बैतडीका चार स्वास्थ्य संस्था किशोर किशोरी मैत्री

मा प्रकाशित


बैतडी ।

बैतडीका चारवटा स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री संस्थाका रुपमा स्थापित भएका छन् । जिल्लाका सिद्धेश्वर, भौनेली, शर्माली र कुवाकोट स्वास्थ्य चौकी किशोर किशोरी मैत्री संस्थाको रुपमा प्रमाणिकरण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

किशोर किशोरी मैत्री हुनका लागि चारवटै स्वास्थ्य संस्थाहरुले आवश्यक सबै सुचक र मापदण्ड पुरा गरेको स्वास्थ्य बिभागको परिवार स्वास्थ्य महाशाखाले प्रमाणिकरण गरेको हो ।

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका ९ ओटा राष्ट्रिय मापदण्डहरु रहेका छन् । त्यस्तै ८७ ओटा सूचकहरु पूरा गरेको आधारमा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्दै आएको छ ।

किशोरीकिशोरीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न अलग्गै कोठाको व्यवस्था, स्वास्थ्य व्यवस्थापन समितिमा किशोरकिशोरीहरुको सहभागिता, उनिहरुका लागि पाठ्य सामग्री उपलब्ध भएको लगायतका मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री मान्ने गरिएको संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिए)का कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री बनाउन युएनएफपिए, आडरा नेपाल लगायतका दातृ संस्थाहरुले समेत समहयोग गर्दै आएका छन् । चारवटै स्वास्थ्य संस्थाहरुमो अनुगमन पछि किशोर किशोरी मैत्री संस्थाको रुमपा प्रमाणिकरण गरिएको परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत अशेष रेग्मीले बताउनुभयो ।

उहाँ लगायत बैतडीका स्वास्थ्य प्रमुख डा.गुणराज अवस्थी, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी तथा स्थानीय जन प्रतिनिधीहरु र दातृ निकायका प्रतिनिधीहरुले समेत किशोरी किशोरी मैत्री स्वास्थ्य संस्थाहरुको प्रत्यक्ष अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा पछिल्लो चोटी अनुगमन गरिएका शर्माली स्वास्थ्य चौकीले सबै सुचक पुरा गरेर ९८.४१ अंक प्राप्त गरेको थियो भने कुवाँकोट स्वास्थ्य चौकीले ९६.८२ प्रतिशत अंक प्राप्त गरेको थियो ।

किशोेरकिशोरीहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि यस्तो अवधारणा ल्याइएको स्वास्थ्य विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!