दलितको हातको पानी खाँदा गाउँबाट लखेटिए

मा प्रकाशित


बाजुरा ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–२ का जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् ।

सामाजिक परम्पराअनुसार दलितले छोएकाले कुनै चीज वस्तु खानु हुदैन भन्ने मान्यतालाई तोड्नका लागि एक दलितको हातको पानी खाँदा आफ्नो दम्पती र नातिनातिनी समेत गाउँबाट लखेटिएको बुढाले बताए ।

दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक रुपमा अलग्याएको दम्पतीले बताएका छन् । गाउँलेबाट लेखेटिएपछि बुढा दम्पती जंगलको नजिकै एक सानो छाप्रो बनाएर बस्दै आएका छन् ।

आफ्ना छोराले भेटेमा समेत उनीहरुलाई गाउँलेले कुटपिट गर्ने गरेको बुढाले बताए । गाउँमा गएको थाहा पाएमा गाउँलेले धम्की दिँदै गाउँमा नआऊ भन्दै लखेट्ने गरेका छन् । बुढाका दम्पतीले नातिनातिनीलाई आफैँसँग राखेर निजी विद्यालयमा पढाउने गरेका छन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले दम्पतीका परिवारलाई दुःख दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अहिलेको युगमा पनि कुसंस्कार गर्ने जो कोहीलाई छुट नभएकाले यसका बारेमा यथार्थ बुझेर कारबाही गर्ने मल्लको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मल्लले सोही वडाका वडा सदस्य वाचलाल बुढालाई गाउँमै यो समस्या मिलाएर दम्पतीलाई स–सम्मान गाउँको सामाजिक कार्यमा समावेश गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: