विश्वकप छनौट: हङकङसँगको खेल नेपालका लागि ‘निर्णायक’

मा प्रकाशित


काठमाडौं ।

विश्वकप छनोट क्रिकेटबाट बनाएको वान–डे लक्ष्यसम्म पुग्न नेपालका लागि आगामी दुई खेल निकै निर्णायक रहेको छ । हङकङसँग सोमबार हुने खेलले अझै यसको स्पष्ट निक्र्यौल गर्नेछ । हङकङका चुनौती पन्छाउन सकेमा मात्र नेपालसँग आफ्नो गन्तव्य पुग्ने सम्भावना रहन सक्छ ।

नेपाल शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो । विश्वकप छनोट जस्तो प्रतियोगिता नेपाललाई निकै कठिन भइरहेको यो पहिलो भने होइन । २०१४ मा न्युजिल्यान्डमा भएको पछिल्लो विश्वकप छनोटमा पनि नेपाल समूह चरणको सबै ४ खेलमा पराजित भई विश्व क्रिकेट लिग डिभिजन ३ मा झरेको थियो । इतिहास दोहोरिएमा नेपाल पुन: डिभिजन २ मा झर्न सक्छ । नेपालले गत महिना मात्र नामिबियामा डिभिजन २ को फाइनल पुग्दै विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाएको हो ।

गत वर्षको विश्वकप छनोटमै देखाएको प्रदर्शनका आधारमा अहिले हङकङसँग वान–डे अन्तर्राष्ट्रिय मान्यता छ । अहिलेको विश्वकप छनोट पनि एसोसिएट राष्ट्रका लागि त्यही वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउने आधार रहेको छ । नेपालले त्यही आधार समाउन खोजिरहेको छ । अन्यथा आगामी चार वर्ष नेपाल फेरि विश्व क्रिकेट लिगको डिभिजन क्रिकेटमा अल्झिरहनुपर्ने हुन्छ । यो खबर कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यताको सम्भावना

१. नेपालले हङकङलाई ठूलो अन्तरमा हराउने र अफगानिस्तानभन्दा माथि रहँदै प्ले–अफमा जाने । यस्तोमा नेपालले पहिले ब्याटिङ गरेमा हङकङलाई २ सयभन्दा बढी रन अन्तरमा हराएमा मात्र प्ले–अफमा जान सक्छ । प्ले–अफमा पुगेमा नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यता निश्चित हुनेछ ।

२. नेपालले सोमबारको खेलमा जित हात पारेमा हङकङभन्दा माथि रहनेछ र अफगानिस्तान तेस्रो टोलीका रूपमा समूह ‘बी’ बाट सुपर सिक्समा पुग्नेछ । यस्तोमा नेपाल र हङकङ प्ले–अफमा झर्नेछन् । प्ले–अफमा हङकङ र पपुवा न्युगिनीभन्दा माथि रहेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँछ ।

३. हङकङसँग पराजित भएमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन र डिभिजन २ मा झर्नबाट रोकिन समूह ‘ए’ को नतिजा कुर्नुपर्छ । समूह ‘ए’ को सोमबार हुने अन्तिम दिनको खेलमा नेदरल्यान्ड्सले वेस्ट–इन्डिजलाई र आयरल्यान्डले यूएईलाई ठूलो अन्तरमा पराजित गरेमा यूएई पनि प्ले–अफमा झर्नेछ । प्ले–अफमा यूएई र पपुवा न्युगिनीभन्दा माथि रहेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: