नेपाली क्रिकेटको ऐतिहासिक सफलता, एकदिवसीय मान्यता प्राप्त

मा प्रकाशित


काठमाडौँ ।
नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता नेपालले बिहीबार प्राप्त गरेको हो।

विश्वकपका लागि छनौट हुन नसके पनि आजको खेलमा पपुवा न्यु गिनीलाई फराकिलो अंतरले हराउँदै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ४ बर्षको लागि अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने भने निश्चित भएको छ । यसको लागि नेपालको जीत-हारको गणितीय सम्भावनामा आफ्नो जितमा मात्र भने निर्भर थिएन । बरु आज नै भएको अर्को खेलमा हंगकंगले नेदरल्याण्डसंग हार्नु पर्थ्यो र भयो पनि त्यस्तो नै । नेदरल्याण्डले हंगकंगलाई पराजित गरिदिँदा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने निश्चित भयो ।

नेदरल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको एक सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले एक सय ३० रनमै सम्पूर्ण विकेट गुमाएसँगै नेपाल एकदिवसीय मान्यता पाउने राष्ट्र हुने सम्भावना निश्चिततामा परिणत भएको हो ।

यस अघि सन् २०१४ को टि-२० विश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। सन् १९९६ मा आईसीसी एसोसीएट राष्ट्रको मान्यता पाएको नेपालले एकदिवसीय मान्यता पाउन २२ वर्ष कुर्नु परेको हो ।

प्लेअफमा नेदरल्याण्डसंग हंगकंग पराजित भएपछि नेदरल्याण्ड र नेपालले अब सातौँ र आठौ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । सातौँ स्थानको लागि मार्च १७ तारिकमा हुने खेल अगावै नेपाल एकदिवसीय राष्ट्र हुने पक्का भएको छ । हारसँगै हंगकंग र पपुवा न्यु गिनी डिभिजन-२ मा घटुवा हुने निश्चित भएको छ जो नवौं र दशौं स्थानको लागि खेल्नेछन् ।

विश्वकप छनौट प्रतियोगितामा नेपालले समुह चरणमा जिम्बाब्वे, स्कटल्याण्ड र अफगानिस्तानसँग पराजय बेहोरेपछि सुपर-सिक्स चरण पुग्न असफल भएको थियो तर अन्तिम खेलमा हंगकंगलाई पराजित गरेपछि समुह ‘बी’ को चौथो स्थान हाँसिल गरेको थियो।

नेपाली क्रिकेटका लागि एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हो । यसले अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा टिमलाई छुट्याउने बजेट बढ्न जानेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा तथा नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!