चमेलियाको अनसन तोडियो, दार्चुला र बैतडीलाई लोडसेडिङ मुक्त गरिने

मा प्रकाशित


दार्चुला ।

दार्चुलाको बलाँचमा रहेको चमेलिया जलविद्युत् आयोजनास्थलमा स्थानीयले थालेको आमरण अनसन स्थागित भएको छ ।

दार्चुला र बैतडीलाई एक महिनाभित्र लोडसेडिङ मुक्त गर्नेसहित १२ बुँदे सहमति भएसँगै शनिबार साँझ आमरण अनसन तोडिएको खानेपानी मूल संघर्ष समिति सचिव सुरेन्द्रबहादुर तितराले बताए ।

आयोजनाको कामबाट प्रभावित शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल क्षेत्रमा देखिएको पानीको अभाव समाधानका लागि तत्काल पानीको मुहान पहिचान गरी तत्काल काम अगाडि बढाउने, वडा नम्बर २ मा खानेपानीको ठेक्का एक हप्ताभित्र सुरु गर्ने र मर्मत सम्भारको काम आयोजनाले गर्ने, बारिलको पीपल चौतरासम्मको काम एक हप्ताभित्र अगाडि बढाई सिट्टोलीदेखि बिटुलेसम्म मोटरबाटोको सर्भे गर्ने सहमति भएको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा असार मसान्तसम्म विद्युतीकरण गर्ने र अन्य प्रभावित क्षेत्रमा समेत विद्युतीकरण गर्ने, यसअघि आयोजना र स्थानीयबीच भएका सम्झौताहरु कार्यान्वयन गर्ने, दार्चुला र बैतडी जिल्लालाई १ महिनाभित्र लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्ने लिखित सम्झौता भएको छ ।

बाँधस्थल बिटुलेदेखि टलरेससम्म १० प्रतिशत पानी छोड्ने, आयोजनाबाट प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि विद्युत प्राधिकरणलाई लेखी पठाउने सम्झौता भएको छ ।

चमेलिया जलविद्युत् आयोजना, जिल्ला प्रशासन, सुरक्षा निकाय, संघर्ष समिति, जनप्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ लगायतको सहभागितामा लिखित सम्झौता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!