२०१७ सालमा मारिएका बलदेव भट्ट ‘रिचपले’ सहिदको सूचीमा छैनन्

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

अराष्ट्रिय तत्वका नाममा २०१७ सालमा बैतडीको कठपतेमा तत्कालीन सेनाले गोली हानेर हत्यागरी खाल्डोमा पुरिएका सहिद बलदेव भट्ट ‘रिचपले’ सहिदको सूचीमा छैनन् । पञ्चायती व्यवस्था बिरुद्ध प्रजातन्त्रका लागि हुलाकको जागिर छोडेर क्रान्ति गर्ने ‘रिचपले’लाई त्यसपछिका सरकारले समेत चिन्न सकेको छैन ।

बैतडीको प्रदेशसभा क्षेत्र नंं २ बाट बिजयी नेता लीलाधर भट्टले आफ्नो चुनाबी प्रतिबद्धता पत्रको बुँदा नंं २ मा सहिद बलदेव भट्ट ‘रिचपले’को सम्मानमा प्रतिष्ठान बनाउने घोषणा गरेपछि सहिद वलदेवका बारेमा चर्चा सुरु भएको छ ।
सहिद बलदेव भट्ट ‘रिचपले’का बारेमा गोरखापत्रले खोजी गर्ने प्रयास गरेको छ । वि.सं. १९६७ मा हालको दरशथ चन्द नगरपालिका—५ रिचपलामा जन्मनु भएका बलदेव भट्ट ‘रिचपले’ सामान्य गरिब घर परिवारका थिए । उहाँका बुवाको नाम माध भट्ट हो । रिचपला गाउँमा देखिने हरिया फाँट गरिब किसानसित थिएनन् । जिवीका चलाउन सामान्य खेतीपाती र पशुपालन नै मुख्य पेशा थियो ।

पशु पालन गरे पनि त्यति बेला बैतडीमा कतै पनि दूध बेच्ने चलन थिएन । रिचपलामा बलदेव भट्टले बजारमा दूध बेच्न सुरु गरेर आफ्नो गाउँलाई बैतडीकै पहिलो दूध बेच्ने गाउँका रुपमा चिनाए । समाजमा हुने शोषण, दमन र अत्याचारका बिरुद्धमा खरो बोल्ने बलदेव भट्ट ‘रिचपले’ को स्वभाव थियो । उहाँलाई चिन्ने जान्ने गाउँलेहरुको यही भनाई छ । बलदेव भट्टले आफ्नो रिचपला गाउँबाट दूध बेच्न सुरु गरेपछि उहाँलाई सबैले रिचपले भनेर सम्बोधन गर्न थाले ।
खेतीपाती गर्न पर्याप्त जग्गा नभएपछि गरिबीले खान लगाउन धौधौ थियो । परिवार पाल्न सक्ने अवस्था नभएपछि बलदेव भट्ट ‘रिचपले’ बैतडीबाट दार्चुलाको जेवलधार थाम भन्ने ठाउँमा बसाई सरेर जानु भएको थियो । सो ठाउँ हालको दार्चुला जिल्लाको शिखर गाउँपालिका पर्छ ।

बलदेव भट्ट ‘रिचपले’ दार्चुला बसाईसरेपछि हुलाकमा जागिर पाउनु भयो । डाँक बोकेर जिवीका चलाउँदै आएका ‘रिचपले’ तत्कालीन नेपाली काँग्रेसप्रति झुकाव राख्नु हुन्थ्यो । २०१५ सालमा बैतडीकी द्वारिकादेवी ठकुरानी स्वास्थ्य मन्त्री भएपछि गाउँमा बसेर बलदेव भट्ट ‘रिचपले’ नेपाली काँग्रेस र प्रजातन्त्रका गीत गाउँनुहुन्थ्यो । तर,प्रजातन्त्रको त्यो खुशी लामोसमय टिकेन । २०१७ सालमा राजनीतिक दलहरुमाथि प्रतिबन्द लाग्यो । द्वारिकादेवी ठकुरानी लगायतलाई अराष्ट्रिय तत्वको आरोप लागाएर सर्वस्वहरण गरियो ।

द्वारिकादेवी लुकी लुकी बैतडी पुग्नुभयो । ठकुरानीको सर्र्वस्वहरण गर्ने कुराको त्यती बेला बैतडीमा ठूलै बिरोध भएको थियो । सर्वस्वहरण गर्ने कुराको कडा बिरोध गर्नेहरुमा त्यति बेला बैतडीको मणिलेक काँणा हाईस्कुलका हेड मास्टर रमेशचन्द्र जोशी, बलदेव भट्ट ‘रिचपले’ र द्वारिकादेवीका भतिजा मीन बहादु चन्द थिए ।

सरकारको बिरोध गर्ने द्वारिकादेवी लगायत उनका भतिजा मीन बहादुर चन्द र रमेशचन्द्र जोशीलाई पक्राउन गर्न तत्कालीन डडेल्धुरा गौडाका बडा हाकिम देवेन्द्र बहादुर तुम्बाहाम्बेले वारेन्ट जारी गरेपछि द्वारिकादेवीलगायत प्रजातन्त्रवादीहरु भारत प्रवास गए । बलदेव भट्ट ‘रिचपले’ पेशाले सरकारी जागिरे भए पनि उहाँ नेपाली काँग्रेसको सम्पर्क मै थिए । परेको बेला जागिर छोडेर लडाईँमा लाग्ने रिचपलेको प्रतिबद्धता रहेको परिवारजनले बताएका छन् ।
द्वारिकादेवीसंग प्रवास जानेमा पूर्व माननीय दुर्गादत्त जोशी, भतिजा मीनबहादुर चन्द र हेडमास्टर रमेशचन्द्र जोशी, बझाङका ओमजंग सिंह, रामबहादुर हमाल थिए । अन्य केही द्वारिकादेवीसंगै प्रवासमा बसे पनि ओमजंग सिंह भने क्रान्ति गर्न भारतको पिथौरागढ हुँदै दार्चुला पुगे ।

ओमजंग सिंहले प्रवासमा रहेका नेपाली काँग्रेसका हतियारसहितका लडाकु सिपाही भनेर चिनिने टनकपुरमा डेरा गरी बस्ने मकरबहादुर स्वाँर , पलिया तीनकुनिया भन्ने ठाउँमा डेरा गरि बस्ने श्याम खतिवडा र शेरबहादुर शाही लगायत आठ ÷दश जना लडाकु जम्मा गरे । ती सबै मिलेर २० जनाको टोली बनाएर भारतको पिथौरागढ भएर ओमजंग सिंह दार्चुला पुगे । दार्चुला पुग्दा बलदेव भट्ट ‘रिचपले’ सहित दार्चुला उकुका कर्ण बहादुर पाल,पस्तीका काशीराम पन्त मिलेर दार्चुला उकुका जनताबाट नगद र भरुवा बन्दुक संकलन गरेर बझाङ कब्जा गर्ने निर्णय गरे ।

हुलाकीको जागिर छोडेर बलदेव भट्ट ‘रिचपले’ हतियार र नगद पैसा संकलनमा लागे भने बझाङका ओमजंग सिंह लगायत नेपाली काँग्रेसका लडाकु बैतडीको पुरचौडी क्षेत्र हुँदै बझाङको बुगल कालगंगा ( सेती नदी) तरेर बझाङ प्रवेश गरे ।
त्यही बेला तत्कालीन सरकारले २०१७ साल पुसमा सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा सेनाको व्यारेक स्थापना गरिरहेको थियो । तत्कालीन सरकारले बैतडीको छेला भम्क पानीमाथि, डडेल्धुराको ऐसेलुघाडी बस्ने किर्त बहादुर बिष्टको घरमा, धनगढीको बोराडाँडी र कञ्चनपुरको भगतपुरमा सेनाको व्यारेक स्थापना गरेको थियो ।
सरकारले नेपाली काँग्रेसका लडाकु ओमजंग सिंह लगायतको टिम बझाङ पसेको थाहा पाएपछि पक्राउ गर्न सेना परिचालन गर्यो । बैतडी, डडेल्धुरा र डोटीबाट सेनाले घेरा हाल्दा बझाङको हिमलेकको पाखोमा हिंड्दै गरेका ओमजंग सिंहलाई बैतडीबाट गएका सेनाले दूरवीनबाट हेर्दा दुई हजार गज टाढाबाट निशाना साँधेर ओमजंगलाई मारेर लाश भीरबाट फालिदिए ।

ओमजं सिंहको हत्या गरेर बझाङबाट सेना फर्किदै गर्दा क्रान्तिका लागि हतियार र नगद संकलनमा लागेका बलदेव भट्ट ‘रिचपले’ दार्चुला लेकमका काशीराम पन्त, उकुका कर्णबहादुर पाल,दामोदर जोशी र बैतडी पिपलकोटका रघुवीरशरण भट्ट र नाम नखुलेका चार जनालाई पक्राउ गरि बैतडी ल्याईयो । बलदेव भट्ट ‘रिचपले’ पक्राउ पर्दा रामचन्द्र हमाल चमेलिया नदीमा हामफालेर भाग्न सफल भए भने बहादुर खत्री पौडिन नसक्दा चमेलिया नदीमा डुबेर सहिद भएको भनाई छ ।
पक्राउ परेका बलदेव भट्ट ‘रिचपले’ सहितका चार जनालाई बैतडीका तत्कालीन बडा हाकिम सत्यनारायण झा घोडामा चढेर आफैले जिम्मामा लिएर सिभिल कानुन लगाई बैतडी झ्यालखानामा थुने ।

बैतडी झ्यालखानामा थुनिएका बलदेव भट्ट ‘रिचपले, काशीराम पन्त, कर्णबहादुर पाल,दामोदर जोशी, रघुवीरशरण भट्टलाई बैतडीका तत्कालीन बडा हाकिम सत्यनारायण झाले डोटी झ्यालखाना चलान गर्ने भनी बाहिर निकाले । डोटी झ्यालखाना लैजान भनी सेनाले घेरा हाली बैतडीको कठपतेको वीच जंगलमा लगेर बलदेव भट्ट ‘रिचपले सहितका चार जनालाई खाल्डो खन्न लगाईयो । खाल्डो खनिसकेपछि सेनाले एक एक गरी गोली हानेर पुरेको ‘रिचपले’ का नजिकका नातेदार एवं जानकार खेमानन्द भट्टले बताउनुहुन्छ ।

वलदेव भट्ट ‘रिचपले’ सहित चार जनाको निर्ममता पूर्वक हत्या भएपछि सरकार बिरुद्ध चर्को आवाज उठ्यो । हत्याको खबर काठमाण्डौंसम्म पुगेपछि सरकारले डोटीका तत्कालीन बडा हाकिमलाई विशेष अधिकार दिएर जाँचबुझ गर्न बैतडी पठाईयो । तर, हत्या बारे कुनै रिपोर्ट सार्वजनिक नभएको जानकार खेमानन्द भट्टले बताउनुहुन्छ ।
सूर्य पनि अस्ताउन मात्रै सुदूर पश्चिममा आउँछ भन्दै खेमानन्द भट्ट भन्नुहुन्छ—“ ईतिहास पनि पहुँच हुनेको मात्र लेखियो । वलदेव भट्ट ‘रिचपले’ जस्तै अछामी राजाका भाइ वलदेव शाह ( बाकावीर) ले राणा शासनका बिरुद्धमा अछामको जैगढ स्थित बान्नागढी व्यारेकमा बि.सं. १६०१ मा चैते दशैको बेला राणा सैनीकको व्यारेकमा आक्रमण गरी तीन सय सेना मारेर मुक्ति आन्दोलनको घोषणा गरेका थिए । पछि राणा सरकारले बाकावीरलाई बि. सं. १६०६ सालमा अछामको ककाडी साता भन्ने ठाउँमा तत्कालीन बडा हाकिम रुद्रशम्शेरले खुकुरी प्रहार गरेर हत्या गरेका थिए । तर, बाकावीरको नाम नेपालको पहिलो सहिदमा लेखिएन ।”

नेपालको ईतिहासमा बि. सं. १६३३ सालमा मारिएका लखन थापा पहिलो सहिद भनेर लेखिएको छ तर, बिक्रम सम्वत् १६०६ सालमा मारिएका अछामका बाकावीर र २०१७ सालमा मारिएका वलदेव भट्ट ‘रिचपले’को सहिदको सूचीमा नाम नहुँदा दुःख लागेको जानकार बैतडीका खेमानन्द भट्ट बताउनुहुन्छ ।

२०६२÷०६३ सालको जनआन्दोलनपछि बैतडीको दशरथ चन्द नगरपालिकाको बोर्ड बैठकले वलदेव भट्ट ‘रिचपले’को नामबाट सदरमुकाम—सेरा सडकको नाम बलदेवमार्ग राख्ने निर्णय गरे पनि उक्त निर्णय कागजमै सिमित रहेको सहिद ‘रिचपले’का परिवार र आफन्तहरुले गुनासो गरेका छन् ।

२०४६ सालको जनआन्दोलनपछि बनेको सरकारले वलदेव भट्ट ‘रिचपले’ को परिवारलाई एकलाख २५ हजार रुपियाँ सहयोग र किरिया खर्च भनेर दिए पनि सहिद घोषणाका लागि कुनै पहल नगरिएको सहिद ‘रिचपले’ का कान्छा छोरा कालुराम भट्टले बताउनुभयो ।

सहिद ‘रिचपले’ले नेपाली काँग्रेसमा आबद्ध भएर देश र जनताको स्वतन्त्रता र प्रजातन्त्रका लागि ज्यानको आहुती दिए पनि अहिले नेपाली काँग्रेसले वलदेव भट्ट ‘रिचपले’लाई बिर्सेको परिवारजनले गुनासो गरेका छन् । सहिद रिचपले’ को जन्मथलो बैतडीको दशरथ चन्द नगरपालिमा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाई बहुमत ल्याएर जिते पनि वलदेव भट्ट ‘रिचपले’ लाई सम्मान गर्ने कुनै कार्यक्रम र योजना ल्याउन सकेको छैन ।

सहिद सप्ताहमा सहिदलाई सम्झने कुरा गर्दा ‘रिचपले’ जस्ता ओझेलमा परेमा सच्चा सहिदको खोजीनीति गरेर सहिद घोषणा गर्न सरकारले पहल थाल्नु पर्ने बैतडीका बुद्धिजिवी र नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

मुहारचित्रः यशस अर्याल

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: