टेलिकमको टावरले काम नगर्दा पुर्चौडीबासी सञ्चार सेवाबाट वञ्चित

मा प्रकाशित


बैतडी ।

बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासी सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

दहतालमा रहेको नेपाल टेलिकमको टावरले घाम लागेको बेला मात्रै टेलिकमको टावरले काम गर्ने र अरुबेला काम नगर्ने भएपछि  पुर्चौडीबासी अतिआवश्यक सञ्चार सेवाबाट वञ्चित भएको स्थानीय अम्बादत्त अवस्थीले जानकारी दिनुभयो ।

टावरमा रहेका ब्याट्रीले काम गर्न छोडेपछि समस्या भएको हो । टेलिकमको टावरले दिउँसो घाम लागेको बेलामात्रै काम गर्ने भएकाले अतिआवश्यक कामका लागि सञ्चारको सकस भएको अर्का स्थानिय बासिन्दा अनिरुद्र जोशीले जानकारी दिनुभयो ।

टेलिकमको टावरमा देखिएको समस्या समाधानका लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भएपनि कुनै सुनुवाई नभएको स्थानीयबासीको गुनासो छ ।

गएको असारदेखि टावरले राम्रोसंग काम नगरेको स्थानीयबासीले बताएका छन् । टेलिकम बैतडीले भने टावर मर्मतको जिम्मा पाएको निकायलाई खबर गरेको जनाएको छ ।

तर टावरमा देखिएको समस्या अहिले समाधान नभएको स्थानीयबासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!