आफ्नै देश बिरानो लाग्छ बिनायकवासीलाई

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाको बिनायकमा छेउमै महाकाली नदी कलकल बगीरहेको छ तर, खेत भने बाँझै छ । दैनिक छाक टार्न भारतीय बजारबाट चामल ल्याउनुपर्ने बाध्यता छ । चामल ल्याउँदा पनि चाहे जति चामल ल्याउन भारतीय सिमा सुरक्षाबल ( एसएसवी) ले रोक्ने गरेको छ । यो कथा बैतडीको पञ्चेश्वर गाउँपालिका –४ बिनायक क्षेत्रको हो ।

याताययात नपुग्दा पञ्चेश्वर गाउँपालिका पुग्न अहिले पनि भारतीयबाटो प्रयोग भैरहेको छ । जिल्ला सदरमुकाम पुग्न दुईदिन लाग्छ । बिनायक क्षेत्रमा अहिले पनि भारतीय रुपियाँमै कारोबार हुन्छ । ‘नेपाली रुपियाँ लिएर के गर्ने ? नुन तेल र दैनिक उपभोग्य वस्तु किन्न भारत जानु पर्छ । त्यहाँ नेपाली रुपियाँ चल्दैन ’ स्थानीय मदन चन्दले भन्नुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र यातायात नहुँदा पञ्चेश्वर गाउँपालिका नेपालबाट बिरानो लाग्ने गरेको यहाँका स्थानी सुनाउँछन् । स्कुल जान बिद्यार्थीहरु तीन घण्टाको दूरी जान झिसमिसेमै हिँड्छन् । स्वास्थ्यचौकी नहुँदा वर्षेनी सर्पदंश र डेगुका बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ ।

गत वर्ष चितुवाको आक्रमण, सर्पदंश, डेंगु र महाकाली नदीमा पार्न भर्न जाँदा ११ जनाले ज्यान गुमाउनु परेको स्थानीय भुन्टु चन्दले बताउनुभयो । चितुवाले कतिखेर आक्रमण गर्छ पत्तै हुँदैन । खोपानी नहुँदा बाहै्रमहिना महाकालीको धमीलो पानी खानुपर्ने बाध्यता छ । पानी भर्न जाँदा महाकाली नदीमा बगेर ज्यान गुमाएका दुःखद् खटना छन् ।
एक वर्ष अघि निर्मला चन्दका पाँच वर्षिय छोरा महेश चन्दलाई बिहान ११ बजे आँगनबाटै चितुवाले आक्रमण गरी खाईदियो । चितुवाले कोख रित्तो बनाएपछि निर्मला चन्दसित अहिले आँसु बाहेक केही पनि छैन । मदन चन्दकी सात वर्षीय छोरी सुनिता चन्दलाई आँगनमा खेलिरहेका बेला सर्पले टोकेर ज्यान गयो । स्वास्थ्यचौकी नहुँदा सुनिताले अकालमै ज्यान गुमाउनु पर्यो ।

बिनायकवासीका पीडा सुन्दा र यहाँको जनजीवन देख्दा आफ्नै देशमा परदेशको अनुभूति हुने गरेको भीम बहादुर चन्द सुनाउनुहुन्छ । गाउँमा रोजगारी नहुँदा बिनायक क्षेत्रका प्राय सबै पुरुषहरु रोजगारीका लागि भारत जाने गरका छन् । काखमै महाकाली नदी बगेर पनि नदी उपभोग गरेर जिवीका चलाउन सक्ने संभावना खोजी हुन सकेको छैन । भारतमा मजदूरी गरेर कमाएर ल्याएको पैशाले भारतबाटै उपभोग्य वस्तु किनेर स्थानीयको गुजारा चलेको छ ।

‘सडक नहुँदा नेपालबाट कुनै पनि उपभोग्य वस्तु आउँदैन । नेपाली नागरिकता देखाएर महाकाली नदी तर्दा धेरैका नागरिकता फाटेर झुत्रो भैसके । नागरिकतामा स्पष्ट नाम नदेखिदा भारतीय सिमा सुरक्षाबलले धेरैलाई फर्काईदिन्छ ’ २५ वर्षदेखि महाकाली नदीको बिनायकघाटमा डुङ्गा चलाउँदै आईरहेका गोरखबहादुर चन्द सुनाउनुहुन्छ ।

बिनायकबासी ढुक्कले नदी उपभोग गर्न पाईरहेका छैनन् । भारतीय बजारबाट किनेर ल्याएको सामान बोक्न नदी तटसम्म भारतीय सिमासुरक्षा बलले खच्चर जान दिने गरेको छैन । खच्चर देख्ने बितिकै भारतीय एसएसवीले कति धेरै सामान लगेको ? भनेर पारीबाट लखेटन आउँने गरेको स्थानीयले पीडा सुनाए ।

महाकाली नदी पारी पट्टी प्रत्येक पाँच किलो मिटरमा तैनाथ गरिएको भारतीय एसएसबीको क्याम्पका सुरक्षाकर्मीले नेपालीहरुलाई नदी किनारबाट लखेट्नेदेखि डुङ्गामा नेपाल–भारत आउजाऊ गर्दा दुव्र्यवहार गर्ने गरेको स्थानीयले पीडा सुनाए ।

महाकाली तटीय क्षेत्रमा वस्ने समुदायका यस्ता समस्या उजागर गर्न अहिले त्यस क्षेत्रमा अक्सफामको सहयोगमा रुडेस बैतडीले महाकाली तटीय क्षेत्रका वासीन्दाका लागि पैरबी कार्यक्र संचालन गरिरहेको छ । बैतडीको शिबनाथको कुस्मतघाट, पञ्चेश्वरको डिम्बरघाट,बिनायक र दशरथचन्द नगरपालिकाको मटेला, भेक्कर र शेरा क्षेत्रका महिला सशक्तिकरण केन्द्र मार्फत कार्यक्रम संचालन गरेको हो । कार्यक्रम संचालन गरिएका उक्त क्षेत्रहरु विपद्का दृष्टिले जोखिमयुक्त ठाउँ पनि हुन् ।

कायक्रमले स्थानीय समुदायमा अन्तराष्ट्रिय ऐन कानुन र नदी उपभोगमा नेपालीका अधिकार बारे जनचेतना अभिवृद्धि गरेर समस्याहरु उजागर गरी त्यसको समाधानका लागि पहल गर्न कार्यक्रम संचालन गरेको रुडेस बैतडीले जानकारी दिएको छ ।

तटीय क्षेत्रमा वसोबास गर्ने नेपालीहरु निकै ठूलो दुःखमा रहेको ट्रोसा (पैरबी) कार्यक्रम संचालन गरिरहेको रुडेस बैतडीका कार्यकारी निर्देश गोविन्दराज जोशीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: