महाकाली तटीय क्षेत्रका वासीन्दाको पीडा: आफ्नै बगरमा सुन छ, भारतले नछोऊ भन्छ

मा प्रकाशित


गोकर्ण दयाल,

बैतडी ।

“यति लामी काली गंगा कै झांजर छिरी
गयो जोवन, बग्यो पानी आउन्या हो कि फिरी ”

थाहा छैन, महाकालीमा कति पानी बग्यो । उद्धबसिंह साउदले महाकालीमा डुङ्गा खियाउँदा कति पसिना बगाए ! कुनै लेखाजोखा छैन । हिसाब छ त केवल आफ्नै भूमिमा पराईले दिएको पीडाको । पसीनालाई महाकालीको पानी संग तुलना गर्दै उद्धव भन्नुहुन्छ– “ जवानी नफर्के पनि हम्रो पानी र स्वाभिमान अब फर्किनु पर्छ । उद्धवले गाएको गीतले पनि यही भन्छ ।

उद्धव जस्तै हजारौ नेपाली जो,बैतडीको महाकाली तटीय क्षेत्रमा बसोवास गर्छन्, उनीहरु महाकाली नदीमा बगेर आएको काठ दाउरा समात्न पाउँदैनन् । माछा मार्न पाउँदैनन् । छेउको बालुवा र गिट्टी बटुल्न पाउँदैनन् । यी सबै कुरा गर्न भारतीय सिमा सुरक्षा बल ( एसएसबी) ले रोक्ने गरेको छ ।

उद्धव जस्तै धनसिंह मंगोलाले पनि यही महाकाली किनारमा डुङ्गा खिय्याएर जिवीका चलाउँदै आउनुभएको छ । यहाँका डुङ्गा चालकका ग्राहक पनि उनीहरु जस्तै पीडित नेपाली हुन् । भारतीय एसएसवीको आँखा छलेर महाकालीबाट माछा मार्छन् । नेपालतर्फ आउँन सडक र यातायात नहुँदा नुन तेलको जोहो गर्न भारतीय बजारमा माछा बिक्री गर्न लैजाँदा पनि उस्तै खप्की व्यहोर्नुपर्छ ।

महकाली किनारको दरथचन्द नगरापलिका शेरा वगरको बालुवामा सुन भेटिएपछि त्यसको विस्तृत अध्ययन गर्न तत्कालीन जिल्ला विकासले २५ वर्षअघि जिल्ला परिषद्बाट निर्णय गरे यता महाकालीको वगर छेऊ स्थानीय वासिन्दा जान पाएका छैन ।

चमेलिया नदीबाट बगेर आउने बालुवा बैतडीको दरथचन्द नगरपालिकाको शेराबाट महाकाली नदीमा मिसिन्छ । बगेर आएको बालुवा पनि नेपालीहरुले उठाउँन पाउँदैनन् । त्यही बालुवामा सुन भेटिएको थियो । “बगरमा चार/पाँच जना नेपाली जम्मा हुनासाथ एसएसवीले लखेटिहाल्छ” स्थानीय नदी किनारका तारा कार्की भन्नुहुन्छ ।

“माछा मार्न गयो कि, भारतीय एसएसवीले पारीबाट लखेटन आउँछ” अर्का स्थानीय धनसिंह मंगोलाले दुःख सुनाउनुुभयो । महाकाली नदी पारी पट्टी प्रत्येक पाँच किलो मिटरमा तैनाथ गरिएको भारतीय एसएसबीको क्याम्पका सुरक्षाकर्मीले नेपालीहरुलाई नदी किनारबाट लखेट्नेदेखि डुङ्गामा नेपाल–भारत आउजाऊ गर्दा दुव्र्यवहार गर्ने गरेको स्थानीयले पीडा सुनाए ।

माकाली तटीय क्षेत्रमा वस्ने समुदायका यस्ता समस्या उजागर गर्न अहिले त्यस क्षेत्रमा अक्सफामको सहयोगमा रुडेस बैतडीले महकाली तटीय क्षेत्रका वासीन्दाका लागि पैरबी कार्यक्रम संचालन गरिरहेको छ । बैतडीको शिबनाथको कुस्मतघाट, पञ्चेश्वरको डिम्बरघाट, बिनायक र दशरथचन्द नगरपालिकाको मटेला, भेक्कर र शेरा क्षेत्रका महिला सशक्तिकरण केन्द्र मार्फत कार्यक्रम संचालन गरेको हो । कार्यक्रम संचालन गरिएका उक्त क्षेत्रहरु विपद्का दृष्टिले जोखिमयुक्त ठाउँ पनि हुन् ।

कार्यक्रमले स्थानीय समुदायमा अन्तराष्ट्रिय ऐन कानुन र नदी उपभोगमा नेपालीका अधिकार बारे जनचेतना अभिवृद्धि गरेर समस्याहरु उजागर गरी त्यसको समाधानका लागि पहल गर्न कार्यक्रम संचालन गरेको रुडेस बैतडीले जानकारी दिएको छ ।

तटीय क्षेत्रमा वसोबास गर्ने नेपालीहरु निकै ठूलो दुःखमा रहेको ट्रोसा (पैरबी) कार्यक्रम संचालन गरिरहेको रुडेस बैतडीका कार्यकारी निर्देश गोविन्दराज जोशी बताउनुहुन्छ । “पञ्चेश्वर लगायतका क्षेत्रमा नेपाली रुपियाँ सहजै चल्दैन । भारतीय बजारबाटै कारोबार हुने गरेको छ । नेपाली मुद्रा भारतीय बजारमा नचल्दा पैशा थन्किने हुन्छ । सटही काउन्टर छैन । जिल्ला सदरमकाम आएपछि मात्रै नेपाली पैशा चल्ने भएकाले त्यहाँ सितिमिति नेपाली पैशा लिने चलन छैन” जोशीले अनुभव सुनाउँनुभयो ।

महाकाली तटीय क्षेत्रमा वसोबास गर्ने महिलाहरु झन पीडित भएको सुनाउँछन् । “सुत्केरी व्यथा लागे पनि डुङ्गा र ट्युबको जोखिम मोल्दै पारी जानुपर्छ । दिउँसो भए त डुङ्गा हुन्छ । राती व्यथा लागे सुत्केरी महिला ट्युबमाथि जोखिम मोलेर जार्नुपर्छ” स्थानीय अमृता चन्द पीडा सुनाउनुहन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: