हेर्नुस् संसारकै सबैभन्दा महँगा व्हिस्कीहरू यस्ता छन्

मा प्रकाशित


संसारमा व्हिस्की सबैभन्दा महँगो मदिराजन्य पेय पदार्थ मानिन्छ । विशेष गरेर व्हिस्कीको कुनै बोतलको मूल्य निर्धारणका दुई विधि रहेका छन् । पहिलो, केही बोतलहरू जति पुराना भए त्यति महँगा हुन्छन भने अर्को, केही व्हिस्कीहरू दुर्लभ र विशेष भएका कारण पनि महँगा हुन्छन् । कुनै कुनै भने ब्रान्डको नामैले या बोतलको गुणस्तरका कारणले मात्रै पनि मुल्यवान रहेका हुन्छन् ।

यदि संसारकै महँगा व्हिस्कीहरूको कुरा गर्ने हो भने कतिसम्म मूल्य तिर्न तयार होलान त पारखीहरू ?

यदि संसारकै सबैभन्दा महँगा व्हिस्की बोतलहरूको कुरा गर्ने हो भने यस सूचीको शीर्षमा पचास वर्ष पुरानो ‘बाल्भेनी स्पेसाइड सिंगल माल्ट व्हिस्की’ पनि रहेको छ । यस उच्च स्तरीय मदिराको प्रति बोतलको मूल्य ३६ हजार अमेरिकी डलर पर्दछ । यदि गोजी केही हलुको छ र यतिविधि महँगो रक्सी किन्न सकिँदैन, केही सस्तैले काम चलाउने हो भने पनि विकल्प छ । त्यस्तो अवस्थामा म्याकालान फाइन ओक छ, तीस वर्ष पुरानो सिंगल माल्ट स्कच व्हिस्की । यसको प्रति बोतल मूल्य दुई हजार पाँच सय देखि छ हजार पाँच सय अमेरिकी डलर पर्दछ ।

तर सामान्य मानिसका लागि यो मूल्य पनि चर्कै हो । यदि मानव इतिहासमै व्हिस्कीको मूल्यको कुरा गर्ने हो भने कथा बेग्लै छ । यहाँ मानव इतिहासमै सबैभन्दा महँगोमा बेचिएका १२ वटा व्हिस्की बोतलहरूको सूची छ हेरौं :

१. इसाबेला आइले – मूल्य ६२ लाख अमेरिकी अमेरिकी डलर
आठ हजार पाँच सय हीरा र तीन सय रुबीहरू जडिएको सुनले मढिएको बहुमुल्य बोतल र त्यस भित्र राखिएको दुर्लभ मदिरा । यो नै विशेषता इसाबेला आइले व्हिस्कीको जसले यसलाई आजसम्मकै सबैभन्दा महँगो व्हिस्की बनाइदिएको छ । २०१० मा निर्मित यस स्कच व्हिस्कीको बोतलमा क्रेताले आफ्नो नाम समेत लेखाउन सक्नेछ ।

२. म्याकालान एम –मूल्य छ लाख २८ हजार दुई सय पाँच अमेरिकी डलर
हङ्कङ्गमा भएको निलामीमा यतिविधि महँगोमा बेचिने यस रक्सीको विशेषता के रहेछ त ? मदिराका विज्ञहरू भन्छन् म्याकालानका विशिष्ट उत्पादनहरू उसै पनि खस हुन्छन् । म्याकालन एम क्रिस्टलको कलात्मक र विलासितापूर्ण बोतलमा भरिएको छ जसमा छ लिटर उच्च गुणस्तरको व्हिस्की राखिएको हुन्छ ।

३. म्याकालान ६३ इयर इन लालिक- मूल्य चार लाख ६० हजार अमेरिकी डलर
६४ वर्ष पुरानो यस काँचको कलात्मक भाँडो, लालिकमा राखिएको यस म्याकालन व्हिस्कीलाई असं २०१० मा निलामीका लागि राखिएको थियो । बिक्री हुँदाका बखत यो त्यस बेलासम्मकै सबै भन्दा महँगो व्हिस्की थियो जसका बारेमा गिनिज बुक अफ वर्ड रेकर्ड्सले समेत यसमा संज्ञान लिएको थियो ।

४. डालमोर ६४ ट्रिनितास – मूल्य एक लाख ६४ हजार एक सय अमेरिकी डलर
हाल संसारभरि यसप्रकारका तीन बोतल मात्र उपलब्ध रहेका छन् । यो यत्तिको महँगो हुनुका पछाडि यसको दुर्लभता र डालमोर ब्रान्ड नै रहेको छ ।

५. नन्ज आइल्याण्ड डिस्टिलरी प्योर पट स्टिल व्हिस्की- मूल्य एक लाख ४३ हजार २० डलर अमेरिकी डलर
उन्निसौं शताब्दीको आरम्भदेखि नै यस व्यापारमा हात हालेको यस आइरिस कम्पनीले निर्माण गरेको यो अंतिम व्हिस्की बोतलहरू मध्ये हो । आयरल्यांडको गालवेस्थित यो कम्पनी १९१३ मा बन्द भएको थियो ।

६. ग्लेनफिडिच १९३७ ‘रेयर कलेक्सन’- मूल्य एक लाख २० हजार अमेरिकी डलर
ग्लेनफिडिच १९३७ का जम्मा ६१ बोत्ल्हारू निर्माण गरिएका थिए जसमध्ये धेरै जसो १० हजार भन्दा महँगो मूल्यमाँ बेचिए । अब बाँकी रहेका केही बोतलमध्ये छ वटा हङ्कङ्गको चेप लाप कोक विमानस्थलमा बिक्रीका रखिएका छन् । यस संकलनलाई संसारकै सबैभन्दा पुरानो सिंगल माल्ट व्हिस्कीका रुपमा चिनाइएको छ । हाल यसको मूल्य एक लाख २० हजार अमेरिकी डलर तोकिएको छ र यसका लक्षित ग्राहक मदिराका शौखिन र पारखी संकलनकर्ता रहेका छन् ।

७. जर्ज वासिंगटन डिस्टिलरी स्ट्रेट रइ व्हिस्की – मूल्य एक लाख अमेरिकी डलर
सन् २००३ मा निर्मित यो व्हिस्कीलाई दुई वर्षसम्म पुरानो पारेर बनाइएको थियो । यसको आसवन क्रिया विशेष कलात्मक ढंगले निर्माण गरिएका कटुसका ढुङ्ग्राहरूमा राखेर गरिएको थियो । यसलाई जर्ज वासिंगटनको दुई सय वर्षभन्दा पनि पुरानो रक्सी पर्ने विधि प्रयोग गरेर बनाइएको थियो । सन् २००६ मा यसको पहिलो बोतल बेचिंदा यो अमेरिकाकै सबैभन्दा महँगो व्हिस्की थियो । यसलाई अमेरिकी प्रकाशक मर्भिन श्यान्कनले किनेका थिए ।

८. ग्लेनफिडिच जेनेट शीड रोबेर्ट्स रिजर्भ १९५५- मूल्य ९४ हजार अमेरिकी डलर
यस व्हिस्कीका मात्र १५ बोतल निर्माण गरिएका थिए । मदिरा प्रेमी र यसका पारखीहरू माझ सीमित प्रतिहरूमा मात्र आएको यो व्हिस्की विलियम ग्रान्ट डिस्टिलरीका संस्थापक ग्लेनफिडिचकी नातिनी जेनेट शीडको एक सय दसौं जन्मदिनका अवसरमा उनले ग्लेनफिडिच परम्परामा पुऱ्याएको योगदानको सम्मानमा तयार पारिएको थियो । तयार पारिएका १५ बोतलहरू मध्ये चार कम्पनीले राखेको थियो र बाँकी ११ बोतलहरू निलाम गरिएका थिए । यी मध्ये एउटा बोतल ९४ हजार डलरमा बिक्री भएको थियो ।

९. म्याकलान १९२६, ‘फाइन एण्ड रेयर’ – मूल्य ७५ हजार अमेरिकी डलर
सन् १९२६ मा बनाइएर सन् १९८६ मा बोतलमा राखिएको यो व्हिस्की फाइन एण्ड रेयर म्याकालन संकलनको सबैभन्दा पुरानो बोतल हो । विवारन्हारू अनुसार यस प्रकारका जम्मा ४० बोतल बनाइएका थिए । यस विशेष बोतलको व्हिस्की भने पूर्णतया ड्राइ, गाढा र पानी नामिसाएर बनाइएको छ । यसलाई एक जना कोरियन नागरिकले ७५ हजार अमेरिकी डलरमा किनेका थिए ।

१०. डब्ल्यु एण्ड जे मटर्स बोउमोर (१८५०)- मूल्य ६० हजार एक सय ३५ अमेरिकी डलर
स्कटल्याण्डको आइलेस्थित बोउमोर कम्पनीको सबैभन्दा पुरानो मानिएको यो व्हिस्की बोतल अहिलेसम्म पनि छँदै छ । यो मुल्यवान वस्तु विलियम मटर्सभन्ने व्यक्तिलाई उनले सन् १८५२ मा बोउमोर कम्पनीबाट आफ्नो हिस्सा छोड्दा दिइएको थियो । पुस्तैनी रुपमा हस्तान्तरित हुँदै आएको यो बोतललाई सन् २००७ मा निलामकर्ता कम्पनी म्याक टियर्सले निलाम गरेको थियो । त्यसबेला यो ६० हजार एक सय ३५ अमेरिकी डलरको अन्तिम बोलीमा बेचिएको थियो ।

११. डालमोर ६२ हाइल्याण्ड माल्ट स्कच म्याथेसन – मूल्य ५८ हजार अमेरिकी डलर
स्कटल्याण्डको हाइल्याण्डस्थित तेह्रौं शताब्दीदेखि संचालित डालमोर डिस्टिलरीद्वारा उत्पादित यस व्हिस्कीलाई यतिविधि महँगो बनाउने केही कारणहरू रहेका छन् । एक त सन् १९४२ मा यसका मात्र १२ बोतल निर्माण गरिएका थिए, अर्को यसलाई हस्त निर्मित बोतलमा राखिएको हुन्छ र प्रत्येक बोतलको नामकरण डालमोर कम्पनीका संस्थापक व्यक्तित्वहरूको नामबाट राखिएको छ । यो चार प्रकारका माल्ट व्हिस्कीहरूको सम्मिश्रण हो । यी बोतलमध्ये सबैभन्दा महँगोमा बेचिएको डालमोर म्याथेसन हो जसको नाम डालमोर मौजाका मालिक अलेक्जेन्डर म्याथेसनको नामबाट राखिएको थियो डालमोर यस बोतललाई ५८ हजार अमेरिकी डलरमा बेचिएको थियो ।

१२. बाल्भेनी ५० वर्ष पुरानो सिंगल माल्ट स्कच व्हिस्की – मूल्य ५० हजार अमेरिकी डलर
स्कटल्याण्डको स्पेसाइड कम्पनीले उत्पादन गरेको यस व्हिस्कीओ प्रति बोतल मूल्य ५० हजार अमेरिकी डलर रहेको छ । यो यति महँगो हुनुको कारण यसलाई बनाउने परम्परागत तरिका हो । चाखलाग्दो कुरा त के छ भने अहिलेसम्म यस व्हिस्कीको मात्र ८८ बोतलहरू निर्माण गरिएका छन् जसले यस उत्कृष्ट व्हिस्कीलाई मदिराप्रेमीहरू माझ दुर्लभ र मूल्यवान बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!