स्थानीय तहको विकास योजना नातागोता र राजनीतिक निकटलाई

मा प्रकाशित


बैतडी ।

बैतडीका स्थानीय तहका जनप्रतिनिधिहरुले अधिकांश विकासे योजना आफ्ना नातागोता र राजनीतिक निकटलाई मनपरी बाँड्ने गरेको गुनासो बढेको छ ।

बाटो खन्ने, भवन बनाउने र अन्य विकासे योजना आफ्ना नातागोता र राजनीतिक निकटकालाई पोस्ने गरी बजेट दिएको सिगास गाउँपालिका–५ ढुगांडका मीनबहादुर चन्दले गुनासो गर्नुभयो ।

‘पाँच लाखको बाटो पाँच दिनमै सके, हेरिदिने कुनै निकाय भएन । आफन्त र कार्यकर्ता पोस्न पुरानै बाटो खोस्रेर पाँचलाख झ्वाम् पारे । सिचाईको नाममा ५० लाख सक्ने तयारी छ । नानीहरुलाई स्कुल जाने बाटो छैन,’ चन्दले भन्नुभयो ।
जिल्लाको दुर्गम सिगास गाउँपालिकाको स्थलगत निरीक्षण गरिदिन उहाँले सरोकारवाला निकाय र संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । ‘ धेरै भन्नु छैन । एक चोटी स्थलगत रुपमा हेरिदिनुस् । भिडियो नै खिचेर लैजानुस् र स्थानीय तहको काम सरकारलाई देखाईदिन विन्ती छ,’ चन्दले भन्नुभयो ।

ग्रामीण सडक सफा गर्न पनि आफ्नो राजनीतिक निकटका व्यक्तिलाई तोक आदेशको भरमा गाउँपालिकाले काम दिएको सिगास गाउँपालिका–१ का रघुवीर भट्टले गुनासो गर्नुभयो ।

स्थानीयको गुनासो बारे बुझ्दा सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सबैलाई दामासाहीले बाँड्ने भन्ने कहाँ लेख्या छ ? आवश्यकताका आधारमा योजना बाँडिएको छ, अनुगमन गर्न बाँकी छ । जत्ति काम भएको छ, त्यतीको मात्र मुल्यांकलन गर्ने बताउनुभयो ।

१० स्थानीय तह मध्ये चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडी जिल्लामा विकासे योजनाका नाममा स्थानीय तहले आफ्ना नातागोता र राजनीतिक निकटका व्यक्तिलाई बाँडेकोे व्यापक जनगुनासो आएकोले सरकारले तुरुन्त अनुगमन थाल्नु पर्ने नागरिक समाजका अगुवा करन दयाल सोराडीले माग गर्नुभयो ।

कार्यकर्तालाई तोक आदेशका भरमा तुरुन्तै लाखौ रुपियाँ बाँडिएको दशरथ चन्द नगरपालिकाका स्थानीय नागरिकले गुनासो गरेका छन् । ‘गरिब, विपन्नले उपचार गर्न अस्पताल जाने खर्च पाउँदैन तर, कार्यकर्ता र निकटको व्यक्तिलाई तुरुन्तै चेक काटेर सहयोग दिने गरिएको छ,’ स्थानीय सरस्वती नेपालीले भन्नुभयो ।

गाउँपालिकाका जनप्रतिनिधिहरु मनपरी ढंगले चलेको स्थानीय बुद्धिजिवी एवं शिक्षक चन्द्रमोहन तिवारी बताउनुहुन्छ । ‘ मनपरी ढंगले कुनै डिजाईन र स्टमेट बिनानै बाटो खनिरहेका छन् । विकास चाहिन्छ तर, नियमन गर्ने निकाय नहुँदा रकम दुरुपयोग हुने खतरा बढेको छ,’ उहाँले भन्नुभयो ।

जिल्लाका १० स्थानीय तहहरुमा आ. ब २०७४/०७५ को कुल बजेटबाट निकासा भएको दोश्रो चौमासिकको माघ मसान्तसम्मको खर्च विवरण स्थानीय तहले कोष लेखा नियन्त्रण कार्यालयमा बुझाएका छन् ।

१० वटै स्थानीय तहको कुल वार्षिक बजेट तीन अर्व १० करोड ६० लाख १६ हजार मध्ये माघ मासान्तसम्म स्थानीय तहले ८६ करोड ६५ लाख ५५ हजार नौसय २६ रुपियाँ खर्च गरेको कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख नरेशराज भट्टले जानकारी दिनुभयो ।

माघ मसान्तसम्म दशरथचन्द नगरपालिकाले दोश्रो चौमासिकमा निकासा भएको २५ करोड १२ लाख ६६ हजार मध्ये नौ करोड ६० लाख आठ हजार एकसय ३९ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट ३६ करोड ६८ लाख ९९ हजार रहेको छ ।

त्यसै गरी पुरचौडी नगरपालिकाले निकासा भएको २९ करोड ५२ लाख ६ हजार दुईसय ६६ मध्ये १० करोड १६ लाख ६ सय ५६ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट ४४ करोड २८ लाख ९९ हजार जेट रहेको छ । पाटन नगरपालिकाले निकासा भएको २४ करोड ७४ लाख २६ हजार मध्ये १२ करोड आठ लाख ११ हजार एकसय ८८ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट ३७ करोड ११ लाख ३९ हजार रहेको छ ।

मेलैली नगरपालिकाले निकासा भएको १९ करोड ९० लाख ४४ हजार ६ सय ६६ मध्ये ११ करोड २४ लाख ६ हजार सातसय ४४ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट २९ करोड ८५ लाख ६७ हजार रहेको छ । डिलासैनी गाउँपालिकाले निकासा भएको १९ करोड ७१ लाख ९४ हजार मध्ये ६ करोड ३७ लाख २१ हजार ६ सय ६६ खर्च गरेको छ । त्यहाँ वर्षिक २९ करोड ५७ लाख ९२ हजार बजेट रहेको छ ।

दोगडाकेदार गाउँपालिकामा २१ करोड एक लाख ८६ हजार निकासा भएको मध्ये १० करोड ९० लाख ४१ हजार सातसय ९७ रुपियाँ खर्च गरेको छ । त्यहाँको वर्षिक बजेट ३१ करोड ५२ लाख ७९ हजार रहेको छ । पञ्चेश्वर गाउँपालिकाले निकासा भएको १५ करोड ८४ लाख ७८ हजार ६६ रुपियाँ मध्ये आठ करोड ९७ लाख ४९ हजार आठसय ३६ रुपियाँ खर्च गरेको छ । त्यहाँको वार्षिक बजेट २३ करोड ७७ लाख तीन हजार रहेको छ ।

शिवनाथ गाउँपालिकामा निकासा भएको १३ करोड ८५ लाख ६१ हजार तीनसय ३३ रुपियाँ मध्ये दुई करोड २९ लाख ४५ हजार तीनसय ३७ हरुपियाँ खर्च गरेको छ । त्यहाँको बजेट २० करोड ७८ लाख ४२ हजार रहेको छ । सुर्नया गाउँपालिकाले निकासा भएको १७ करोड आठ लाख ९७ हजार तीनसय ३३ मध्ये सात करोड ३२ लाख ८५ हजार आठसय ६६ रुपियाँ खर्च गरेको छ । त्यहाँको वार्षिक बजेट २५ करोड ६३ लाख ४६ हजार छ ।

सिगास गाउँपालिकाले दोश्रो चौमासिकको निकासा भएको २० करोड २३ लाख ६७ हजार तीनसय ३३ रुपियाँ मध्ये ७ करोड ६९ लाख ९५ हजार दुईसय ५३ रुपियाँ खर्च गरेको छ । त्यहाँ वर्षिक बजेट ३० करोड ३५ लाख ५१ हजार रहेको छ । यो खबर गोकर्ण दयालले आजको गोरखापत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: