केही पहल हुन सकेको छैन् ।

विद्यालयका छेउका सडकमा ब्रेकर बनाउन सके सडक दुर्घटना कम गर्न सकिने निंगलाशैनी माविका शिक्षक तीलक बोहराले बताउनुभयो । सडक छेउका विद्यालयमा जेब्रा क्रसिङ र ब्रेकर नहुँदा बालबालिकाहरुलाई विद्यालय पठाउन निकै समस्या भएको अभिभावकहरुले बताएका छन ।

यसैबीच दशरथचन्द नगरपालिका वडा नम्बर ४ का बालबालिकाहरुले विद्यालय छेउमा रहेका सडकमा बे्रकर र जेब्रा क्रसिङ बनाउन माग गरेका छन् । उनीहरुले बालभेला मार्फत जेब्रा क्रसिङ र ब्रेकर निर्माणका लागि नगरपालिकालाई आग्रह गरेका हुन् ।

जेब्रा क्रसिङ र ब्रेकर नभएकै कारण बालबालिकाहरु सडक दुर्घटनामा परिरहेकाले आफूहरुले ब्रेकर र जेब्रा क्रसिङको माग गरेको नगर बालसञ्जालका अध्यक्ष निशा भट्टले बताउनुभयो । बालबालिकाहरुले गरेको निर्णयलाई नगरपालिकाले कार्यान्वयनका लागि पहल गर्ने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो ।

बालबालिकाका जोखिम पहिचान गर्ने बेला सडक छेउमा रहेका विद्यालयका बालबालिकाहरुले सडक दुर्घटनालाई जोखिमको रुपमा पहिचान गरेकाले सडकमा जेब्रा क्रसिङ र ब्रेकर निर्माणका लागि नगरपालिकालाई सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!