दमाहा बाजा संकटमा

मा प्रकाशित


बैतडी ।

दमाहा पञ्चेबाजा भित्र पर्ने एक महत्वपूर्ण बाजा हो । सुदुर तथा मध्येपश्चिममा भने दमाहा बाजाको छुट्टै मौलिक महत्व रहिआएको छ । तर लोकप्रिय बाजा दमाहा अहिले लोप हुने अवस्थामा पुगेको छ । पश्चिम नेपालको कलासंस्कृतिसँग जोडिएको दमाहा बाजा अहिले काहिकतै मात्र देख्न र वजेको सुन्न पाईन्छ ।

बैतडी लगायत पश्चिम नेपालका अधिकांस समुदायमा मन्दिरमा देवीदेवाताको पुजापाठ गर्दा होस अथवा विवाह, बर्तबन्ध जस्ता शुभकार्य गर्दा दमाहा बाजा अनिवार्य रुपमा बजाउनु पर्ने परमपरागत मान्यता रहेको छ । अहिले गाउँघरतिर यो प्रचलन लोप हुने क्रममा छ ।

यो पिँधतिर सानो र मुखतिर ठूलो हुँदै आएको, भिउँट जस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको, गजोले हानेर बजाइने एक बाजा हो । दमाहा मिठासपूर्ण धुँनमा घन्कीने गर्दछ ।

यो बाजा परम्पराअनुसार निःशुल्क बजाउनुपर्ने हुनाले पनि नयाँ पुस्ताले यो पेसा छाडेको पाइन्छ । यो पेसा छोड्दा दमाहा बाजा नै हराएर लोपोन्मुख अवस्थामा पुगेको हो । यो परपरागत बाजा हो । यदि हामीले कला संस्कृतीको जगेर्ना नगर्ने हो भने यो पछिल्लो पुस्ताले थाहा नपाउने हुनाले संस्कृति नै धरापमा पर्ने भएकाले यसको संरक्षण गर्नु आवस्यक रहेको पञ्चेश्वर गाउँपालिका–३ का रामबहादुर चन्द बताउँछन् ।

बाहिरी संस्कृति भित्रिँदै र हाम्रो स्थानीय कलासंस्कृति लोप भइरहेको हँुदा नयाँ पुस्तालाई जानकारी गराउनको लागि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने मेला–महोत्सवको आयोजना गरिनुपर्ने चन्दको भनाइ छ ।

स्थानीय जानकारका अनुसार पूजापाठ गर्दा ध्यान केन्द्रित गर्न र बाहिरको अवाज नसुनियोस् भन्नको लागि दमाहा बाजा बजाउने गरिन्छ । दमाहालाई पूजापाठमा मात्र सीमित नराखी विवाह व्रतबन्ध रमाइलोका लागि पनि प्रयोग गर्दै आइएको थियोे । अहिले यो बाजा व्यवसायिक पनि बन्दै गएको छ ।

परम्परागत बाजाको संरक्षण गर्ने हो भने हामी बाजा बजाउनेको स्थानीय तहले पारिश्रमिक तोकिदिनुपर्ने पञ्चेश्वर छलिया बाजा समितिका अध्यक्ष मुकेशराम औजीले बताए । अहिले यो बाजा केही मात्रामा धार्मिक कार्यमा मात्र नभई बिदाइ, स्वागत, पार्टी, विवाह, व्रतबन्धजस्ता मनोरञ्जनात्मक कार्यमा पनि शुल्क लिएर बजाउने गरिन्छ । नयाँ पुस्ताले भने यो पेसालाई अँगालेका छैनन् ।

छलियाँ हुडकेली, गौरामा पनि दमाहाको प्रयोग हुन्छ । यस्ता परमपरागत बाजा कलासंस्कृतिको जर्गेना गरेर विदेशी संस्कृति भित्रिन रोक्नुपर्ने जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: