१३ जना कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक

मा प्रकाशित


काठमाडौं ।
नेपाली महाकाव्यको इतिहासमा पहिलोपटक १३ जना कविहरुद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ राजधानीस्थित राष्ट्रिय नाचघरमा लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले महाकाव्यको लोकार्पण गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता प्रा. घनश्याम कँडेलले गर्नुभएको थियो ।

महाकाव्य ‘आरोहण’का लेखकहरु क्रमशः प्रा. गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईं, डा. जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी हुनुहुन्छ ।

पुस्तकका बारेमा कार्यक्रमका प्रमुख अतिथि वासुदेव त्रिपाठीले भन्नुभयो– ‘महाकाव्यजस्तो गहन विधा लेखनलाई जनभावना र नेपालीको साझा संवेदनाजस्तो विषयलाई ऐतिहासिक महत्व बोकेको गोर्खा जिल्ला, त्यसको भौगोलिक र ऐतिहासिक महत्वलाई काव्यको कथावस्तु बनाइनु कम प्रशंसनीय कुरा होइन । विश्वबाट छन्द लेखन नै हटिसकेको समयमा यसको गीत्यात्मक लयात्मक महत्ता नेपालले बुझेको छ र यी १३ जना कविले छन्दको फूलबारीजस्तै बनाएर यो काव्य सिर्जना गर्नुभएकोमा बधाई दिन्छु । यो पाठ वर्तमान पुस्ताले सिक्नुपर्छ भन्ने मेरो आग्रह हो ।’

पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै प्रा. ठाकुरप्रसाद पराजुलीले भन्नुभयो– ‘यो १३ जनाको संयुक्त अनुष्ठान हो । यसमा प्रायः सबै अलङ्कारको कुशल प्रयोग छ । यो महाकाव्य भाषिक समायोजनका दृष्टिले प्रशंसनीय छ । लोक जनजीवनको प्र्रत्यक्ष संवेदनालाई विषय बनाएर भाषा र छन्दको मानक अनुशासन कायम गरी संयुक्त काव्य लेख्नु कम साधनाले हुँदैन । व्यक्तिगत विषयमा बरालिएको समुदायलाई विकास र निर्माणमा लाग्न संयुक्त बल लिएर उभिनु यो समयको लागि सबल निर्देशन र प्रेरणा हो ।’

कवि भुवनहरि सिग्देलले आरोहण महाकाव्यको रचनागर्भ र काव्यांशवाचन गर्नुभएको थियो । त्यस्तै, प्रा. राजेन्द्र सुवेदीले सामूहिक लेखनको औचित्यबारे प्रष्ट पार्नुभयो । साथै डा. रामप्रसाद ज्ञवाली, नारायणप्रसाद पोखरेल, रमेश शुभेच्छु, देवी नेपाल, प्रकाश चापागाईंले काव्यांश वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गर्नुभएको थियो । शिखा बुक्सद्वारा प्रकाशित उक्त पुस्तकको मूल्य रु. ३७५/– रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: