पाटन स्वराढगढ: ऐतिहासिक झल्को

मा प्रकाशित


एकीकृत नेपालको संक्षिप्त इतिहास:

विश्वका २१ वटा पूराना अस्तित्व भएका मूलुकहरु मध्येमा नेपाल पनि पर्दछ र अथर्ववेदमा समेत नेपालबारे लेखिएको पाइन्छ। नेपालका शासक तथा शासनहरुको समय विश्लेषण गर्दा किराँतकाल अघिका ऐतिहासिक प्रमाण तथ्यपरक रुपमा फेला नपरे पनि इतिहासकारहरुका अनुसार गोपालवंशी, महिषपाल, किरातवंशीका (३२ पुस्ता) हुदै लिच्छवीवंशले नेपालमा शासन गरेको मानिन्छ।

“लिच्छवीहरु भारतको वैंशालीबाट नेपाल प्रवेशगरी सन ११० देखी ८०० सम्म शासन गरेका, जयदेव प्रथमलाई पहिलो लिच्छवीवंशी राजा, मानदेव, अशुवर्मा, नरेन्द्रदेव त्योबेलाका प्रतापी राजा हुदाँ लिच्छवीकाललाई स्वर्णयुग पनि भनिएको छ।” तत्कालिन लिच्छवीकालको शासनव्यवस्था केन्द्र र सामन्त शासित गरी दुई प्रदेशमा विभाजित हुदाँ केन्द्र शासित प्रदेशहरुमा पनि अनेकौ विषयहरुमा विभक्त भएका कारणले विषयहरुको प्रशासनमा विषयपतिहरुको अधिपतित्व रहने भनाई इतिहासकारहरुको छ।

लिच्छवीकालमा “द्धय राज्यपद्धती” का कारण केन्द्रमा राजनैतिक सैन्यशक्ति कमजोर भईरहेको मौकाछोपी १२ औ शताब्दीको शुरुतिर कर्णालीप्रदेशका विषयपति नागराजले खसराज्य र पूर्वी तराई भेगका विषयपति “नान्यदेवले” चौदण्डी विजयपुर नामक स्वतन्त्र राज्य खडागरी विकसित हुदै गएका’ केन्द्रमा ‘मल्ल” र ‘देव” उपाधी धारण गर्ने दुई राजवंश अस्तित्वमा आए।

‘मल्ल भनि लेख्ने राजा ‘अरिमल्ल पहिला मानिन्छन त्यसपछि मल्लवंश शुरु भएको । यी वंशहरुमा पालैपालो राजगद्दीमा वस्ने नियम भएपनि गृहकलह शुरुभई खस र द्धयहरु राज्यले केन्द्रमा हस्तक्षेप गर्ने मौका पाए’ भन्ने भनाई इतिहासकारहरुको छ।

राजेन्द्र सिंह भण्डारी

वि.स.१३०१ को सेरोफेरोमा दिल्लीका वादशाँह गयासुद्धिन तुगलगले डोय-राज्यहरुमा आक्रमण गरेका कारणले शक्तिशाली वन्दै गएको खसराज्य पनि अभय मल्लको शासन पछि विभाजित भई २२ से राज्यहरुको उदय भएका र गण्डकी क्षेत्रमा सेन शाह आदीवंशका राजाहरु खडाभई २४ से राज्यहरु उत्पन्न भए। जयस्थिति मल्लको पालामा शासन मजवुत भई चीनसँग सम्बन्ध सुधार भएपनि उनका छोरा “यक्ष मल्ल” को शासनकालमा राज्यको प्रभाव पाल्पासम्म फैलिई यक्षमल्लका छोराहरुको पालामा आपसीकलहका कारण नेपाल उपत्यका तिन स्वतन्त्र राज्यखडा हुनपुगे।

त्यसपछी कान्तिपुरमा नरेन्द्रमल्ल, महेन्द्रमल्ल, प्रतापमल्ल उल्लेख्य छन भने भक्तपुरमा प्राणमल्ल, भूपतिन्द्रमल्ल ललितपूरमा सिद्धि नरसिहं मल्ल श्री निवास मल्ल उल्लेख्य छन।

‘पश्चिमतिर पाल्पा कास्की तनँहु प्यूठान शक्तिशाली थिए भने पूर्वमा विजयपूरचौदण्डी शक्तिशाली थिए। यसरी मल्लकालमा खडा भएका वाइसे चौविसे र उपत्यकाका राजाहरुवीचको कलह दाउपेज विद्रोह खिचातानले गर्दा राजनैतिक स्थिरता कायम हुन सकेन र राष्ट्रियता विखण्डन हुनपुग्यो। मल्लकालको अन्तिमसम्म पुग्दा नेपाल करिव ५० राज्यमा विभक्त हुनपुगेको’ भनाई समेत इतिहासकारहरुको छ।

मल्लकालमा नेपाल अनेकौ राज्यहरुमा विभक्त भएको, ‘पल्लो नुवाकोटमा आफनो स्वतन्त्र राज्य कायम गर्ने अभयसिंह (मिचाखान; मूगल खान नभई स्थानीय उपाधी हुनसक्ने) वंशको सातौ राजा कुलमण्डनले दिल्लीका सम्राटलाई उपहार दिई प्रभावित गरेवापत ‘शाह उपाधी’ पाएपछि यो वंश शाहठकुरी कहलिन थाल्यो ‘पल्लो नुवाकोटको छिमेकी राज्य लमजुङका जनताले कुलमण्डन शाहसँग राजा बनाउन राजकुमार मागगर्दा जेठापुत्र वाहेक अरुलाई छान्न अनुमति दिदाँ लमजुङेहरुले घले रजौटाहरुबाट मुक्ति पाउन कान्छा राजकुमार यशोव्रह्रम शाहलाई रोजी वि.स.१५९५ मा राजा बनाई यिनैका जेठा छोरा नरहरीशाह लमजुङका राजा र कान्छा छोरा द्रव्यशाहले लिगलिगकोट माथी विजय प्राप्त गरी गोर्खा राज्यलाई ‘खडका’ राजाहरुबाट मुक्त गराई वि.स.१६१६ मा गोरखामा शाहवंश राज्यको स्थापना गरेको इतिहास पाइन्छ। गोरखा राज्यस्थापना गरेको मन नपरेका लमजुङे राजा नरहरि शाह र द्रव्यशाह वीच आमाले दुधकोधारा बगाई सीमा छुट्टयाई दिएको प्रशङग समेत नेपालको इतिहासमा छ।

नेपाल एकिकरण अभियानमा गोरखा देखि पश्चिम कर्णालीमा बाइसे र गण्डकी प्रदेशमा चौबिसे, काठमाण्डौ उपत्यकामा , पूर्वतिर बिजयपुर, चौदण्डी आदी राज्य थिए। वि.स. १७७९ पौष २७ मा जन्मेका पृथ्वीनारायण शाह वि.स. १७९९ मा गोर्खाका राजा भई वि.स. १८०१ असोज १५ मा नुवाकोट, वि.स.१८२२ मा तेस्रोपल्ट किर्तिपुर, १८२५ असोज १३ मा कान्तिपुर, १८२६ मा भक्तपुर, १८३० मा पूर्वका विजयपुर, चौदण्डी अधिनमा ल्याई वि.स.१८३१ मा देवीधाटमा मृत्युवरण हुनपुग्यो।

पृथ्वीनारायण शाहको मृत्यु पश्चात जेठापुत्र प्रतापसिहं शाहको पालामा वि.स. १८३४ श्रावणमा दाँङ र चितवन माथि विजय प्राप्त भयो। प्रतापसिहं शाहका पुत्र रणबहादुर शाहका (‘निर्वाणानन्द स्वामी’, नुवाकोट राजधानी सारेका, वासठ्ठीहरण गरेका आफनै भाई शेरबहादुर शाहबाट मारिएका) पालामा भीमसेन थापाको उदय भएको।

प्रतापसिहं शाहकी महारानी राजेन्द्रलक्ष्मी र भाइ बहादुर शाहको पालामा पर्वत, तनहु, दार्जलिङ, चरिकोट अधिनमा ल्याई बहादुर शाहले दाजु प्रतापसिहं शाहका विरुद्ध षडयन्त्र गरेको आरोपमा निर्वासन जीवन पनि जीउनु परेको, केही समय भाउजु राजेन्द्र लक्ष्मीसँग मिलेर शासन गरेका र पछी १८३५ मा भाउजुलाई कैदगरी नायवी शासन चलाई पुनः निर्वासित भई बेतिया गइ बसेका, १८४३ मा भाउजुको निधन भए पश्चात रणबहादुरको नायवी भई शासन चलाई नेपालको सीमाना वि.स.१८५४ मा अल्मोडा कुमाउँ गढवाँलसम्म पुरयाई अन्तमा राज्यकोषको रकम दुरुपयोग गरेको आरोपमा कैदी बनाइ १८५४ उहाँको मृत्यु हुन्छ।

रणबहादुर शाह र तराईमूलकी विधवा कान्तिमतीका पुत्र गीर्वाण युद्धविक्रम शाह कमजोर राजा थिए उनकै पालामा १८७१ मा अग्रेजसँग युद्धभयो यही समयमा भीमसेन थापा शक्तिशाली हुनपुगे। कलंगाको नालापानीमा वलभद्र कुवंर, देउथलमा ७० वर्षिय भक्ति थापा, मलाउँको युद्धमा अमरसिहं थापा (अग्रेजहरुले प्रलोभनमा पार्ने प्रयास गर्दा “म वाघको डमरु हु सिनोखाने कुकुर होईन” भन्ने जवाफ दिने वीर सपुत) थिए।

वि.स.१८७३ (३ मार्च १८१६) मा सुगौली सन्धी भई यहीबेला देखि नेपालको सिमाना साँघुरिएर पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म कायम भयो। वि.स.१९०३ आश्विन २ गते शनिवार कोतपर्व, १९११ मा तिब्बतसँग युद्ध, १९१३ मा जङग बहादुर कुवँरलाई कास्की र लमजुङका श्री ३ र वि.स १९१२ मा थापाथली सन्धी समेत भए। १९१४ (१८५७) मा भारतमा सिपाही विद्रोह दवाउन सहयोग गरे वापत नयाँ मुलुक वाँके, वर्दिया, कैलाली र कञनपुर फिर्ता गरिएको थियो।

खसआर्य र मध्यकालमा मध्य तथा सूदूर-पश्चिम:

मानवको प्रकृति नै घुमन्ते हुदाँ अहिले आप्रावशन मानव स्वभावको लक्ष्य बनेको छ। नेपालका विभिन्न विद्धानहरुले जातीगत उत्पत्तिका आधारहरु दिदै खसआर्यका साथै अन्य समुदायका बारेमा विभिन्न धारणा राखेका छन। नेपालमा बस्ने समुदायहरुलाई १-अनादिवासी (ऋषिमुनीका सन्तान ब्राह्मण क्षेत्रिय) २-आदिवासी (मगर, गुरुङ, तामाङ, सेर्पा थकाली, राइ, लिम्बु समेत) ३-आप्रावासी (मूसलमान, बगाली, माडवारी, मधेसी) का रुपमा पनि विभाजन गरेका छन। धेरै विद्धानहरुले नेपालका खसआर्यहरु मध्य एशियाको ककेशिया पर्वतश्रृखला (मेसापोटामेनिया, क्याप्सियन सागर नजिकको) सेरोफेरोबाट गाईवाख्रा चराउदै राम्रा फाँट र उर्वरक भूमिहरुमा बस्ती वसाँउदै हडप्पा र मोहनजो दारोमा समेत सभ्यता बसाउदै सिन्धु नदीपार गर्दै सिन्ध सिन्धुबाट धार्मिक न्वारनले ‘स’ को उच्चारण ‘ह’ बाट हिन्दु कहलिइ अफगानिस्तान, जम्मू-कश्मीर, पंजाव हुदै गंगानदीका फाँटहरमा विविध कारणहरुले (आपसमा मनमुटाव, विभेद, अपमान सहदै) उत्तराखण्ड पर्वतखण्ड मानसरोवरको दक्षिँणी भेग तख्लाकोट हुदै भित्रिएका ककेशियनहरु कस बाट खस र धार्मिक आवरणमा वा संस्कारबाट द्धिज भई आर्य भएका भन्ने छ। भारतको तराई क्षेत्रमा बस्ने खेती गर्ने हुन वा गाईभैंसी पाल्नेजाती हुन वा सिन्जाका खसजाती वा कुमाउँ गढवालका कत्युँरीवंशका राजाहरु वा ठकुराई राजा वा डोटीराज्यका पाल, देव, मल्ल, शाही वा सो समुदाय सँग जोडिएका र दलित समुदायका सवै एकैमूलका खस र वर्णाश्रम धर्मको दर्शनबाट द्धिज भएकाहरु आर्यको रुपमा रुपान्तरण भएकामा हुन भन्ने भनाई छ।

नेपालको पश्चिम क्षेत्रबाट नै नेपाली भाषाको विस्तार र विकास हुनु, काठमाण्डौको नाम काष्ठमण्डप, माण्डौ समेत सोही भाषाबाट लेखिनु, वाइसे र चौविसे राज्यहरुको विखण्डन वा एकिकरण भएको इतिहास होस वा धर्म संस्कृतिको समानताले नेपालका प्राचीन जाती मूलबाट खस र परिष्कृत संस्कारित भएकालाई आर्य वा वैदिक भएका इतिहासकारहरु लेख्छन। मष्टो पूजने खसहरु खसान क्षेत्रका आदिवासी हुन भने त्योबेलाका खसना भन्नाले मध्य-सूदूरपश्चिम र कुमाउ गढवाल समेतलाई वुझिन्थ्यो।

इटलीका विद्धान गुसेप तुच्चीले ‘Discovery of the Malla’ मा सिंजाखोलाको महत्वमा “ One’s the empire of the Sinjakhola empire was greater than my country Italy’ लेख्दै सिन्जापारीको खारी प्रदेश, गुगे प्रदेश, मानसरोवरसम्म खसराज्य थियो भनेका छन। पश्चिमी तिब्बतमा उतिवबेला शासन गर्ने राजाहरुलाई तिब्बती इतिहासले समेत पहिचान गर्न सकेका छैन ती त वास्तवमा पश्चिमी नेपालका मल्ल राजाहरु थिए। मष्टो देवतालाई केन्द्रित गरेर मष्टो सम्प्रदायले माण्डु भने मुख्य स्थान नै कायम गर्छन त्यहाँ मूर्ति हुदैन।”

मध्यकालमा कर्णालीको सिंजाप्रदेश, कुमाउँ गढवाल क्षेत्र, डोटीराज्यहरु खस साम्राज्यका नामले चिनिन्थ्ये। प्रा. सूर्यमणी अधिकारीका अनुसार “विक्रमको १२ औं शताब्दीको मध्यदेखि १५ औं शताब्दीको उतर्राद्धसम्म सिंजा पश्चिम नेपालको सुप्रसिद्ध खस अधिराज्यको राजधानी थियो। आफना उत्कर्षका दिनहरुमा यस अधिराज्यमा सम्पूर्ण पश्चिमी नेपाल, कुमाउँ,गढवाल र दक्षिण-पश्चिम तिब्बत समेत समावेश थिए।

यहाँका राजाहरुले अनेक पटक नेपाल उपत्यकामा पनि आक्रमण गरी कर उठाई स्वदेश फर्केका थिए। यस्तो शक्तिशाली राज्यको राजधानी हुने सौभाग्य पाएकोले सिजां एक सम्पन्न नगरको रुपमा विकसित भएको थियो। खस अधिराज्यको स्थापनापछि कर्णाली प्रदेशबाट बाहुन क्षेत्रीहरु आएर अपेक्षाकृत उर्वरनदी फाँट उपत्यकाहरु भएको गण्डकी प्रदेशमा वसाई सर्ने क्रममा अझ तिव्रता हुदै गर्दा गण्डकी प्रदेशको प्रशासन चलाउन सिजांबाट खटिएर आएका सरकारी कर्मचारीहरु यतैतिर स्थायी वसोबास गर्न थाले।

यसै क्रममा भण्डारी, अधिकारी, कार्की, थापा, खडका, बिष्ट, वोहरा आदी पूर्वतिर फैलिदै गए। खस अधिराज्यको विघटनपछि खडकाहरुले गोरखामा शासन गर्नथाले लमजुङमा यशोब्रह्रम शाहलाई राजा बनाउन सहयोगी भए। यशोब्रह्रम शाहका छोरा द्रव्यशाहले घले र खडकाहरुलाई पराजित गरी गोरखा राज्यको स्थापना गरे” ।

लेखक वसन्त महर्जन समेतले हालको “विहार वोधगया समेत खस साम्राज्य थियो” भनि उल्लेख गरेबाट खस साम्राज्यको विस्तारलाई वुझ्न मद्दत गर्छ। १२ औं शताब्दीको शुरुतिर कर्णाली प्रदेशका विषयपति ‘नागराज ले विधिवत रुपमा त्यो क्षेत्रमा खसराज्य कायम गरी शक्तिशाली वन्दै गएको यो खसराज्य पनि अभय मल्लको शासन पछि टुक्रिएर २२ से राज्यको उदय भएको, मल्लकालमा खडा भएका वाइसे, चौविसे र उपत्यकाका राजाहरुवीचको कलह, दाउपेज, विद्रोह खिचातानले गर्दा राजनैतिक स्थिरता कायम हुन नसकेको, मल्लकालको अन्तिमसम्म पुग्दा नेपाल करिव ५० राज्यमा विभक्त भएको, नेपालमा मल्लकाल (१३ औं शताब्दी देखि वि.स. १८२६ सम्म रहेको थाहा हुन्छ) स्मरण रहोस ‘मल्ल कुनै छुट्ठै जातीहरु नभई पूरानो खेल कुस्तीमा जित्ने वा रणकौशलमा निपूर्णलाई मल्ल भनिन्थ्यो, खसहरु भित्रकै नेता कालान्तरमा परिस्कृत जातीय नाम हुनपुग्यो। वहादुर शाहको नायवी शासनकाल वि.स.१८५४ मा नेपालको सिमाना अन्तर्गत अल्मोडा, कुमाउँ र गढवाँलसम्म पुगेको इतिहासकारहरु लेख्छन। पश्चिम किल्ला कागडाँ पूर्वमा तिष्ठा पुगेका…. गीतले पनि राष्ट्रियता विस्तारको वोध गराउछ।

कर्णाली सिंजा प्रदेशको खसराज्य, कुमाउँ गढवालका खस कत्युरीवंशी वा ठकुराई राज्य हुन वा शालिवाहनदेव वा निरयपाल ले स्थापना गरेको डोटीराज्य त्यो समयको पश्चिम नेपालमा यी तिन राज्यहरुको अस्तित्व रहेको इतिहासकार बताउँछन।

“कहिले डोटीराज्य सिन्जाको अधिन हुने त कहिले स्वतन्त्र हुने कहिले कत्युरी राजाहरुकै राज्यविस्तारको क्रममा ‘पूर्वतिरको प्रशासन हेर्न खडा भएको माण्डलिक राज्यलाई डोटीराज्य भनेर नामाकरण भएको भन्ने भनाई छ” विद्धान तथा इतिहासकारहरुले जातीयरुपमा डोटी, कुमाउँ गढवाँलका कत्युरीवंशी, ठकुराई राजाहरु र कर्णाली प्रदेशलाई खसराज्यको रुपमा चिनाएका छन जुन खसहरुको मूल उदगम स्थलका आधारहरु र तथ्यहरुसँग नजिक छन।

तत्कालिन समयमा राज्यविस्तारको क्रममा लडाई हुनु, शक्ति हुन्जेल अर्को राज्यलाई अधिनमा राख्नु र शक्ति कमजोर भएपछी वा बहादुर राजा वा नेता निक्लेमा आफनो राज्यलाई स्वतन्त्र गराउनु त्योबेलाका राजनैतिक विशेषता नै हुन।

पाटन स्वराढगढ:

प्राचीनकाल देखि मध्यकालसम्म संसारभरी कविला राज्यहरुले एकअर्को माथि विजय प्राप्त गर्ने, राज्य विस्तार गर्ने, सम्पत्ति हासिल गर्ने क्रम नै थियो। कबिलाका राजा वा नेताले जसले छिमेकका स-साना कविलालाई जित्दै राज्य विस्तार गर्न सके ठूलाराज्य र दीर्घकालिन हुदै चक्रवर्ती सम्राट कहलिएका इतिहासबाट खुल्दछ। कुनै समयमा संसारभरी दुईलाख भन्दाबढी राजारजौटाहरुको शासन रहेको इतिहास भेटिन्छ। छिमेकी मुलुक भारतमा मेवाड, चितौढगढ जस्ता विशाल राज्य र सम्राटहरु भएपनि सम्पूर्ण भारत एकिकरण हुन सकेको इतिहास वा एक्लो राजा वा नेतृत्वले भारतलाई एकिकरण गर्न सकेको इतिहास छैन।

मूगलहरुको आक्रमण र पछी अंग्रेजहरुले भारतलाई एकिकरण हुनमा सघाउ पुरयाएको भारत स्वतन्त्र भएपछि पनि ५१७ राजाहरुले अंग्रेजबाट आफुमुक्त भएको घोषणा गरी स्वतन्त्र हुन खोजी नेहरु नेतृत्वका गृहमन्त्री सरदार वल्लभाई पटेलले राजा-रजौटाहरुलाई पुनः स्वतन्त्र राजा/राज्य हुन नदिई ब्रिटिश पछिको स्वतन्त्र भारतलाई पुन: एकिकरण गरेको इतिहास छ।

प्राध्यापक इतिहासविद् सूर्यमणी अधिकारीका अनुसार ‘राजा पृथ्वीमल्लको पालामा डोटीका सामन्त निरयपालले सिंजाको केन्द्रियसत्ता विरुद्ध विद्रोह गरेर वि.स.१४०९ तिर स्वतन्त्र डोटी राज्यको स्थापना गरे भनी प्रा. विपिन अधिकारी लेख्छन। खस साम्राज्य बाइसे चौविसे राज्यमा परिणत हुदै गएकोले डोटीराज्य त्यसै मध्येको एक सामन्ती राज्य हुनुपर्छ। लेखक भोजराज भट्टराईका अनुसार ४८ माण्डलिक राज्य र १६०० गाउँ त्यो बेलाको डोटीराज्य अन्तर्गत पर्ने र डोटीले कर उठाउने गर्दथ्यो भनि लेख्नुको पछाडी डोटी त्यो बेलाको सशक्त राज्य भएको हुनुपर्छ।

नेपालमा राजा-रजौटा ऐन, २००७ बनेपछी मात्र रजौटाहरुको उन्मूलन हुने क्रम शुरु भएकाले त्यो भन्दा अघिसम्म सम्पूर्ण नेपाललाई प्रत्यक्षरुपमा समेटन सक्ने केन्द्रीयशक्ति वा पद्धतिको विकास नभएको र नेपाल एकिकरणको अभियानमा वि.स.१८५४ मा महाकाली पारीसम्मको भू-भाग नेपालमा आएको भन्ने इतिहासविदहरुको भनाईले नेपालको प्रशासनिक विभाजन अन्तर्गत रहन आएको बैतडी जिल्लामा अवस्थित ‘स्वराढगढ’ को केन्द्र पाटन उपत्यकाको पुरानो नाम “स्वराडगढ” र यो नामबाट आजसम्म यो क्षेत्र चिनिन्छ तथापि तल्लो, मल्लो स्वराढका नामले बैतडीका अन्य क्षेत्र पनि चिनिन्छन।

पाटन स्वराढगढको सौंराङकोट राजधानीमा प्रथम र अन्तिम राजा/रजबार खीपचन्दको शासनका बारेमा विभिन्न धारणा नभएका होइनन । उनीभन्दा अघि सौराङगकोटमा को राजा थिए उनी कसरी राजा वा रजबार हुन पुगे कसलाई हराए त्यहाँका स्थानीय चौरठ्याहरुले कसरी स्वीकार गरे तथ्थपरक रूपमा एकिन नभएपनि कालीपारीका कत्युँरीवंशहरुले आफनो शासन ८ औ शताब्दी देखि कायम गरी निजहरुको राजनैतिक प्रभाव सन १०५० सम्म कायम थियो भन्ने भनाई, डोटी साम्राज्य अधिन कर वुझाउने गरी रजबारीको रुपमा स्थापित भएको भन्ने भनाई, १२ औ शताब्दीको भारतमा भएको मुगल आक्रमणका श्रृंखला, वि.स.१४५० मा कत्युरीवंशकै डोटीका राजा नागमल्लले खडागरेका भन्ने पाल्पाका इतिहास लेख्ने विष्णुप्रसाद घिमिरेको प्रशङग, शाके १२९८ मा जुम्ला र १५५० कुमाउँसँगको युद्धमा डोटीले भीषण क्षति व्यहोरेको र शाके १४९०-१५७८ सम्म डोटी युद्धमा झोसियो भन्ने लेखक भोजराज भट्टराईको पुस्तकका आधार, कर्णालीका खसराजा पृथ्वीमल्लको पालामा डोटीका सामन्त निरयपालले सिजांको केन्द्रीय शत्ता विरुद्ध विद्रोह गरेर वि.स.१४०९ मा स्वतन्त्र डोटीराज्य स्थापना गरेका भन्ने इतिहासकारहरुको भनाई समेतका आधारहरुबाट कर्णालीप्रदेश, डोटीराज्य, कत्युँरीराजाहरु वा कुमाउँका ठकुरी राजाहरुको शक्तिसंघर्ष राज्यविस्तारको लडाँई, नजिकैको शक्तिशाली डोटीराज्यले गर्दा कालीपारीका कत्युरीवंशलाई पाटनमा राज्य गर्नु त्यति सहज नहुने, खसराज्यको अधिनबाट डोटीराज्य स्वतन्त्र हुनसक्ने स्थिति, वि.स. १८५४ मा वहादुर शाहको पालामा गोर्खाली फौजको नेतृत्वले पश्चिम नेपालको पहाडखण्ड एकिकृत नेपालमा समाहित गराउनु समेतबाट १७ औ शताब्दीको मध्य वा अन्ततिरको सेरोफेरोमा पाटन स्वराढगढका अन्तिम राजा/रजबार खीपचन्दको शासनकाल हुनसक्ने अनुमान गर्न सकिन्छ।

पाटन उपत्यकाको उत्तरतिरबाट वहदै आएको सूर्नयाँ नदी, दक्षिण पश्चिमका धाँनका फाँटहरु, मैतडस्थित पुरानोबजार, वारीपारी रमणीय गाँउहरुको वस्ती भएको पाटन सानो उपत्यका भएपनि वसोवासको लागि उपयुक्त स्थान रहेको। सूर्नयाँनदी यो ठाँउको लागि वरदान रहदै चारैतिर स-साना पहाडबाट घेरिएको उब्जनी र प्राकृतिक विपत्तिबाट अहिलेसम्म यो क्षेत्र मुक्त रही मौसमका दृष्टिकोणले शमशितोष्ण पाटन सिद्धनाथ उदयदेव मन्दिर नजिक सल्लाका रुखहरु प्राकृतिक रुपमा सयौवर्ष देखि आफनै स्वाभिमानका साथ अडिग छन। धाँन गहुँ मकै प्रमुखबाली हुने यो क्षेत्रमा फलफूल खेती खासै नभए पनि आँप, लिची, अम्वा, केरा, आरु, नासपाती उब्जाउ हुन्छन।

स्वच्छसफा हावापानी न धेरै गर्मी न धेरै चिसो विहानैदेखि सुर्यदेवको दर्शन हुने पाटन स्वराढगढ जीवन निर्वाहको लागि साच्चै नै उपयुक्त स्थान हो। करिब चालिस वर्ष भन्दा अघि सिद्धनाथ उदयदेव मन्दिरको उत्तर हालको मैतडमा पुरानोबजार रहेपनि पाटन विमानस्थलको निर्माणसँगै पाटनबजार उत्तरतिर विकसित हुदै मध्यपहाडी राजमार्गले जोडिने र आधुनिक शहर Smart city हुने क्रमको प्रतिक्षामा छ।

पाटनबजार भन्दा दक्षिणमा शिवालय मन्दिर रहेको शौकीनी पिपल र सोको पुर्वतिर माथी राजा/रजबारी कोट,(वासस्थान अन्य ठाँउका किल्ला जस्तै) रहेको भग्नावेशहरुले आजपनि शासन केन्द्र थियो भन्ने पुष्टी हुन्छ। जनश्रुति अनुसार करिव १७ औं शताव्दीको मध्यसम्म पाटनवजारको दक्षिण सौराङकोटमा तत्कालिन समयमा के कति राजा/रजबारहरुले आफनो रजबारी शासन पाटन उपत्यकाको सेरोफेरोमा चलाए एकीन भन्न सकिन्न तर अन्तिम राजाको रुपमा खीपचन्दको शासन रहेको किवंदन्ती सर्वस्वीकार्य रुपमा स्थानीय जनमानसमा रहेको छ।

त्यो समयमा किल्लालाई सुरक्षित पार्न राजाले चारैतिर सूर्नयाँ नदीको माध्यमले सुरक्षित पार्न सिलगांगाऊँ तर्फजाने बाटोसँगैको पहाडलाई काँटी सूर्नयाँनदीको धार वदल्ने प्रयासगरी किल्ला सुरक्षित गर्न खोजेको भौगोलिक अवस्था, सूर्नयाँनदीको टोपले तलाउँबाट भित्र-भित्रै दरवारमा पानी वोक्ने सुविधाको लागि गोप्यबाटो (गुफाको निर्माण), सो कोटमा खानेपानीको प्रवन्ध गर्न भणालीगाँउको खोलाबाट करीब अ.३ किलोमिटरको दूरीबाट माटाका पाइपबाट पानी ल्याउन बनाइएका हालसम्म पनि माटाका पाइपहरु देखिने गरेको र आजसम्म वैधानिक स्वामित्व नरहेको सो ठाउँको बनावट र घेर-पर्खालका अवशेषबाट राजकिल्ला रहेको थप पुष्टी हुन्छ।

पाटन स्वराढगढका अन्तिम राजा खीपचन्द:

स्वराढगढ केन्द्र पाटनथलीमा ऐडी बिष्ट, दशौनी बिष्ट, भण्डारी र कठायत लगायतका  चार थरीहरुलाई चौरठ्या भनिन्थ्यो र यीनीहरुका कुनैपनि सार्वजनिक निर्णय र विषयहरुमा महत्वपूर्ण भूमिका रहन्थ्यो। चाँड महताहरुले पनि वसोवास गर्ने र सामाजिक धार्मिक वर्णव्यबस्था सामन्तकालिन सोचले दलित बनाइएका पहरी, कुम्हाल, दमाई, भूल जातीहरुको समेत वसोबास हुदाँ यिनीहरु पनि यहाँका पुराना थरीका रुपमा मानिने र बजारको विस्तार र आधुनिक विकासका कारण क्रमिक रुपमा अन्य थरीका परिवारहरु पछि वरपरका क्षेत्र, जिल्लाबाट पाटन सेरोफरोमा वसोवास गर्न पुगी पाटनलाई गुल्जार बनाएको भौगोलिक अवस्था समेतबाट पुष्टी हुन्छ। चौरठ्याहरु ऐडी/दशौनी बिष्ट, भण्डारी, कठायतहरुको बाहुल्यता भएकोले उनीहरुको हैसियत काजी हालका मन्त्रीमण्डलका सदस्य जस्तै भएको हुनुपर्छ। सामाजिक मामिलाहरुमा आधिपत्य रहने भएकाले त्यो बेला चौरठ्याहरुलाई त्यो क्षेत्रका सामन्तहरुको रुपमा परिभाषित गरिएको पनि पाईन्छ।

चौरठ्याहरु इष्टमित्र कुटुम्व तथा रगतको सम्बन्ध भएपनि पनि अंहमता, अशिक्षा र गरिवीका कारण आपसी सामाजिक व्यवहार र कार्यमा मतमतान्तर भई आ-आफनो ठालूगिरी, जुगाँको लडाई (आजकोजस्तो कुर्सीको लागि लडाई गर्ने), श्रेष्ठता कायम गर्न मनमुटाव, झै-झगडा हुनु पनि स्वभाविकै हो।  सवैलाई मान्य हुने निर्णयमा स्वार्थ वाझिएमा वा प्रतिष्ठाको सवाल भएमा मुखिया वा कबिलाको राजा छान्ने चलन सवै ठाउँमा भएजस्तै यहाँ पनि थियो हुनुपर्छ।

शक्तिशाली जुम्लाका खसमल्ल राजाहरुको रखवारीमा डोटी अजयमेरु कोटका राजालाई करवु झाउने गरी रजबारी (मुखियागिरी) चलाउने राजा वा कसैकसैले डोटी अजयमेरूका राजालाई कर वुझाउने र तिनले पनि भारतका मूगलसम्राट हुमायूलाई कर उठाई दिनेगरी रजबारी शासन चलाउने राजाको रुपमा खीपचन्द उल्लेखित कोटका राजाका थिए भन्ने जनश्रुर्ति पनि रहेको छ। पाटन स्वराढमा खीपचन्द भन्दा अघि को राजा थिए उनलाई किन जनताहरुले राजा स्वीकार गरे कहाँबाट आप्रवास भई आए भन्ने प्रश्न निरुत्तर छन जे होस खीपचन्द राजा र चौरठ्याहरु काजी मन्त्री जस्तै थिए भन्ने भनाई आज पर्यन्तको स्थानिय वसोवासले पनि पुष्टि हुन्छ।

जनश्रुर्ति अनुसार त्योबेला पाटन सौराङकोटका पुरुषहरु हिउँदको समयमा खेतीको काम सकिए पछी हिउँदयाममा फुर्सदको बेला खासगरी लुगाँ बनाउन कपास ल्याउन हालको अछाम बाजुरा सुर्खेततिर जाने चलन रहेको, कपासबाट ‘ऊन‘ काँती त्यसबाट बनेको स्थानिय भाषामा “गाँदा” जस्तो लुगाँ बनाइ लगाउने वाध्यता थियो।

एकासमयमा गाँउलेहरु कपास ल्याउन गएको समयमा हालको सौराङकोट (स्वराङकोट; अपहेलित भनाईमा सुगँरकोट) माइत भएकी कठायतकी छोरी भण्डारी परिवारकी बुहारी मासिकश्रावबाट शुद्धहुन चौथो दिन सूर्नयाँनदीमा नुहाउँदा कपालको एक रौं आफनै हातमा अल्झिदाँ युवतीले सो रौं सानोकाठमा बेरेर नदीमा फाल्दा संयोगवश त्यो कपाल बेरेको काठ ठूलोमाछाले निल्न पुगेको र केहीबेरमा कुनै कुम्हाल थरीका एक व्यक्ति माछामार्दै गर्दा उनको जालमा त्यही रौ निल्ने माछा पर्न पुगेछ।

ठुलो माछा परेकोले बक्सिस पाउने लोभमा राजाकहाँ पुरयाउदाँ राजाको भान्सामा उक्त माछाको पेटबाट ‘रौ’ बेरिएको काठ भेटिई सो ‘रौं’ लाई खोल्दै जादाँ अपेक्षा गरेभन्दा लामो (बाइस हात ?) रहेको र यत्रो लामा कपाल भएकी महिला मेरो रजवारीमा कहाँ छ भनी राजालाई ती महिला प्राप्त गर्ने आशक्ति मनमा राखि एकदिन खीपचन्द गाउँका लोग्नेमान्छे सवै कपास ल्याउन गएको होलीको समयमा सौराङकोट पुगि राजा के मनसुवाले त्यहाँ आएको भन्ने सवै महिलाले थाहाँपाई ती सुन्दर महिलाले राजाको गिद्धदृष्टीबाट बच्न आफनो मुखमा कालोमुसो दलेको र राजाले लामा कपाल भएकी महिला चिन्न पानीखाने निहुँले पानी मागि ती महिलाको मुखमा खन्याई पहिचान गरी राजा खीपचन्द त्यहाँबाट कोट फर्केका भन्ने किवदन्ती रहेको ।

राजा गाउँमा आई अभद्रता गरेको कुरा गाउँका लोग्नेमान्छे कपासबाट फर्कि आएपछी एककान दुईकान मैदान जस्तै छर्लङग हुदाँ गाउँका सवै आपसी सम्बन्ध भएकाहरु बीच सरसल्लाह भई यो राजा अनुचित छ यसलाई राजा मान्नु हुदैन मार्नुपर्छ भन्ने चौरठ्या काजीहरु र अन्य चाँड महताथरी जो आपसमा इस्टमित्र पनि थिए निजहरुको सल्लाह वमोजिम राजालाई कोटबाट बाहिर निकाल्ने जुक्ति गरी चारैतिरबाट दिउसै काँकडहरुका बथान (एक प्रकारका मृगहरु) आए भनि आवाज गरौ राजा किल्लाबाट वाहिर आउँछन र त्यहीबेला भालारोपी राजालाई मारौ भन्ने सल्लाह गरेछन।

कोही हालको धनसैनीतिर, कोही डोबराबाट, कोही सौराङकोटको पूर्वतिरबाट काँकड(मृग) आए… काँकड आए….. भनी चारैतिरबाट हल्ला गरेछन। खीपचन्दका रानीले यसरी दिउसै कहाँ काँकड आउँछन बाहिर नजानोस गाँउलेहरुको केही षडयन्त्र हुनसक्छ भन्ने शँका गरेपनि राजाले त्यो अन्दाज गर्न सकेनन र काँकड नै आएका होलान नत्र चारैतिरबाट किन प्रजा कराइ रहेका ? मौका परे काँकड मार्छु भन्ने मनसायले किल्ला बाहिर आउँदा चारैतिरबाट घेरा हाली राजा खीपचन्दलाई त्यो बेलाका चल्ताफुर्ता नाम कमाएका ‘अनी कठायतले’ छातीमा भाला रोपेछन।

अर्को धारणा अनुसार ती युवती राम्री भएकीले तिनका लोग्नेलाई शिकार खेल्न घनघस्या लेकतिर लगि राजाले मारी वाघले मार्यो भन्ने हल्ला चलाई खसीको मासुसँगै तिनैको मासु दशैंको भोजमा सामन्तहरु तथा तिनका वुवालाई खुवाई कस्तो छ भन्दा राजाको डरले राम्रो छ त भनेका तर आफनो छोराको कान्छो औलाबाट पहिचान भई त्यसैको प्रतिशोधले खिपचन्दलाई मारेको भन्ने जनश्रुति पनि सुनिन्छ।

खीपचन्दलाई मारेपछि किल्ला (कोट) भित्र पसी रानी र केही सिमित सुरक्षा गर्नेहरु पनि मारिन पुगेछन तर मारेको आरोपबाट बच्न वा पापबाट बच्न वा डर वा अन्य कारणले ‘अन्ते चाँडले’ राजा मारयो भनि हल्ला फिजाई अन्ते चाँडलाई टिका तथा माला समेत लगाई दिएकोले “अनि कठायत” ले भालारोपी राजा खीपचन्द मारेको भएपनि “अन्ते चाँड”ले राजा मारयो भनि हल्लागरी पुरुषार्थको तिलक अन्ते चाडँलाई लगाई दिएका कारण रिसले चाडँहरु विना सित्तैको दोष हामीलाई लगाउने भनि कठायतहरुसँग रिसाई गाउँछोडी तल्लो स्वराढतिर वसाई सरेका र हालसम्म पनि इतिहास जान्नेहरुले चाडँहरुको कठायतहरुसँग पानी बाराबारको स्थिति रहेको भन्ने सुनिन्छ। ततपश्चात महताहरु पनि हैजा उत्पन्न भएको वा अपुताली परेको कारण वा अन्य मतभेदका कारण बसाई सरी तल्लो स्वराडगढतिर गए भन्ने जनश्रुर्ति र उनीहरुको तल्लोस्वराढमा भएको बस्तीले पुष्टी गर्दछ।

खीपचन्दका एकजना भाई दीपचन्द जो एकखुट्टाका अपाङग भाग्दै (धून, केतु जाति बस्ने जो पछि अपुताली भई समाप्त भएका) हालको पाटन गाँउ हुदै त्यहाँबाट पनि लखेटिदै सुर्नयाँनदीको हालको मणौन्यानिरको पानीघट्टको तल्लो कोठामा लुक्न पुगेछन। खीपचन्द राजा मार्ने चौरठ्याहरु र अन्य त्यहाँपुग्दा नजिकैको पिठो पिस्ने घट्ट आएका एकजना सकार जरौलीका भट्टराई थरका व्यक्तिले इसाराले राजाका भाइ दीपचन्द मणौन्याको गुफामा लुकेको ईशाराले देखाएका र तिनलाई बाहिर ल्याई ‘मलाई नमार मैले केही पापगरेको छैन’ भन्दाभन्दै ‘राजाको भाई राजै हो साँपको भाईसाँप भन्दै’ तिनलाई पनि त्यही मारेछन। त्यसैले आज पर्यन्त कठायत थरीले दिपचन्दको सौराङकोटको उत्तरपूर्वमा मणौन्याको माथी मन्दिर निर्माण गरी ‘क्षमा, प्रायश्चित पूजा’ गर्दै आइरहेकोबाट पुष्टी हुन्छ ।

ईशाराले दीप चन्दलाई देखाउने ‘भट्टराई’ थरका एकव्यक्ति भएपनि उनका सन्तान भट्टराईहरुले समेत हालको जरौलीमा दिपचन्दको मन्दिर बनाई निर्दोष राजाका भाईलाई मार्नेहरुलाई सहयोग गरेकाले ‘क्षमा, प्रायश्चित पूजा’ गर्दै आइरहेका हालसम्मका मन्दिरहरु पूजा र परम्पराबाट प्रष्ट हुन्छ। राजा दीपचन्दलको छोरी मकहाँ पठाउनु भन्ने उर्दीको कारण असमन्जमा परी छोरी पठाउनु भन्दा आत्महत्या गर्नु ठिक ठानी लाटोपन्तले आत्महत्या गर्नु परेको सौकिनी पिपलको दक्षिणपट्टीको डाँडामा रहेको मन्दिरमा लाटो पन्तको पूजापद्धतिसँग जोडिएको कथाबाट पुष्टी हुन्छ।

अर्कोतिर साहित्यकार तथा पूर्व प्र.म. लोकेन्द्र बहादुर चन्दजी ले आफनो पुस्तक “विसर्जन” मा “संगौराकोटमा उग्रचन्दको राज्य भएको उदयदेव पूर्खा र इष्टदेव भएका र उनले सौराङकोटको दक्षिणमा एकदिन शिकारखेल्न जादाँ बाटोमा घुलोमा लट्पटिएको वच्चालाई देखि मानवीय करुणाका कारण राजधानी ल्याई हुर्काइ राजाको कृपाले सडकबाट सेनापति सम्म बनाई मनजित सिहं नामदिई उनले सोमचन्दसँग मिलेर विश्वासघात गरी सोमचन्दले उनसँगको सम्झौता भङग गरी संगौराकोटमा रातीकब्जा गरे। उग्रचन्द आफना तिनछोरा सहित गुफाको बाटो भएर ससुराली काँकरीकोट गई राजकुमारहरु रतु, सुरजु, जैतुलाई हुर्काउदै गरेका थिए।

मनजितको शासनमा हालीमुहाली भई निजको क्रुरता, निरङकुशता र सर्वेसर्वा बढदै गएपछि सोमचन्द कोटमा मीनपचासमा कहिलेकाही आउने र आउँदा मनजितले खातिरदारी गर्ने सोमचन्द एकदिन सूर्नया नदिको तिरैतिर घुम्नजादाँ नुहाउदै गरेकी युवतीलाई देखि मनमा पाप पलाउदै गई मौकाको ताकमा रहेका मनजितले सोमचन्दलाई उक्साउने कामगरी कसकी वुहारी हो भन्दा सामन्तहरुसँग राजा सोमचन्दको मनमुटाव गराउन सामन्त अनिसिह कि वुहारी भन्ने पत्ता लगाई निजको नातीलाई कब्जामा लिई दशैको समयमा काजीहरुलाई भोज खुवाउने चलन अनुसार कब्जामा रहेको सामन्त अनिसिहंको नातीलाई मारी भोजमा नातीको मासु समेत मिलाई सामन्तलाई खुवाउदाँ नातीको औलाबाट चिन्हेका कारण सामन्तहरु दुःखीभई मनजित र सोमचन्दको शासनबाट आजितभएका सामन्तहरुले शिकार खेल्ने (ऐडोखेल्ने) दिन सामन्त र प्रजाहरु मिलेर मृगआए… मृगआए….भन्ने वहानामा कोटबाहिर आएका सोमचन्दको इहलिला अनिसिहले वर्छीले समाप्त गरिदिए।

अर्का पाइक (योद्धा) अनिचाँडले मनजितलाई पनि मारीदियो। पल्टनहरुको केही प्रतिक्रिया भएन त्यसपछि सामन्तहरुको रजाई शुरु भयो। सामन्तहरुका अनेकौ सम्झौता टुटेपछि ६ महिना पनि राम्ररी शासन व्यवस्था चल्न सकेन। आखिरमा एकजना वुढो गाँइनेको सल्लाहमा पुरानै राजा उग्रचन्दलाई फर्काउने निर्णयमा पुगी काँकरीकोट जादाँ बाटोमा पनचक्की घट्ट गएका जैतु (उग्रचन्दका कान्छा राजकुमार) ले लामोबाटो देखाई आगन्तुकहरुको स्वागत गर्न उनीहरु भन्दा पहिले घरपुगी चाँडोचाँडो नुहाउदा पनि कानमा घुलो वाँकी नै थियो।

राजालाई फर्किन अनुनय गर्दा राजाले नमानेको र अन्तमा सामन्तहरुले एकजना छोरालाई नै भएपनि राजा हुन मागगर्दा उनै जैतुलाई राजाले पठाई मेरो पनि इष्टदेव उदयदेवलाई प्रणाम र ‘माटोलाई प्रणाम’ भनि दिनु भने पछि जैतु सौरागकोटका राजाभए भन्ने भनाई राखेका छन”

विसर्जनमा उल्लेखित लेखबाट तार्किक रुपमा धेरै रहस्यहरुको निदान हुन सकेको छैन भने त्यसपछीको इतिहास समेत खुल्न सकेको छैन। केही अंश स्थानीय जनश्रुति अनुसार मिल्न पुगेपनि इतिहासको तथ्यमा आधरित स्रोत-सामग्रीहरु को अभाव रहेको उक्त लेखले धेरै प्रश्नहरुको तार्किक उत्तर दिन असमर्थ छ।

जस्तै उग्रचन्द कसरी सौरागकोटमा राजा हुन पुगे, उनका पुर्खाहरुले राज्य गरेको स्थान, उहाँको राज्यको विस्तारको इतिहास र अवस्था, पाटन वरिपरिका चन्दराठहरुको उनीसँगको कुनै साइनो सम्बन्ध, कोटबाट गुफाको दुरी सातसय गजको प्रशङग, एकदिनमात्र उग्रचन्दले त्यो गुफा देखेको भन्ने प्रसँग, जबकी सोमचन्दले कब्जा गर्दा त्यही गुफामा एकरात बिताएका प्रसँग, गुफाका मुखमा चारजना सिपाही सोमचन्द खटाएको, ती मध्ये दुईजनालाई राजा र १० वर्षे छोरा जैतुले तलवारले छिनालेको, दुई सिपाही भागि गएका उनीहरुले माथिकोटमा खबर गरे नगरेको किनकी खबर गरेको भए आवाजले पनि थप मद्दत आउन सक्ने भौगोलिक अवस्थाले पनि सकिने स्थिति रहेको, सानैदेखि सडकको घुलोबाट टिपी पालि हुर्काएका सेनापती मनजित सिहं किन सोमचन्दसँग मिल्न गए, डोटी राज्यसँगको सम्बन्ध, सोमचन्दको इतिहास उनी कहाँका वास्तविक राजाथिए, उनीसँग उग्रचन्दको के करार भएको थियो आदि तथ्थहरु निदान हुने किसिमका छैनन।

पश्चिम नेपालमा खसराजाहरुको तत्कालिन राजनैतिक प्रभूत्वसँगको तादात्म्यता, कर्णालीका खस साम्राज्यको अवस्थिति, खस आर्यहरुको आगमनको अवस्था भारतबाट मुगलको आक्रमण पश्चात आर्यहरु आफनो संस्कृति जोगाउन नेपाल प्रवेश गरेका अरु इतिहास विदहरुका लेखहरु सन्दर्भ सामग्रीहरु, नेपालको इतिहाससँगको सामिप्यता, पश्चिम नेपालको त्यो बेलाको राजनैतिक अवस्था, कुमाउँ गढवाल क्षेत्रको राजनैतिक अवस्था, कत्युरीवंशको इतिहास भौगोलिक स्थिति, भक्ति भावनाका महाराज उदयदेवलाई पितृदेव मान्नुका कारण साईनो,  पाटन उदयदेवमा पूजाको समयमा चन्द राठहरुबाट बलिप्रथा खामको राँङगो दिने चलन, गुठियारको परिभाषा, पूजापद्धतिको परम्परा, देवनगर कसलाई भनिथ्यो, कसरी मैतडमा उदयदेवको स्थापना भयो, कसले गरे, कठायत र भट्टराई थरीले आज पर्यन्त दिपचन्द पूज्नुको कारण, पाटन स्वराढगढका जनजनको मानसपटलमा रहेको खीपचन्द र दीपचन्दको शासनका जनश्रुति, इतिहाससँग सम्बन्धित तिथिमिति, जैतुको शासनपछि के भयो कहिले उनको शासन समाप्त भयो, उनका उत्तराधिकारीका नाम, पाटन स्वराढगढका लगभग चौरठ्याहरु आज पर्यन्त नामको पछाडी सिहं लेखाउने भएकाले सामन्त अनिसिहँ बिष्ट, भण्डारी, कठायत, महता, चाँड, ऐडीबिष्ट मध्ये को थिए, सिद्धनाथसँग उदयदेव कसरी जोडिन पुगे, जैतुलाई राजा बनाउन चौरठ्याहरु काँकरीपाखा गएका, जैतुलाई ल्याएको सम्मको उत्तरार्धको इतिहास करिब करिब पाटनका जनश्रुर्ति अनुसार नमिल्ने होइन तर अरु यावत प्रश्नहरुको निदान हुन सकेको पाइदैन।

जनश्रुति अनुसार खीपचन्दको अन्तपछि चौरठ्या मध्येका जेठो राठका हालका चौखुडा निवासी दशौनी बिष्ट मध्येका कानो बिष्टलाई कामचलाउ मुखिया रजबार बनाई केही समय रजबारी सम्हाल्न दिएका। हालको पाटनगाँउमा धुन,केतु लगायतका विभिन्न जातीको वसोबास रहेकोमा कानो बिष्टका तिनभाई सन्तानहरु मध्ये जेठा-सन्तान पाटन गाँउमा बस्न पुगेका केहीसमय पछि फेरी स्वराढगढका चौरठ्याहरु वीच सामाजिक निर्णयहरुमा मनमुटाव भई मेल सल्लाह नहुने भएपछि राजा खोज्ने सल्लाह भए वमोजिम हालको दार्चुला गोकुले नजिकको काँकडी पाँखातिर (कसैकसैले गढवालको काँकरीपाखाँ पनि भन्ने भनाई पनि छ) चौरठ्याहरुका अग्रजहरु गएका जादैगर्दा खोला नजिकको स्थानीय घट्टमा पुग्दा एकजना पिठोले लतपत भएको (स्थानीय भाषामा पिठोलाई धुलो समेत भनिने) वृद्धलाई आउनुको कारण बताई फलानाको घरकहाँ हो भन्दा निजले आफनै घरजाने घुमाउरो बाटो देखाई आफु तत्काल नुहाई चौरठ्याहरु भन्दा छोटोबाटो हुदै निजहरुभन्दा अघि घरमा पुगेका।

निजका छोराहरुको राजाहुने लक्षण ऊखुखान दिएर परिक्षण गर्दै जादाँ कान्छा छोरा जयतु चन्दलाई राजा छानी पाटन स्वराढगढमा शर्त सहित (कठायतले छोरी दिने र चौरठ्याले संरक्षण गर्ने) ल्याई राजा वा रजबार बनाईएको। जयतु रजबारले पुरानो सौराङगकोटमा बस्न नचाहेकाले हालको पौडीगाँउको नजिक बसेर साधारण सरह नै बसेका र कालान्तरमा त्यो ठाँउलाई पनि ‘कोट’ नै भनिएको उनका शाखा सन्तानहरु समेत छरिएर ठाँउ-ठाँउमा रहेका छन।

तत्कालिन समयका कमजोर रजौटाहरु जस्तै पानाकोटका चोतेभाट, पोटखाली (महारुद्र नजिकका) पनिभाट, भकुडाका भगिभाट, अन्नाडीका अनिभाट समेत जैतु रजबारको रजबारीसँग विलिन हुनपुगी पूर्वबाट आधुनिक नेपालको गोर्खाली फौज राज्यविस्तारको क्रम र एकिकरणको अभियानमा आएपछि स्थानीय स्वराढगढमा रजबार/रजौटा हुने प्रणालीको अन्त हुनगई त्यसपछिको राजनैतिक इतिहास उल्लेख नहुनुले पनि पुष्टी हुन्छ।

उपसंहारः

यसप्रकार पाटन स्वराढगढमा राजा/रजौटाहरुको समयको राजनैतिक इतिहासको विश्लेषण गर्दा सौराङकोटको भौगोलिक अवस्था, दीपचन्दका मन्दिरहरुमा आजसम्म पनि भट्टराई र कठायत थरीले गर्दै आइरहेको पूजा, स्थानीय वृद्धहरुसँगको छलफलका आधार, विभिन्न किवदन्ती तथा डोटी राज्य, कालीनदी पारीका ठकुराई चन्दराजाहरुको विस्तारका आधार, जुम्लाका खसमल्ल राज्यको फैलावट र समृद्धी, कठायत र भट्टराईथरका केही अनुभवी व्यक्तिहरुको भनाइ, भारतमा ११/१२ औ शताब्दीमा भएको मूगल आक्रमणका कारण स्थानीय रजौटाहरुको विस्तार र विस्थापित अवस्थाका आधारहरुमा रहेर लेख लेखिएको, केवल कथा र कहानी कै आधारमा मात्र वा कल्पनाका आधारमा पनि लेख्न सकिन्छ होला तर विश्वासपरक र तथ्थपरक बनाउन ऐतिहासिक कारण, केही तथ्यहरुसँगको सामिप्यता हुनु जरूरी हुदाँ समय र कालखण्डलाई एकिनसाथ निर्क्यौल गर्न नसकिए पनि ऐतिहासिक तथ्यलाई आजको सन्दर्भमा चपाउन सकिदैन र संकीर्ण सोचाईले इतिहासलाई ढाँकछोप पनि गर्न सकिदैन।

यो तथ्य उजागर गर्दा पाटनका कसैजात वा थरीलाई सानो र ठूलो बनाउने वा मानमर्दन गर्ने मनसाय पक्कै होइन छैन। यो पाटन स्वराढगढको छोटो कालखण्डको छोटो राजनैतिक परिस्थिति र अवस्थाको चित्रण मात्र हो। ऐतिहासिक तथ्य र वस्तुनिष्ठ प्रमाणहरु भए यस लेखलाई थप पुष्टी गर्न मद्दत पुग्ने नै छ। तत्कालिन समयको स्वराढगढको केन्द्र पाटनको ‘स्व’ अर्थात स्वाभिमान, स्वतन्त्रता प्रतिको आस्था, स्वराजको मनोकांक्षा, अन्याय प्रतिको विद्रोह, समानता र सम्मान अस्तित्वको लागि ऐक्यवद्धता प्रतिको ध्येयको रुपमा लिन आग्रह गर्दछु।

(लेखक भण्डारी सरकारी वकील तथा सिद्धनाथ उदयदेव मन्दिर पाटन, बैतडीका भण्डार संरक्षक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!