ईपीएलमा काठमाडौंको पहिलो जित

मा प्रकाशित


काठमाडाैं ।

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल अन्तर्गत काठमाडौं किङस इलाभेनले चितवन टाइगर्सबिरुद्ध ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौंको यो पहिलो जित हो । यता चितवनको भने लगातार दोस्रो हार हो ।

सुरुवातका दुई खेलका लगातार पराजय ब्यहोरेको काठमाडौंले बिहीबारको खेलमा चितवनले दिएको १४३ रनको लक्ष्य १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौंका लागि कप्तान फारविज महारुफले ३९ रन बनाए । ओपनर सागर पुन ५ रनमै आउट भएपछि आएका महारुफले अर्का ओपनर अमित श्रेष्ठसँग मिलेर ६५ रनको साझेदारी गरे । अमितले ३८ रन बनाए ।

कुनै समय सहज जिततर्फ उन्मुख काठमाडौंका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा उसलाई जित हासिल गर्न अन्तिम ओभरसम्म कुर्नुपरेको थियो । काठमाडौंका लागि सागर कुमारले पनि २३ रन बनाएका थिए ।

बलिङतर्फ चितवनका प्रविन गुप्ताले २ विकेट लिँदा दिपेन्द्रसिंह ऐरी, साहव आलम र प्रमेश कुमारले एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियू मैदानमा टस हारेेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४२ रनको योगफल बनाएको थियो । चितवनका लागि ओपनर दिलिप नाथले ४६ र सविज खानले २७ रन बनाए पनि अन्यको प्रदर्शन सन्तोषजनक भएन । चितवनले १४ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ काठमाडौंका कप्तान महारुफले ३ विकेट लिँदा सागर पुन, अमरसिंह रौतेला र विक्रम भुसालले एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच काठमाडौंका कप्तान महारुफ चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!