दिवा खाजा कार्यक्रमले विद्यार्थीमा नियमितता

मा प्रकाशित


बैतडी ।

बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयतर्फ आकर्षण बढाउने उद्देश्यले सुरु भएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमितता बढाएको छ ।

दिवा खाजा कार्यक्रम सुरु भएका विद्यालयमा विद्यार्थीको नियमितता बढ्नुका साथै उमेर नै नपुगेका बालबालिका पनि विद्यालयतर्फ आकर्षित हुन थालेका पाइएको छ ।

बैतडीका बिद्यालयमा बालबालिकाका लागि दिइने दिवा खाजा कार्यक्रम अनुगमनका क्रममा प्रभावकारी देखिएको हो ।

पुर्चौडी नगरपालिका ६ को बेउरेश्वर आधारभुत बिद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले खाजा पाउने भएपछि विद्यार्थी नियमित आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा छाडेर जाने विद्यार्थीको संख्यामा पनि कमी आएको छ ।”

विकास तथा प्रकोप ब्यबस्थापन केन्द्र (सिडीएम) नेपालले बैतडीका १९९ वटा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको उहाँले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइका कार्यक्रम चलाउन सहयोग गरेपछि विद्यालयमा सुधार आएको समेत उहाँले बताउनुभयो ।

अहिले विद्यालयमा बालबालिकालाई दिवा खाजा खानेबेला हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको विकास तथा प्रकोप ब्यबस्थापन केन्द्र (सिडीएम) नेपालका क्षेत्रिय संयोजक गणेश मगरले बताउनुभयो  ।

सरसफाइका माध्यमबाट शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको र यसले विद्यालयमा धेरै परिवर्तन ल्याएको उहाँले बताउनुभयो ।

कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा विद्यालयस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएका छन् भने विभिन्न किसिमका तालीमसमेत सञ्चालन भएका छन् ।

कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा सरसफाइका बारेमा चेतना जागेको विद्यालयले जनाएको छ । कार्यक्रमले बालबालिकामा सरसफाइ गर्नुपर्छ भन्ने धारणा विकास भएको छ भने बालबालिकाले अभिभावकलाई सरसफाइका बारेमा सिकाउने गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: