६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

मा प्रकाशित


काठमाडौं ।
निर्वाचन आयोगले पहिलो चरणमा आज सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा ६५ प्रतिशत मत खसेको जनाएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक जानकारी अनुसार हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा भएको चुनावमा ६५ प्रतिशत मात्र मत खसेको छ ।

स्थानीय तहको चुनावमा औसत ७४.७ प्रतिशत मत खसे पनि अहिले भने ६५ प्रतिशत मात्र मत खसेको हो । यो स्थानीय तहको चुनावमा भन्दा झण्डै १० प्रतिशत कम हो । मतदानबारे विस्तृत विवरण संकलन भइरहेको आयोगले जनाएको छ ।

सबैभन्दा बढी ८० प्रतिशत मतदान बाजुरामा भएको छ।

कूल १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता थिए।

पहिलो चरणमा आज सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रूकुम (पूर्वीभाग), रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!