सेती जलाधार कार्यक्रममा करोडौं अनियमितता भएको आरोप

मा प्रकाशित


बैतडी ।

पर्वतीय जलाधारको जलवायु परिवर्तन समानुकुलन आयोजनाले जिल्ला भू–संरक्षण कार्यालयमार्फत संचालन गरिहेको सेती जलाधार कार्यक्रममा करोडौं रुपियाँ अनियमितता भएको स्थानीयले अरोप लगाएका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा बैतडीको सिगास गाउँपालिकामा संचालित साबिकका ६ वटा गाविसहरुमा जलवायु परिवर्तन रोक्न खानेपानीका मुहान संरक्षण, वृक्षारोपण, मौसमी फलफूलका बोट विरुवा वितरण, खोनेपानी, सिचाई पोखरी निर्माण गर्दा लक्ष भन्दा आधा काम पनि नगरेर करोडौं अनियमितता भएको स्थानीयले गुनासो गरेका हुन् ।

जिल्ला भू–संरक्षण कार्यालयले छनौट गरेका सामाजिक परिचालक र सुपरभाईजरहरु फिल्ड जाने भनेर भ्रमण आदेश लिएर गाउँमा नपुगी आधा बाटोबाटै फर्केर जाने गरेको, वृक्षारोपणका लागि आएका बोट विरुवा गाउँमा नपुर्याएको र निर्माणका लागि आएको सिमेन्ट लगायतका सामग्री व्यापारीलाई बेचेर खाएपछि सेती जलाधार कार्यक्रममा एशियाली विकास बैंकको लगानी बालुमा पानी भएको स्थानीयले गुनासो गरेका छन् ।

‘गाउँमा सेती जलाधार कार्यक्रमका कर्मचारी र निर्माण सामग्री पुगेन । योजनाहरु अधुरै छन् । करोडौको लगानी बालुवामा पानी भएपछि निर्वाचित जनप्रतिनिधिहरुले यसको बिरोध गरेका छौं,’ सिगास गाउँपालिका–६ थलाकाँडाका वडा अध्यक्ष डम्बरसिंह धामीले बताउनुभयो । गाउँमा विरुवा लगाउन खाल्डो खन्न लगाएर विरुवा नदिएको र मजदूरहरुले ज्याला पनि नपाएको उहाँले बताउनुभयो ।

सेती जलाधार कार्यक्रमले गाउँपालिकामा ठिक काम नगरेको भन्दै सिगास गाउँपालिकाको कार्यालयले पर्वतीय जलाधारको जलवायु परिवर्तन समानुकुलन आयोजनाको क्षेत्रीय कार्यालय डडेल्धुरा र जिल्ला भू–संरक्षण कार्यालयलाई पत्र लेखेर अनियमितता सच्याउनन भनिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

‘साविकको एउटा गाविसमा एक करोड भन्दा बढीका दरले खर्च गरेको पाईयो तर, काम भएको छैन । बरु जलाधारले हात हालेका पानीका कुवा सुकेका छन् । कुवामा सिमेन्ट भर्दा पानीको मुहान सुकेको छ । त्यसैले गाउँपालिकाले पत्राचार गरेको हो,’ सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले भन्नुभयो ।

कार्यक्रममा भएको अनियमितताका बारेमा बुझ्दा पर्वतीय जलाधारको जलवायु परिवर्तन समानुकुलन आयोजनाका क्षेत्रीय कार्यालय प्रमुख राजु सापकोटाले यो बारेमा काम भए नभएको जिल्ला भू–संरक्षण कार्यालय बैतडीमा सबै तथ्यांक रहेको बताउनुभयो ।

कार्यक्रमका बारेमा जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख अष्टभुजानन्द उपाध्यायले आफु काम विशेषले बाहिर जिल्लामा रहेकोले कहाँ कति योजना बने, कति बजेट खर्च भयो भन्ने कुरा ठ्याक्कै भन्न नसक्ने बताउनुभयो ।

जलाधार कार्यक्रमका लागि आएका करोडौं रुपियाँका बोट विरुवा सबै सुकेका आए, खानेपानी बनेन, मौसमी तथा बेमौसमी फलफुलका सुकेका बोट बाँडेको, कर्मचारी फिल्डमा नगएको जनगुनासो छ नि ? भन्ने प्रश्न गर्दा भू–संरक्षण कार्यालयका प्रमुख अष्टभुजानन्द उपाध्यायले स्थानीय गाउँलेहरुले बोट विरुवाको हेर चाह नगर्दा सुकेको बताउनुभयो ।

सोचे अनुसार कार्यक्रम सफल हुन नसकेको स्वीकार गर्दै जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख उपाध्यायले गाउँमा गठन भएका सामुदायिक विकास समिति र स्थानीय उपभोक्ताहरुको पनि कमजोरी रहेको बताउनुभयो ।

‘कार्यक्रमबाट दाता पनि सन्तुष्ट नभएकोले सायद अब कार्यक्रमको म्याद थपिदैन होला । दुई वर्ष काम गर्दा राम्रो नतिजा आउनन सकेन,’ उपाध्यायले भन्नुभयो ।

फोटो क्याप्सन: सेती जलाधार कार्यक्रमले सिगास गाउँपालिकामा बाँडेको सुकेको विरुवा ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!