प्रदेश ७ को मस्यौदा नियमावली सर्वसम्मत पारित

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

समिति गठन भएको पाँच दिनमै प्रदेश ७ को नियमावली मस्यौदा सर्वसम्मत पारित भएको छ । शनिवार बसेको ७ नंं प्रदेको प्रदेशसभाको छैटौं बैठकमा नियमावली समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य लीराधर भट्टले पेश गर्नुभएको थियो ।

पास भएको नियमावलीमा २६ वटा परिच्छेद, २२१ वटा नियम, ७ वटा अनुसूची रहेका छन् । ५२ पेजको उक्त नियमावलीले पाँच वर्ष संसद चलाउने छ । नियमावली बनाउने कुरा नौलो भएकाले केन्द्रीय संसद, कानुन विज्ञ, प्रदेशका सभासदहरु र पूर्व केन्द्रीय माननीयहरुको र अन्य देशको अनुभव समेत समेटेर नियमावली पारित भएको समितिका अध्यक्ष लीलाधर भट्टले बताउनुभयो ।

नियमावलीमा मुख्यतः सभामुख, उपसभामुखको भूमिका चयन, मन्त्री, प्रमुख सचेतक, समितिहरु, संसद सचिवालय, दलका नेता, संसदका विधेयक पेश गर्ने तरिका, मन्त्री मण्डलको चयन, अविश्वासको प्रस्ताव, विश्वासको प्रस्ताव र सार्वजनिक महत्वका ऐन कानुन पारित गर्ने विधि र प्रक्रिया, संसदको आह्वान र अन्त्य गर्ने कुरा समेटिएका छन् ।

पारित नियमावली अनुसार विधान तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सार्वजनिक विकास समिति गरेर चार वटा मुख्य समिति गठन हुनेछन् । उक्त समितिहरुले सरकारको कामकाज सहज बनाउने, सरकारको काम अनुगमन गर्ने, विभिन्न विधेयक माथि दफवार छलफल गर्ने,प्राकृतिक श्रोत साधनको उपयोग र गुरुयोजना तयार गर्ने, भूमि उपयोग नीति जस्ता कानुन निर्माणका लागि छुट्ट छुट्टै चार वटा समितिहरु गठन हुने छन् ।

उक्त समितिहरुमा अध्यक्षात्मक प्रणाली रहने नियमावली मस्यौदा समितिका अध्यक्ष लीलाधर भट्टले बताउनुभयो ।

त्यसै गरी नियमावलीमा ११ सदस्ययि विशेषाधिकार समिति गठन गर्न सकिने छ । यस्तो विशेषधिकार समिति संविधानको धारा १८७ मा उल्लेख विशेषाधिकार हनन भएको ठानेमा त्यस्तो समिति गठन गर्न सकिने नियमावली मस्यौदा समितिका अध्यक्ष लीलाधर भट्टले बताउनुभयो ।

मस्यौदा नियमावलीले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार, मन्त्रीको ध्यानाकर्षण र सदनमा अनिवार्य उपस्थिति हुनु पर्ने व्यवस्था गरेको छ ।

मस्यौदा नियमावली सर्वसम्मत पारित भएपछि प्रदेश सरकार संचालन गर्न र आवश्यक विधेयक प्रस्तुत गर्न बाटो खुलेको छ । यही फागुन २० गते गठन भएको नियमावली मस्यौदा समितिले पाँच दिनभित्रै नियमावली तयार गरेर सर्वसम्मत पारित भएपछि प्रदेश सरकारले गति पाउने भएको छ ।

मस्यौदा नियमावली समितिमा प्रदेशसभा सदस्यहरु लीलाधर भट्ट, पूर्णा जोशी, टेक बहादुर रैका औजी, महेशदत्त जोशी र कृष्ण बहादुर चौधरी चयन हुनुभएको थियो । चयन भएका पाँच जना सदस्यहरुले समितिको अध्यक्षमा लीलाधर भट्टलाई सर्वसम्मत चुनेको थियो ।

छोटो समयमै समितिले मस्यौदा नियमावली तयार गरेर सर्व सम्मत पारित भएकोमा समितिमा अध्यक्ष एवं प्रदेशसभा सदस्य लीलाधर भट्टले खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!