मेयरले आफ्नै घर नजिक स्वास्थ्य केन्द्र सार्ने निर्णय गरेपछि आन्दोलन

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

बैतडीको मेलौली नगरपालिकाका मेयरले आफ्नो घर नजिक स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सार्ने निर्णय गरेको भन्दै स्थानीयले मेयर कृष्णसिंह नायक बिरुद्ध नाराबाजी गर्दै नगरपालिकामा तालाबन्दी गरेर शुक्रवारदेखि आन्दोलन सुरु गरेका छन् ।

मेलौली नगरपालिका–७ स्थित केशरपुर प्राथमिक केन्द्रलाई मेयरले आफ्नो घर नजिक वडा नं. १ को बिनबठ्ठेमा मनपरी ढंगले सार्ने निर्णय गरेपछि मेलौलीका जनता आक्रोशमा आएको संघर्ष समितिका उपाध्यक्ष राजबहादुर चन्दले बताउनुभयो ।

“मेयरले हरेक काममा मनपरी निर्णय गर्दै आईरहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शैयाको अस्पताल निर्माण गर्न नेपाल सरकारको स्वीकृत कार्यक्रम आएको छ । जनताले १५ रोपनी जग्गा दान गरेर प्राविधिक सर्वेक्षण समेत भएको छ । तर, मेयरले स्वास्थ्यकेन्द्र आफ्नो घर नजिक सार्ने निर्णय गरे ।” स्थानीय शिक्षक एवं बुद्धिजिवी लोकराज भट्टले भन्नुभयो । मेयर कृष्णसिंह नायकबाट मैलौलीका जनता साह्रै पीडित बनेको भट्टले बताउनुभयो ।

केशपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ शैयाको अस्पताल बनाउने स्वीकृत कार्यक्रम आएपछि मेयरले आफ्नो घर नजिक अस्पताल सार्ने निर्णय गरेको भन्दै स्थानीयले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेर सडक समेत बन्द गरेको संघर्ष समितिले जानकारी दिएको छ । मेलौली नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा स्थानीयले तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् । उता मेयरले स्वास्थ्य केन्द्र सार्ने निर्णय गरेको ठाउँमा पनि स्थानीयले सात रोपनी जग्गा दान गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको बिवादसंगै मेलौली नगरपालिका स्थित मणिलेक बहुमुखी क्याम्पसका प्राध्यापकहरुले पनि २६ महिनादेखि तलब नपाएको भन्दै क्याम्पसमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका छन् । क्याम्पस बन्द हुँदा बिद्यार्थी मर्कामा परेका छन् ।

यो विषयमा मेलौली नगरपालिकाका मेयर कृष्णसिंह नायक सम्पर्कमा आउन चाहनु भएन । मेयर नायकले कार्यालयको नाममा रहेको मोबाईल फोन समेत स्वीच अफ गरेर सम्पर्कमा आउन चाहेन्न ।

जनतामाझ सुरु देखिनै विवादित बनेका मेयर कृष्णसिंह नायकका कारण मेलौली नगरपालिकाको शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा व्यापक अनियमितता भएको स्थानीययले गुनासो गरेका छन् ।

फोटो क्याप्सन: मेलौली नगरपालिकाका मेयर कृष्णसिंह नायकका बिरुद्धमा नाराबाजी गर्दै स्थानीय ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!