सुदूरपश्चिममा आज ‘नरहरी’ पर्व मनाइँदै

मा प्रकाशित


बैतडी ।

सुदूरपश्चिममा आज ‘नरहरी’ अर्थात् ‘माघे संक्रान्ति’ पर्व धुमधामका साथ मनाइँदै छ । ज्योतिषशास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धुन राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास छ ।

सुदूरपश्चिमका पहाडी समुदायमा पुस मसान्तको राति पकाइएका पकवान विहान नुहाइधुवाई गरी कागलाई दिने चलन छ । उज्यालो हुनासाथ केटाकेटीहरुले “का कौवा का का, मेरो रोटी खा” भन्दै डाँको लगाएको प्रसस्तै सुन्न सकिन्छ ।

त्यस्तै थारु समुदायमा पनि ‘माघी’ का नामले यो पर्व धुमधामका साथ मनाइदैँ छ । यो पर्व विशेषगरी थारु समुदायले मुख्य पर्वका रूपमा मनाउने गर्दछन् । नयाँ वर्ष आरम्भका रुपमा लिइने माघी पर्वका अवसरमा थारुवस्तीमा गाउँको मूलघरमा भेला भई खानपिन र नाचगान गरी रमाइलो गरिन्छ ।

थारुहरुले बर्षभरिको कामको योजना बनाउने, मान्यजनहरुबाट आशिर्वाद थाप्ने र आफ्ना परम्परा अनि साँस्कृतिक उत्सव गरेर मनाउने गर्छन् । आजको दिन थारु समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । पश्चिम नेपालको तराई क्षेत्रमा यो पर्व मनाउने गरिन्छ ।

नेपालका नेवार समुदायले पनि आज ‘घ्यः चाकु सन्हु’ पर्व धुमधामका साथमा मनाउँदै छन् । माघे संक्रान्ति मगर लगायत सबैजसो हिन्दु समुदायले विभिन्न तरिकाले मनाउने गर्दछन । माघे संक्रान्तीका दिन आज विहानैदेखि जलाशय, नदी तथा त्रिवेणीहरूमा स्नान तथा देवमन्दिरहरूमा पूजापाठ गर्नुका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल दान गरी एवं खाएर धुमधामका साथ मनाइँदै छ ।

त्यस्तै ‘भविष्यपुराण’ तथा ‘धर्मसिन्धु’ नामका ग्रन्थहरूमा पनि आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र आगो ताप्ने मकल सहितको सिदा दान गरेमा मानिसलाई पूण्य प्राप्त हुने बताइएको छ । साथै उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने समेत उल्लेख गरिएको छ ।

यस्तै, यो पर्वलाई मगरलगायतका अन्य समुदायले पनि विशेष रुपमा मनाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: