सात नं प्रदेशको संम्बृद्धिको सपना

मा प्रकाशित


चमेलिया नदीको बालुवामा सुन भेटिएपछि २४ वर्षअघि जिल्ला विकास समिति बैतडीको जिल्ला परिषद्ले सुन र युरेनियम खोजी गर्ने निर्णय गर्यो । सरकारलाई सुन खोज्न आग्रह गर्दै पत्र पनि पठायो तर, अहिलेसम्म न सुन खोजियो न त युरेनियम । सुन बग्ने देशमा हामीले संम्बृद्धिका सपना मात्रै देख्यौं, काम गर्न सकेनौं । सुन खोज्ने कुरा कागजमै सिमित भएको माथिको सुन खोज्ने निर्णयले देखाउँछ ।

देशमा संविधान जारी भएर संघीयता कार्यान्वयनमा आएको छ । स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशमा जनताले आफ्ना जनप्रतिनिधिहरु चुनेका छन् । अबको बाटो शान्ति, स्थिर सरकार र दीगो विकासका लागि जनताले संवृद्धिको चाहना राखेका छन् । राज्यको मूलधारबाट पछिपरेको सुदूरपश्चिममा विकासको द्रूत अपेक्षा गरिएको छ । पञ्चेश्वर परियोजना, पश्चिम सेती जलबिद्युत लगायत राष्ट्रलाई सम्बृद्ध बनाउने ठूला आयोजना काखी च्यापेर उभिएको सात नंं प्रदेश (सुदूरपश्चि) का बारे केही चर्चा गरौं ।

गोकर्ण दयाल

नेपालको सुदूर पश्चिम क्षेत्र, प्रदेश नंं ७ मा परेको छ । यहाँ करिब ३० लाख मान्छेको बसोवास छ । संघीयतापछि नागरिकका आधारभूत आवश्यकता र अपेक्षा पूरा हुने चाहना सबैले राखेका छन् । संम्बृद्ध सुदूरका बारेमा तमाम संभावनाका ढोका खुल्न बाँकी नै छ ।
खानी, जलबिद्युत, जडिबुटीका दृष्टकोणले प्रचुर संभावना बोकेको भरपूर प्रदेश हो ७ नंं । समुद्री सतहबाट करिब तीनहजार उचाईमा रहेको बैतडीको सिगास धुरादेखि ग्वाल्लेक धुरा प्राकृतिक र धार्मीक हिसाबले ऐतिहासिक महत्वका स्थल हुन् । सुगन्धवाल, पाँचऔले, रक्त चन्दन र सेतो चन्दन लगायत यहाँ ४० भन्दा बढी प्रकारका जडीबुटी रहेका छन् ।

सरकारले यो क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि सारेको छ । समथर खप्तड पाटन, चुरे क्षेत्र, शुक्लाफाँटा, घोडाघोडी ताल, अपी सैपाल,कैलाश मानसरोवर मार्ग, त्रीदेशीय नाका सुदूर पश्चिमका संभावना हुन् ।

प्रकृितको सुनौलो काख आफैमा अनुपम् बरदान भए पनि सुदूरको खप्तड, बडीमालिका, रामारोशन, उग्रतारा, त्रिपुरा सुन्दरी, जगन्नाथ, ग्वाल्लेकधाम र सिगासधाम धार्मीक आस्थाका रुपमा पवित्र धाम मात्र नभएर रोमाञ्चित स्थल हुन् । नेपालकै लामो गुफा र स्थिर तलाउका रुपमा बैतडीको पात्ताल भूमेश्वर अर्को आकर्षण हो । दुई वर्षअघि फ्रान्सका गुफा विशेषज्ञ मेरिश दुसेनले यो गुफाको एकसय ६५ मिटरको अध्ययन गरेर संसारकै लामो र गहिरो गुफा हुनसक्ने प्रारम्भीक अनुमान गरेका छन् ।

करिब ३० लाख मान्छेको बसोवास रहेको प्रदेश नंं ७ को मानव जीवन प्रकृतिको काखमा रमाएर धर्म, विज्ञान, कला संस्कृति,रितीरिवाज र अनेकन मानव जातिका वीरताका कथा सिरानीमा लुकाएर संवृद्धिको सपना देखिरहेको छ । मानव जातिको स्वतन्त्रता, देशको रक्षा र प्रजातन्त्रका लागि बलीदानी गर्नेमा सुदूरपश्चिम अग्रस्थानमा रहेको कुरा सहिद दशरथ चन्दले पुष्टि गरिसकेका छन् । त्यसयताका सबै लोकतान्त्रिक आन्दोलनमा सयौं वीर सपुतहरुले मुक्ति र परिवर्तनका लागि रगत बगाएका छन् । तर, राजनीतिक र प्रशासनिक क्षेत्रमा यो क्षेत्रले आफ्नो पहिचान कायम गर्न सके पनि सामाजिक, आर्थिक र भौतिक विकासमा काँचुली फेर्न सकेको छैन ।

अस्थिर राजनीतिका कारण यहाँ रोजगारी सिर्जना हुन सकेको छैन । श्रमको सम्मान र स्थानीय उत्पादीत वस्तुको बजार नहुँदा थुप्रै युवाहरुले विदेशमा श्रम बेच्नु परेको छ । कला संस्कृति र मानव सभ्यता झल्कने थुप्रै सांस्कृतिक र ऐतिहासिक तथ्यहरु ओझेलमा छन् । पाण्डवकालीन कथामा आधारित बैतडीको पञ्चदेवल होस् कि शिव पार्वती पाताल लोक गएको पात्ताल भूमेश्वर गुफा , जगन्नाथ मन्दिर, त्रिपुरा सुन्दरी, मेलौली भगवति, डिलासैनी, केदार मन्दिर र खपरे दैत्यका कथा धार्मीक पर्यटकीय क्षेत्र हुन् ।

पुरातात्तिक महत्वका देवस्थल र अन्य धार्मीक क्षेत्रमा प्रयोग भएको श्रम शैलीमा हाम्रा पुर्खाहरुको कौशल देख्न सकिन्छ । मन्दिरका टुँडालमा भगवान मात्र देख्ने होईन, अब त्यो श्रम, सीप र कौशल जीवन पद्धतिका रुपमा रुपान्तिरित हुनुपर्छ । संम्बृद्धिको सपना बोक्ने ७ नं. प्रदेशका नागरिकले शिक्षा, स्वास्थ्य, रोजगार र विभेदमुक्त स्वाबलम्भी समाज चाहेका छन् ।

हामीलाई जसले यहाँसम्म डोर्याएको छ, ती महा–मानव हाम्रा पुर्खाले छोडेका स्वदेशी श्रम शैली, मौलिक पहिचान आज विश्व अर्थतन्त्र सित प्रतिस्पर्धा गर्न नसकेर मुन्टो निहुराएर बसेको छ । ५० वर्षअघि आत्मनिर्भर रहेको हाम्रो समाज आज परनिर्भर बनेको छ । हाम्रा घरेलु कारखानामै उत्पादित वस्तु ईतिहास बन्न पुगेको छ । बैतडीमै रहेको फलाम खानी बन्द छ । आरनहरु बन्द छन् । पानी घट्ट, खेत खलियाना बन्जर बनेका छन् । निंगालो र बाँसको झ्याङ सुकेको छ ।

मोट्टा (भुँईमा ओछ्याउने मान्द्रो जस्तै चिल्लो र नरम कार्पेट) डोको, डालो, मुडा, पिर्का र चकटीहरु बन्न छोडेका छन् । किन की बजार छैन, र घरेलु सामग्री प्रयोगमा श्रद्धा जाग्न सकेको छैन । जो, समाजको पिंधमा छ, श्रम र कौशलको धनी छ ऊसमाथि गहिरो विभेद छ । त्यसैले यी पेशा र कर्म गर्ने युवाहरु विदेसीन बाध्य छन् । एउटा युवकलाई देशमा रहुँज्नेल आरनलाई अछूत मान्न लगाईएको छ तर, त्यही युवक विदेशमा कुन अवस्थाको काम गर्न वाध्य छ ? यो संस्कारिक त्रुटीले स्वदेशमा असमानताको खाडल कोरेको छ । यो मेटिनु पर्छ ।

गाउँमा युवा खोज्नु र मरुभूमिमा हरियो रुख खोज्नु उस्तै भएको छ । खेती योग्य जमिनमा लाग्ने कुलो भत्केको छ । पशुपालन घटेको छ । सुदूरपश्चिममा उत्पादित घ्युले बुवा ,बाजेकको पालामा अन्तराष्ट्रिय बजार लिएको थियो । एकै घरबाट वर्षमा सय,दुईसय किलो घ्यु बेचिन्थ्यो । त्यो ईतिहास भएको छ । खेतीपातीमा खास गरि मकैं र दलहनमा यहाँ कुनै विषादि प्रयोग हुँदैन । शुद्ध प्राकृतिक (आर्गनिक) खेती हुन्छ । मकैमा आत्मनिर्भर जिल्ला अहिले मकैको बिऊ समेत आयात गर्नु पर्ने अवस्था सिर्जना भएको छ । वन जंगल नास हुँदै गईरहेको छ ।

जल जंगल र जडिबुटीको खानी भएर पनि युवाहरुले विदेशमा जवानी बेच्नु परेको छ । छाँगो रोकेर पानी घट्ट चलाउने पुर्खाका पालमा जुन सन्तुष्टि र सन्तोषको संगीत गुन्जथ्यो त्यो संगीत हराएको छ । हाम्रा पुर्खा ढुंगा ठोसेर आगो निकाल्थे । देश जोगाउन, जीवन बचाउन धातु पगाल्थे । र त एउटा रशरंग थियो । अहिलेको जस्तो निरश र फुंग अवस्था थिएन । हाम्रो आफ्नै कला,शैली र प्रकृति बुझ्ने कौशल थियो ।

सुदूरका गाउँघरमा हुने देउडा, फाग, सगुन, भडाहा, भलौलो, चैत, धुमारी र छलिया नाच बुवा बाजेमै सिमित रहेको छ । पुर्खाले अपनाएको सूचना, प्रविधि, ज्ञान, विवेक र संस्कृति हराउँदै गईरहेको छ । गाउँमा बसेर जीवन निर्वाह गरिरहेकाहरुलाई केही गर्न नसक्ने भन्न थालिएको छ । यसरी कतिदिन चल्छ ? हामी कहिलेसम्म नीरिह भएर बस्ने ?

एक चोटी हाम्रो श्रम, सीप, कला र संस्कृतिका ती अमुल्य यन्त्रहरु उचाल्नै पर्ने भएको छ । हाम्रो नेपाल–सभ्यता ( मानव सभ्यता) जगाउनु पर्ने भएको छ । स्वदेशमा सबथोक छ । आगो निभेको छैन , खरानी भित्रको कोईला फुँक्नु मात्र छ, र संवृद्धिको दियो जलाउनु छ । यसको सुरुवात श्रम, सीप, कलाको सम्मानबाट सुरु गर्न सकिन्छ ।

जनताले संघ र प्रदेशमा प्रतिनिधि चुनेका छन् । निर्वाचित जनप्रतिनिधिहरुले जनतासामु वाचा गरेका कुरा चुनावी बाँचामा सिमित नहुन् । संरक्षित क्षेत्रका रुपमा अघि बढेको बैतडीको सिगास संरक्षित क्षेत्र, ग्वाल्लेक संरक्षित क्षेत्रमा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्नुपर्छ । जडिबुटी निर्यातको मापदण्ड बनाएर मात्र निर्यात गर्ने वातावरण मिलाउनुपर्छ । जडिबुटी, काठ र सल्लाको खोटोको अनियन्त्रित दोहन रोक्नुपर्छ ।

बैतडीको पुरचौडीमा रहेको फलाम खानी संचालनमा ल्याउनुपर्छ । बैतडीको धर्मघर क्षेत्रमा अध्ययन गरिएको सिमेन्ट कारखाना, पुरचौडीमा रहेको फलाम खानी, पञ्चेश्वर, पश्चिमसेती जलबिद्युत परियोजना संचालन गर्नुपर्छ । विदेशमा श्रम बेचीरहेका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ ।

शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्ततालाई नियन्त्रण गरि गुणस्तरीय व्यवसायिक शिक्षा हुनुपर्छ । स्वास्थ्य संस्थामा व्यापक सुधार हुनुपर्छ । अभाव र गरिबीमा बाँचेको समाजका मान्छेहरुलाई दिँईदै आइएको चेतनाका कार्यक्रम तोकिएको दरबन्दीमा नबस्ने डाक्टरलाई दिनुपर्छ । एक गास खान नपाउने गरिबलाई हातधुन सिकाउने तालिमको रकम दुर्गममा बस्ने डाक्टरलाई भत्ताका रुपमा दिन दिनुपर्छ ।

उच्च शिक्षा पढेर स्कुलमा खेताला शिक्षक राख्ने र घरमा हलिया राख्ने शिक्षकलाई एनजीओहरुले चेतना र कर्तव्यको तालिम दिनुपर्छ । डाक्टरको काम के हो ? सेवालाई व्यापार बनाउन मिल्छ ? शिक्षकको काम के हो ? पेशालाई राजनतिकण गर्न पाईन्छ ? यी प्रश्नहरुको उत्तर खोज्नु पर्छ ।

हलिया, खलिया र श्रमजिवी वर्गमाथिको विभेद अन्त्यका लागि रणनीतिक योजना बनाउनुपर्छ । दलित समुदायसित जोडिएका श्रमलाई विभेदमुक्त बनाएर आर्थिक संम्बृद्धिको मार्ग बनाउनुपर्छ । भूमिको उचित व्यवस्थापन, हदबन्दी, जग्गा बाँझो राख्न नपाईने र एकीकृत वस्ती निर्माणमा अबको केन्द्र र प्रदेश सरकाले देखिने गरि काम गर्नुपर्छ ।

जो स्वदेशमा मेहनत गर्छ, कृषि उत्पादनमा लागेको छ ऊसको जीवन बिचौलीया र दलाल पूँजीपतिको नियन्त्रणमा छ । पूँजीपति वर्गको श्रम र उत्पादनमाथिको नियन्त्रण हटाउन राज्यले अग्रसरता लिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!