प्रधानमन्त्री ओली २३ गते भारत जाने

मा प्रकाशित


काठमाडौँ ।
पहिलो विदेश भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भ्रमणको तालिका सार्वजनिक गरेको हो।

दोस्रो पटक प्रधानमन्त्री भएपछि हुन लागेको भारत भ्रमण उनको पहिलो विदेश भ्रमण हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन्।

शुक्रवार नै भारतीय विदेश मन्त्रालयले पनि भ्रमण तालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्री अोलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बंकैया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै भारतका केही मन्त्रीहरूले समेत प्रधानमन्त्री ओलीसँग भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, नेपाल सरकारका केही मन्त्री, प्रधानमन्त्री कार्यालयका अधिकारीहरू, प्रधानमन्त्री सचिवालयका केही सदस्यहरू समेत रहने छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली उत्तराखण्डसमेत पुग्ने कार्यक्रम तय भएको छ। गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन्।

प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!