चौबिसै घण्टा मतपेटिका कुर्छन् दलका कार्यकर्ता

मा प्रकाशित


बैतडी ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका मतपेटिका कुर्नकालागि राजनीतिक दलहरुले चौबिसै घण्टा आ-आफ्ना कार्यकर्ता खटाएका छन् । निर्बाचन आयोगले यहि मङ्सिर २१ हुने दोश्रो चरणको निर्बाचन पछी मात्रै मतगणना गर्ने निर्णय गरेपछि पहिलो चरणको निर्बाचनका मतपेटिका कुर्नु परेको हो ।

बैतडीको दशरथचन्द नगरपालिकाको भवनमा राखिएका मतपेटिका दलका प्रतिनिधिले चौबीसै घण्टा कुरिरहेका छन् । मतपेटिका राखिएका कोठाको ढोकामा ताला र सिल लगाईएको छ । दलका कार्यकर्ताहरुका लागि दशरथचन्द नगरपालिकाको भवनमा बसेर मतपेटिका कुर्ने व्यवस्था मिलाएको बाम गठबन्धनका क्षेत्र नं ‘क’ का युवा इन्चार्ज पुष्कर भण्डारीले बताए ।

उहाँका अनुसार दलका कार्यकर्ताले आलोपालो गरेर मतपेटिका कुरिरहेका छन् । नगरपालिकाको कार्यालयमा राखिएका मतपेटिकालाई सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । निर्वाचन आयोगले खटाएका कर्मचारी पनि मतपेटिकाको सुरक्षामा तल्लिन छन् ।

मतपेटिकाको सुरक्षामा विश्वस्त हुन कुरुवाको रुपमा प्रतिनिधि राख्नुपरेको दलहरुले बताएका छन् । मतपेटिका कुर्न आफुहरुले पनि प्रतिनिधि खटाएको नेपाली काँग्रेस बैतडीका कोषध्यक्ष रमेश पाण्डेयले बताए ।

दलहरुले आफ्ना सबै भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिलाई मतपेटिका कुर्ने जिम्मेवारी सुम्पेका छन् । दलहरुबीच आपसी विश्वासको वातावरण रहे पनि निवार्चनको संवदेनशीलता हेरेर मतपेटिका कुर्नुपरेको दलका नेताले बताएका छन् ।

प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमालेका पुर्ब अर्थराज्यमन्त्री दामोदर भण्डारी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका बाणिज्य राज्यमन्त्री नर बहादुर चन्द प्रतिस्पर्धामा छन् । प्रदेशसभाका लागि क्षेत्र ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका प्रेम प्रकाश भट्ट (आदित्य) र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी प्रतिस्पर्धामा छन् । त्यस्तै क्षेत्र ‘ख’ मा बाम गठबन्धनबाट एमालेका लिलाधर भट्ट र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका गणेश बहादुर चन्द प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!