वन मन्त्रीको गाउँमा बाँदर आतंक

मा प्रकाशित


बैतडी ।

प्रदेश नंं. ७ का वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्टको गाउँमा सयौंको संख्यामा बाँदरको फौजले अन्नबाली र घरमा पकाएको खानासमेत छिन्न थालेपछि गाउँलेहरुले गुलेली, लाठी र माईकिङ गर्दै शनिवार बिहान दुईसय जनाको सामुहिक जुलुस निकालेका छन् ।

वन मन्त्री रहनु भएका माया भट्टको गाउँ दशरथचन्द नगरपालिका ४, ५ र ८ नंं वडाका दुईसय जना जम्मा भएर बाँदर धपाउन सामुहिक रुपमा गुलेलीसहित माईकबाट बाघको आवाज निकालेर गाउँगाउँमा जुलुस निकालेका हुन् । भारतले ट्रकमा ल्याएर महाकालीमा छोडिएका सयौं बाँदरले नगरपालिका क्षेत्रका गाउँमा अन्नबाली, सागपात र घरभित्रै पसेर आतंक मच्चाउन थालेपछि गाउँलेहरुले यस्तो निर्णय गरेका हुन् ।

बाँदरका कारण गाउँलेहरुले अन्नबाली र सागपात लगाउन छोडेका छन् । हुँदाहुँदा बाँदरले घरभित्रै पसेर पाकेको खानासमेत छिनेर लैजान थालेपछि गाउँलेहरु भेला भएर लाडी, गुलेली र टिन ठटाएर माईकिङ गर्दै बाघको आवाज निकाल्ने निर्णय गरेको स्थानीय भुवनबहादुर चन्दले बताउनुभयो ।

नगरपालिकासित पटक पटक बाँदर नियन्त्रणका लागि माग गरे पनि कुनै उपाय निकाल्न नसकेपछि गाउँलेहरुले बाघको आवाज निकालेर सामुहिक रुपमा बाँदर धपाउने निर्णय गरेका हौ । बाँदर धपाउन मासिक र साप्ताहिक रुपमा जुलुस निकाल्ने उपाय सोचेका हौ,’ चन्दले भन्नुभयो ।

बाँदर आतंक सम्बन्धि प्रदेश ७ का वन मन्त्री माया भट्टलाई तपाईको गाउँमा त बाँदरले आतंक मच्चायो, कसरी नियन्त्रण गर्नुहुन्छ ? भन्ने प्रश्न गर्दा मन्त्री माया भट्टले बैतडीमा बाघ, भालु र बाँदरले आतंक मच्चाएको छ । यसका लागि वन ऐन अनुसार जनावरको संरक्षण र नियन्त्रण गर्न ऐन कानुन अनुसार काम हुने बताउनुभयो । किसानले पनि बाली बिमा गरे त्यसको क्षतिपूर्ति पाउन सजिलो हने मन्त्री भट्टले बताउनुभयो ।

स्थानीयबासीले वडा कार्यालयमा बाँदर नियन्त्रणका लागि माग गरेपछि वडाबाट डेढ लाख रुपियाँ बजेट बिनियोजित गरेको दशरथचन्द नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष नारायणदत्त भट्टले बताउनुभयो ।

जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा भारतको हरिद्वारबाट आएका बाँदरले आतंक मच्चाउने गरेको वडा अध्यक्ष भट्टले बताउनुभयो । भारतले बाँदरलाई ट्रकमा ल्याएर महाकाली नदीमा छोडेपछि सदरमुकाम आसपासमा बाँदरको आतंक बढेको स्थानीयबासीको भनाई छ ।

स्थानीय तहको चुनावमा गाउँलेहरुले बाँदर नियन्त्रण गर्ने योजना ल्याउनेलाई मात्र भोट दिने बताएका थिए । चुनाव जित्न सबैले बाँदर धपाउने योजना ल्याउने प्रतिबद्धता गरे पनि चुनावपछि जनप्रतिनिधिले ठोस योजना ल्याउन नसकेको स्थानीको गुनासो छ ।

गत पाँच बर्षयता बैतडी सदरमुकाममा बाँदर आतंक फैलिएको दशरथचन्द नगरपालिका ५ की संगीता मौनीले बताउनुभयो । बाँदरका फौंजले बालीनाली नष्ट गर्न थालेपछि कतिपयले बालीसमेत लगाउन छोडेका छन । ‘बाली लगाएर के गर्नु ? मिहनेत गरेको सबै बाँदरको हातमा जान्छ,’ मौनीले भन्नुभयो ।

बाँदरले बारीमा छरेको सबै गहुँ उखखेलेर खाएको स्थानीयबासीले बताएका छन् । ‘पहिला पहिला हाम्रो ठाउँमा बाँदरको यस्तो आतंक थिएन् । भारतले महाकाली नदीमा बाँदर छोडेपछि पारीका बाँदर वारी आए । त्यो बेलादेखि हामीले बाँदरको आतंक सहनुपरेको छ ’ दशरथचन्द नगरपालिका ५ का वडा अध्यक्ष नारायणप्रसाद भट्टले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!