काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएको बताएका छन् ।
काठमाडौँमा आज अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताएका हुन् । अबको क्रान्तिको आधार समृद्धि र विकास हुने भएकाले सोही दिशामा अग्रसर हुन कलाकर्मीलाई आग्रह गरे ।
उनले कम्युनिष्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरे पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने र आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्ने बताए । आर्थिक समृद्धि र विकासको कुरा गर्दा सांस्कृतिक क्रान्ति र गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा उनको रह्ययो ।
अध्यक्ष प्रचण्डले भने, “हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउने खतरा छ, ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त सांस्कृतिक विचलन नआउँला, त्यसपछि के होला भन्ने अन्योल छ, त्यो अन्योललाई राजनीतिककर्मी र सांस्कृतिकको क्षेत्रमा काम गर्नेले चिर्नु जरुरी छ ।”
२०५५ साल चैत ५ गते तत्कालीन नेकपा (माओवादी)का सांस्कृतिक टोलीलाई काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा हत्या गरेको स्मरणमा महासंघले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ ।