चैत ८ को एसइई परीक्षाका लागि २ हजार परीक्षा केन्द्र तोकिने

मा प्रकाशित


भक्तपुर ।
चैत ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन सुरु गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उनले प्रश्नपत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको बताए। केन्द्रले यस वर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको बताए।

एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेबसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए।

विद्यार्थीले कार्यालयको वेबसाइटमा गएर प्रश्नपत्रको नमुना हेर्न सक्ने भन्दै रेग्मीले थपे, ‘कार्यालयले सबै विषयको नमुना प्रश्नपत्र बनाएको छ।’

एसइई परीक्षा साधारणधारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिका छ।रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: