रक्तचाप कम हुँदा अपनाउनुपर्ने घरेलु उपाय

मा प्रकाशित


सामान्यतः उच्च रक्तचाप जस्तै धेरै कम रक्तचाप पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ। माथिको सिस्टोलिक रक्तचाप ९० भन्दा कम हुनु हुँदैन। कोही व्यक्तिको रक्तचाप पहिल्यैदेखि कम हुन सक्ने र त्यति कम हुँदा केही अप्ठ्यारो नपर्ने पनि हुन सक्छ। केही शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ। त्यस्तै, कोही व्यक्तिमा उच्च भइरहेको रक्तचाप एक्कासी २०–३० मिमिसम्म तल झरेमा ‘सिस्टोलिक प्रेसर’ ९० भन्दा माथि नै रहिरहे पनि गाह्रो हुन सक्छ। कम रक्तचापका कारण मस्तिष्क र किड्नी दुवैमा नोक्सानी हुन सक्छ।

रक्तचाप कम हुँदा मिर्गौला फेल हुनुका साथै मस्तिष्कमा हुने रक्तप्रवाह घट्छ। यसले गर्दा अक्सिजन ग्लुकोज तथा अन्य पोषण तत्वहरु मस्तिष्कमा पुग्न पाउँदैन। कम रक्तचाप भएमा चक्कर लाग्ने तथा धेरै नै कम भएमा बेहोस हुनेसम्म हुन्छ। तुरुन्तै सुधार नभएमा मस्तिष्कमा अपरिवर्तनीय क्षति हुन सक्छ। शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप कम हुन थाल्छ। मुटुलाई स्वस्थ राख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन।

त्यस्तै, गर्भावस्था, हर्मोनको असन्तुलन, औषधिको प्रभाव, मुटुको असामान्य धड्कनजस्ता अवस्थामा कम रक्तचाप हुन सक्छ।

यस्तो अवस्थामा छाती अप्ठ्यारो हुने, सास फुल्ने, चक्कर लाग्ने, आँखाको अगाडि अँध्यारो देखिने, अत्यधिक थकान लाग्ने, कमजोरी हुने जस्ता लक्षण देखा पर्छन्।

कारण तथा बच्ने उपाय 

पानीको मात्रा 

शरीरमा कुनै कारणबस पानीको मात्रा कम हुँदा रक्तचाप घट्न जान्छ। जस्तै, तारन्तार उल्टी हुनु, पखाला चल्नु, केही चोटपटक लागेर धेरै रगत बग्नु, अत्याधिक धेरै पसिना बगेर जानु आदि। यस्तो अवस्थामा शरीरमा पानीको मात्रा बढाएर रक्तचाप नियन्त्रण गर्न सकिन्छ।

स्वस्थ व्यक्तिले दैनिक २–३ लिटर पानी पिउनुपर्छ। गर्मी मौसममा पानी बढी पिउनुपर्छ। गर्मी मौसम तथा ठाउँमा दिनमा ४–५ लिटरसम्म पानी चाहिने हुन सक्छ। रक्तचाप धेरै कम भएमा रगतको नसामा स्लाइन दिएर तत्काल रक्तचाप बढाउनुपर्छ।

नुन 

रक्तचाप कम हुँदा खाँमा नुनको मात्रा केही बढाउनुपर्छ। आवश्यक परे गर्मीको समयमा चिसो पानीमा चिनी, नुन र कागती मिसाएर पिउँदा फाइदा हुन्छ। नुनको मात्रा बढाउनुपूर्व चिकित्सकको सल्लाह लिनुपर्छ। किनकि, नुनको मात्रा बढी हुन गएमा स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै रक्तचाप धेरै बढ्न पनि सक्छ।

रक्सी 

रक्सी सेवन गर्नु हुँदैन। कुनै व्यक्तिमा रक्सीले गर्दा पिसाब धेरै आउने, बान्ता हुने र शरीरमा पानीको कमी हुन गई रक्तचाप कम हुन सक्छ।

आहार 

खानामा सधैंभरि पौष्टिक आहार समावेश गर्नुपर्छ। शरीरमा पौष्टिक तत्वको अभाव हुँदा रक्तचाप कम हुनुका साथै शरीर कमजोर हुन्छ। स्वास्थ्यका लागि घातक मानिने फास्टफुड खानुभन्दा हरियो सागसब्जी र फलफूल बढी खनुपर्छ।

शारीरिक व्यायाम 

उमेर र आफ्नो क्षमता अनुसार हरेक दिन व्यायाम गर्दा स्वास्थ्यमा फाइदा पुग्छ। व्यायाम गर्दा मुटु र रक्तनली स्वस्थ हुनुका साथै सन्तुलित हुन्छ। तनावरहित जीवन जिउने प्रयास गर्नुपर्छ। कुनै व्यक्तिमा अचानाक सुतेर वा बसेर उठ्दा कहिलेकाहीँ रक्तचाप कम भई चक्कर आउन सक्छ। त्यसैले पोजिसन बदल्दा बिस्तारै बदल्नुपर्छ। यदि उभिँदा चक्कर आउँछ भने बिस्तारै गर्ने तथा कुनै पनि वस्तुको सहारा लिनुपर्छ।

अन्य रोग 

प्रायः सबै प्रकारका दीर्घ रोगहरुको अन्तिम अवस्थातिर रक्तचाप कम हुनसक्छ। यस्तो अवस्थामा मुख्य रोगको सघन तरिकाले उपचार गरेमा रक्तचाप सन्तुलनमा आउन मद्दत पुग्छ। त्यस्तै, निमोनिया, टाइफाइड जस्ता संक्रमणजन्य रोगहरुमा रगत धेरै संक्रमित भएपछि रक्तचाप धेरै घट्न पनि सक्छ। यस्तो अवस्थामा उचित एन्टिबायोपटक औषधि लिएर रोग निर्मूल हुनेगरी उपचार गर्नुपपर्छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!