‘कि मलाई सहारा दिनुस् कि त विष दिनुहोस्’

मा प्रकाशित


बैतडी ।

‘श्रीमान बितेको १५ वर्ष भयो । छोरा बुहारीले हेर्दैनन् । बस्ने घर पनि छैन । बिरामी पर्दा औषधि किन्ने पैशा छैन । कि त मलाई खाना दिनुहोस् कि मलाई बिषको शिशी दिनुहोस् ।’ शनिबार एकल तथा विपन्न महिला समुहले आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा सहभागी एकल महिला जयन्ती तिरुवाले रुँदै भन्नुभएका शब्द हुन् यी । यो खबर गोकर्ण दयालले आजको गोरखापत्रमा लेखेका छन् ।

दशरथ चन्द नगरपालिका वडा नं. ४ का विपन्न तथा एकल महिलाहरुको समुहले आफ्ना पीडा सुनाउन आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा सहभागी एकसय जना एकल तथा बिपन्न महिलाहरुका पीडा सुन्दा सबै सहभागीहरु भावुब बनेका थिए ।

कार्यक्रममा एकल महिलाको पीडा सुन्न बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य, अधिवक्ता हरिदत्त भट्ट, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य सरस्वती नेपाली र स्थानीय संचारकर्मीहरु जिल्ला सदरमुकाममा जमघट भएका थिए ।

कार्यक्रममा एकल महिला मोहना तिरुवाले शुल्क तिर्न नसक्दा आफुले खानेपानीको धारा समेत नपाएको पीडा सुनाउनुभयो । ‘ श्रीमान बितेपछि सहारा गुम्यो । गाईपालन गरे पनि बजारमा दलित समुदायको दूध चल्दैन । भारी बोकेर छोराछोरी पढाउँदैछु । शुल्क तिर्न नसक्दा मैले खानेपानीको धारा पाईन, मैले के गर्ने ?’ मोहनाले भक्कानिदै भन्नुभयो ।

कार्यक्रममा एकल तथा विपन्न महिला समुहका अध्यक्ष शुशिला चन्दले राज्यले एकल महिलाका बाल बच्चालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने व्यवस्था गर्नु पर्ने बताउनुभयो । ‘खानेपानी, बिजुली लगायतका सरकारी महशुलमा एकल महिलालाई छुट दिनुपर्छ । अस्थायी र राहतमा काम गरिरहेका एकल शिक्षक महिलाका लागि कोटा निर्धारण हुने गरी प्रदेश सरकारले कानुन बनाउनु पर्छ,’ चन्दले भन्नुभयो ।

स्थानीय सरकारले लक्षित वर्गले पाउँदै आएको बजेट कटौती गरेर सडक, बाटो र पुलमा बजेट बिनियोजित गरेको सहभागीहरुले गुनासो गर्नुभयो । बाटो र सडकमा त एकल महिला पनि हिँड्छन् भन्दै बजेट छुट्याईएन । हिजो एकल, विपन्न, महिला ,दलित र जनजातिलाई दिने बजेट पनि काटेको सहभागीहरुले गुनासो गर्नुभयो ।

कार्यक्रममा अधिवक्त हरिदत्त भट्टले महिलाका पक्षमा बनेका नीति नियम र कानुनका बारेमा जानकारी गराउँदै समाजले एकल महिलालाई विभेदपूर्ण व्यवहार गर्ने गरेको बताउँदै महिलाहरुले कानुनी उपचार खोजेर आफ्नो अधिकार माग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले खानेपानीको धारा नपाएको र घरपरिवारबाट प्रताडीत हुनु परेको गुनासोका बारेमा आफुले तुरुन्तै पहल चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एकल महिलाको आय आर्जनका क्षेत्रमा सहभागिता बढाउन कृषि र अन्य सरोकारवाला निकायसित छलफल गरेर आय आर्जन हुने कार्यक्रम सुरु गर्न पहल थाल्ने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: