बाबुराम पनि बालकोटमा

मा प्रकाशित


काठमाडौं ।

नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।

बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । ‘प्रचण्ड र ओली दुवैलाई गोरखाबाटै टेलिफोनमा बधाई दिनुभएको थियो, ओलीले भेटेर कुरा गरौं भन्नुभएकाले बधाई दिन आउनुभएको हो,’ ती सहयोगीले भने ।

भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए । उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे ।

‘गठबन्धनको कुरा अहिले गरिएन, राष्ट्रियसभा अध्यादेशको अड्चन खुलाउन सहमति जुटाउन सल्लाह दिएँ’, भट्टराईले भने, ‘मैले अरू कुनै आकांक्षा राखेको भन्ने सही होइन, अहिले त्यस्तो कुरा गर्नु उपयुक्त हुन्न ।’

ओलीले अध्यादेशमा देउवाले सल्लाह नगरी एकलौटी गरेको टिप्पणी गरेको भट्टराईले बताए ।

एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ । असोज १७ गते वाम गठबन्धन घोषणा हुँदा ओली-दाहालसँगै उभिएका उनी केही दिनमै कांग्रेससँग मोर्चाबन्दी गरेर चुनाव लड्ने निर्णयमा पुगेका थिए । नयाँशक्तिबाट चुनाव जित्ने उनी मात्रै हुन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!