विदेशबाट आएको पैशा उत्पादनमुलक बनाउन सहकारीलाई जागरुक बनाईने

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाले गाउँमै आईएमई सुबिधा प्रदान गरेपछि यो वर्षको भदौदेखि फागुनसम्म विदेशबाट ४० लाख रुपियाँ भित्रियो । तर, विदेशबाट आउने यस्तो विप्रेषणको ७९ प्रतिशत उपभोगमै खर्च हुने गरेको सहकारीका व्यवस्थापक रामबादुर महराले अनुभव सुनाउनुभयो ।

रोजगारी गर्न भारत लगायतका देशमा जाने युवाहरुले कमाएको पैशा बाटोमै लुटिन नपाए पनि गाउँमा सुरक्षित तरिकाले आएको पैशा आयातित वस्तु उपभोगमा खर्च हुन थालेपछि बैतडीका सहकारीहरुले विप्रेषणलाई उत्पादनमुलक बनाउन अन्तरक्रिया सुरु गरेका छन् ।

शुक्रवार बैतडीका तीन वटा र दार्चुलाको एउटा सहकारीलाई अक्सफाम–रुडेसले बैतडी सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहकारीका व्यवस्थापकहरुले विप्रेषणलाई उत्पादनमुलक बनाउन बहस सुरु गरेका छन् ।

कार्यक्रममा सशक्तिकरण तथा विकास केन्द्र काठमाण्डौंका कार्यकारी निर्देशक एवं अर्थसास्त्री डा. नरहरी ढकालले वित्तीय उत्पादनका संभावनाका बारेमा आफ्ना भनाई राख्दै आफु २० वर्ष पहिले बैतडी पुगेर सहकारी दर्ता गर्न आउँदाको क्षण स्मरण गर्नुभयो ।

‘त्यो बेला सहकारी खोलौं, नागरिकता ल्याउनुस् भन्दा मान्छे डराउँथे । स्थानीयलाई भत्ता दिएर बैतडीबाट सहकारी दर्ता गर्न कञ्चनपुर लगेका थियौं । आज ती सहकारीहरुमा लाखौ रुपियाँ बचत भएको छ,’ डा. ढकालले भन्नुभयो । तर, सहकारीहरुले अझै थुप्रैकाम गर्न बाँकी रहेको भन्दै डा. ढकालले बाटो पुग्नु, सडक पिच हुनु र गाडी गुड्नु मात्रै विकास होईन, त्यो सडकमा गुड्ने गाडीमा बैतडीको उत्पादन दौडिनुपर्छ र त्यसको सुरुवात सहकारीहरुले गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था, उदयदेव बचत तथा ऋण सहकारी संस्था, निङ्लासैनी बचत तथा ऋण सहकरी संस्था र दार्चुलाको चन्द्रोदयश ऋण सहकारी संस्थाका व्यवस्थापक र स्थानीय तहका नगर तथा गाउँपालिकाका प्रमुख÷उपप्रमुखको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि सहकारीका प्रतिनिधिहरुलाई प्रभु मेनेजमेन्टले वित्तीय साक्षरता र सहकारीमार्फत आएको विप्रेषणलाई बचत गरेर कसरी उत्पादनमुलक बनाउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईएको थियो ।

जिल्लामा सक्रिय रहेका सहरकारी संस्थाहरुरले बचत कर्ता शेयर सदस्यहरुलाई विदेशबाट आएको पैशालाई उत्पादनमुलक बनाउन मौसमी तथा वेमौसमी तरकारी खेती गर्न टनेल हाउस प्रदान गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो ।

फोटो क्याप्सन: सहकारीका पदाधिकारीहरु अन्तरक्रिया गर्दै । 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: