Facebook Twitter Google+ Google+
DHO

सरकार मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोज्दैछः ओली

Advertise Here

काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा रहेको बताएका छन् । अंग्रेजी क्यालेण्डर अनुसार नयाँ वर्ष २०१८ को पूर्वसन्ध्यामा विज्ञप्ती जारी गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

विज्ञप्तीको पूर्ण पाठ : 
अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा स्वदेश तथा विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछु।

सन् २०१७ लाई बिदा गरेर आजको बिहानीबाट हामी सन् २०१८ मा प्रवेश गरेका छौं। समयको आफ्नै चक्र अनुसार सम्बतहरु फेरिने क्रम जारी नै रहन्छ। तथापी कुनै वर्षहरु यति धेरै महत्वका हुन्छन्, जसले आम नेपालीको राजनीतिक, सामाजिक तथा व्यक्तिगत जीवनमा समेत अमिट छाप छाडेर जान्छन्। सन् २०१७ नेपालीका लागि त्यस्तै एउटा महत्वको वर्ष बनेर बिदा भएको छ।

खासगरी संविधान कार्यान्वयनको मूल कडीको रुपमा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन यसै वर्ष सम्पन्न भए, जसले लामो समयदेखि नेपाली राजनीतिमा जारी रहेको संक्रमणकाललाई मुलतः समाप्त पारेका छन्। यी निर्वाचनको सफलतासँगै नेपाली जनताले बर्षाैंदेखि प्रतीक्षा गरेको विकास र सम्बृद्धिको सपना अब प्राप्ती हुने मार्गतिर हामी डोरिएका छौं।

सन् २०१७ मा नेपालको न्यायपालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भए।

नेपाल लामो समयसम्म अस्थिर राजनीतिको चपेटामा पर्‍यो। देशका सबै अवयवहरुमा प्रत्यक्ष–अप्रत्यक्षरुपमा यसको असर पर्‍यो, जसले गर्दा प्राकृतिक र मानव श्रोतसाधनमा सम्पन्न हुँदाहुँदै नेपाल पछाडि पर्‍यो।

नेपालीहरु गरिब भए। तर अब यो अवस्था लामो समयसम्म रहँदैन। देशलाई स्थिरता र विकासतर्फ लैजानकै लागि हामीले वामपन्थी गठबन्धन निर्माण गरेर चुनावमा होमियौं। जनताहरुले हामीलाई स्थिरता र विकासको मार्गमा देशलाई अगाडि बढाउने विश्वाससहित स्पष्ट बहुमत पनि दिएका छन्।

त्यस कारण अब निकट भविष्यमा बन्ने नयाँ सरकारले देशमा विकास र सम्बृद्धिको महाअभियान सुरु गर्नेछ। त्यसकारण सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ बर्ष हुने छ।

निर्वाचन मार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ।

देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जे जस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सैह्य छैन। देश विकासको महाअभियानमा अवरोध नगर्न हामी सबैलाई आग्रह गर्दछौं।
अन्त्यमा, नयाँ बर्ष २०१८ को पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।

मिति : १ जनवरी २०१८
केपी शर्मा ओली
अध्यक्ष

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?