डेढ बर्ष बित्दा पनि पारिश्रमिक पाएनन् कामदारले

मा प्रकाशित


सिपी लोहिया,
बैतडी ।

बैतडीको देहिमाण्डौँ–गिरेगाडा सडकखण्ड ग्राबेल गरेको बखत काम गरेका कामदारहरुले पारिश्रमिक नपाएको बताएका छन् ।

गत २०७३ असार र साउन महिनामा सो सडकमा ग्राबेलको काम चलेको बेला काम गरेका कामदार र उधारो सामान दिएका ब्यापारीहरुले आफुलाई दिन्छौँ भनेको पैसा काम सकिएको १९ महिना बित्दा समेत नपाएको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका देबि दत्त जोशीले बताए । उनले भने हामीले साउनको झरीमा भिजेर काम ग¥यौँ, काम सम्पन्न भयो तर पारिश्रमिक अझैँ पाएका छैनौँ, हामी सडकमै काम गरेर गुजारा चलाउने मान्छे कसरी बालबच्चा पाल्ने कसरी छाक टार्ने, हामीलाई गुजारा गर्न समस्या भैरहेको छ ।

यस्तै ग्वाल्लेक ९ कै गणेश दत्त जोशीले आफु मलेसियामा काम गरिरहेको र केहि दिनको बिदामा घर आँउदा सडकमा काम खुलेको भनी यतै बसेको र सडक मा काम गरेपछि पैसा नपाएकोले यता न उताको भएको बताए । उनले भने, बिदेसमा जसोतसो पसिना बगाइरहेको थिँए, त्यहाको काम पनि कष्टपुर्णनै थियो, तर घर आएको बेला यतै सडकमा काम पाँए लगभग दिनको काम गरेको ज्याला पाइने भयो भनेर काम गरे तर काम गरेको पारिश्रमिक पाइएन् मत यता न उताको भएँ, अब के गरुँ दुई बर्ष पुग्न लाग्यो घरमै बेरोजगार बसेकोछु, हामी कामदारले ज्याला नपाएपछि कसरी घर खर्च चलाउने चिन्ता छ उनले भने, ।

उपभोक्ता समितिले पैसा नदिएको कामदारको गुनासो आइरहँदा उपभोक्ता समितिले भने रकम निकासा नभएको बताएको छ । सुरेन्द्र बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको खातामा हाल सम्म ८ लाख रुँपया मात्रै आएको उनले बताए ।

सडक ग्राबेलका लागी सम्झौता भएको जम्मा रकम ३७ लाख ७१ हजार १३५ रुपँया ४८ पैषा मध्ये ३० लाख रुपया उपभोक्ता समितिले पाउने र बाँकी ७ लाख ७१ हजार बराबरको नागरिकले श्रमदान गर्ने सहमती भएको र हाल सम्म २०७३ असोजमा पहिलो किस्ता बाफत ८ लाख रुपँया प्राप्त गरेर केहि कामदारहरुलाई बितरण गरेको अध्यक्ष बोहराले बताए ।

बिविध कारणले सडक बोर्ड बाटै रकम निकासा नहुँदा आफुहरुले कामदारलाई पारिश्रमिक दिन नपाएको र परिश्रमिक नदिएका कारण गाँउका मान्छे आफुहरु संग बोल्नै छाडेको उपभोक्ता समितिका कोषाध्यक्ष बलदेब जोसीले बताए । उनले भने, म संग गाँउलेले राम्रो ब्यवहार गर्न छाडेकाछन्, म स्थानीय तहको चुनावमा वडा सदस्यमा लडेको थिए गाँउलेले पैसा खायौँ भनेर भोट पनि दिएनन् मलाई चुनाव नै हराई दिए, पहिला सबै संग राम्रो सम्बन्ध थियो, अहिले सबै संग सम्बन्ध समेत बिग्रन थाल्यो कसैले गालि समेत गर्छन, हामीलाई पैसा खायो भन्छन् हामी संग पैसा नै आएको छैन् त कँहा बाट पैसा खायौँ, जिल्लाबाट हाम्रो उपभोक्ता समितिको खातामा पैसा नआएको कुरा हाल मात्रै गाँउलेलाई थाहा भयो र अहिले उनिहरुपनि जसोतसो सहेर बसेका छन् कोषाध्यक्ष जोसीले भने ।

देहिमाण्डौँ ग्वाल्लेक सडक ग्राबेल हुँदा २ सय बढि कामदारले काम गरेको थिए । जसमध्ये केहि ब्यक्तिले नार्गाजुन प्रहरी चौकीमा उजुरी समेत दिएको हरीराम लोहारले बताए, उनले भनी हामी मजदुरी गरेर छाक टार्ने मान्छे हौँ, २ महिना १ छाक खाना खाएर काम गरेका हौँ, काम गरेको २ बर्ष पुग्न लाग्दा समेत पारिश्रमिक पाएनौँ, त्यसैले २ पटक प्रहरी चौकीमा समेत निबेदन दियौँ, पैसा जिल्लामा नआएको रहेछ अहिले सम्म पाएका छैनौँ, हामी १५ जनाले ७० हजार रुपँया को काम गरेका हौँ, तर १५ हजार मात्रै पाएका छौँ, अरु ५५ हजार बाकिँ छ, कहिले पाइने हो थाहा छैन् हाम्रो घरमा खानका लागी राशन पनि छैन् के गर्ने घर परिवार कसरी पाल्ने भन्ने रातदिन चिन्ता भैरहन्छ, उधारो सामान किनेको पैसा तिर्नु बाकिँ छ, साहुले किचकिच गरिरहन्छन् उनले भने ।

२०७३ साउन महिनामा काम सम्पन्न भएपनि अख्तीयारमा मुद्धा परेकोले रकम निकासामा ढिलाई भएको स्थानीय बिकास अधिकारी खेमराज बिष्टले बताए । उनले भने, हामीले त्यो ठाउँमा प्राबिधिक पठाएर काम भए नभएको हेर्न लगायौँ, काम राम्रो संग सम्पन्न भएको छ, कस्ले किन अख्तीयारमा मुद्धा हाल्यो त्यो हामीलाई पनि थाहा भएन्, योजनाको रकम रोकियो, कामदारहरुले पारिश्रमिक पाएनन् मलाई पनि दुख लागेको छ, बिष्टले भने ।

तर अहिले केहि दिन अघि मात्रै सडक बोर्ड बाट २० लाख रकम निकासा भएर उपभोक्ता समितिको खातामा जम्मा भैसकेको स्थानीय बिकास अधिकारी बिष्टले बताए । अब सार्वजनिक परिक्षण गरेपछि प्रक्रिया पु¥याएर उपभोक्ता समितिले रकम निकाल्न पाउने र कामदारले पारिश्रमिक पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!