सुदूर पहाडमा जात्राको रौनक



बैतडी ।

नेपालीहरुका ठूला चाड दसैं तिहार सकिएपछि सुदूरपश्चिमका केही पहाडी जिल्लामा जात्राको रौनक छाएको छ। कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला तथा डडेल्धुराका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गरेको हो। कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ।

 दसैंको बेला जात्रा लागेका मन्दिरहरुमा समेत कार्तिक शुक्ल पक्षमा समेत पूजाआजा गर्ने चलन रही आएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखक बताउँछन्। उनी भन्छन् ‘शरद ऋतु देवीदेवताहरुको पूजाउपासना गर्ने उत्तम ऋतुको रुपमा मानिन्छ। त्यसैले कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजन गर्ने चलन रही आएको छ।’

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रही आएको दार्चुलाको शैल्यशिखर नगरपालिकाका गंगासागर जोशी बताउँछन्। उनी भन्छन् ‘असोज दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरुमा सामूहिक पूजाआजा गर्ने चलन रहेको छ। कार्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवता पूजनका लागि उत्तम रहेको मानिन्छ।’

कार्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्ग मध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ। यस्तै दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ।

त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, भवानी मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ।

तिहार सकिए लगत्तै सुदूर पहाडमा जात्राको रौनक छाएको दशरथचन्द नगरपालिका त्रिपुराका गणेशसिंह थापाले बताए। उनी भन्छन् ‘हाम्रो यतातिर पहिलादेखिकै चलन हो। कार्तिक शुक्ल पक्षमा विभिन्न मन्दिरहरुमा जात्रा हुने गर्दछ। दसैं तिहार पछि पनि १५ दिन दसैंतिहार भन्दा कम्ती रमाइलो हुँदैन्।’

पर्यटक भित्रिने समय

बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने गर्दछन्। कार्तिक शुक्ल सप्तमीदेखि सुरु भई कार्तिक शुक्ल अष्टमीका दिन लाग्ने मेला भारतको झुलाघाट,पिथौरागढ लगायत क्षेत्रबाट हजारौं दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका ४ का आनन्दमणी भट्ट बताउँछन्। उनी भन्छन् ‘भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ। हाम्रा सांस्कृतिक चाडपर्वहरुमा भारतीय दर्शनार्थी थुप्रै आउने गर्दछन्। तर पनि विभिन्न कुराहरुको अभावले दर्शन गर्ने इच्छा भएका जति आउन सकिरहेका छैनन्।’

भारतीय नागरिकको नेपालका शक्तिपीठहरु प्रति ठूलो विश्वास छ। प्रत्येक बर्ष हजारौंको लगानी गरेर दर्शनार्थीहरु नेपालका बैतडी, डडेल्धुरा, दार्चुला जिल्लामा पुग्ने गरेको भारतीय पत्रकार राजेश पंगरिया बताउँछन्। उनी भन्छन् ‘बिशेष गरेर त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शनका लागि हामी पुस्तौदेखि आउने गरेका छौं। यो बर्ष पनि हजारौंले दर्शनको तयारी गरेका छन्। कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा हामी भगवती मातालाई भाकल अनुसारका चीजवस्तुहरु चढाउने गर्दछौं।’

दसैंदेखि कार्तिकको अन्तिम सम्ममा पहाडी क्षेत्रका गाउँघरमा चहलपहल बढ्ने गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्ट बताउँछन्। उनी भन्छन् ‘तराईको कैलाली कञ्चनपुरमा हाम्रो पहाडबाटै बसाइ सरेकाहरु छन्। उनीहरु जात्राको समयमा जसरी पनि आइपुग्छन्। कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा टाढाटाढाका दर्शनार्थी आउने गरेका छन्।’

हिजोआज बैतडी, दार्चुला र डडेल्धुराका गाउँगाउँमा चहलपहल बढेको स्थानीयबासी बताउँछन्। देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक भावनाको विकास गरेको दार्चुलाका स्थानीय गंगासागर जोशी बताउँछन्। उनी भन्छन् ‘तराई गएकाहरु पहाडका आफ्नै गाउँका मान्छेलाई नचिन्ने हुन्छन्। तर मन्दिरमा लाग्ने जात्राका लागि उनीहरु यता आउँदा सबैसँग भेटघाट हुन्छ। यसले आत्मीयता र भातृत्वको भावना बढाउने गर्दछ। भुगोलको दुरी भएपनि आत्मीयता तथा पारिवारिक सम्बन्ध नजिक बनाउन जात्राहरुले महत्वपूर्ण भूमिका खेलेका छन्।’

बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न शक्तिपीठमा लाग्ने जात्रामा दर्शन गर्नका लागि अहिले तराईका जिल्लाबाट आउनेको संख्या बढ्दै गएको छ। तराइबाट पहाड आउने गाडीहरुमा यात्रुको चाप बढेको जीप काउन्टर सतबाँझका इन्चार्ज कर्णबहादुर पाण्डे (काँजी)ले बताए। भन्छन् ‘तिहार पछि पहाडतर्फ आउने यात्रुको संख्या बढ्दै गएको छ। धेरै जसो मन्दिरमा दर्शनका लागि दर्शनार्थीहरु रहेका छन्।’

प्रचारप्रसार आवश्यक

प्रदेश नं ७ अर्थात सुदूरपश्चिमका पहाडी जिल्लामा थुपै्र धार्मिक पर्यटनका क्षेत्र रहेका छन्। बर्षभरीमा ती धार्मिक क्षेत्रमा कम्तीमा पनि ३ पटक मेला जात्रा लाग्ने गर्दछ। पहाडका एकै गाउँमा कम्तीमा ५,६ ओटा मन्दिर रहेका छन्। सुदूर पहाडमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक भित्र्याउन नसकेको संस्कृतिका जानकार घनश्याम लेखक बताउँछन्। उनी भन्छन् ‘सुदूर पहाड मानसखण्ड क्षेत्रभित्र पर्दछ। यसको वैदिक कालदेखि नै महत्व रहेको छ। यो क्षेत्रमा प्रशस्त धार्मिक क्षेत्रहरु रहेका छन्। तर तिनीहरुको प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन्।’

सुदूर पहाडमा रहेका धार्मिक क्षेत्रहरु भारतमा रहेका धार्मिक क्षेत्रभन्दा कम नभए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारी बताउँछन्। उनी भन्छन् ‘हजारौं रुपैँया खर्च गरेर हामी भारतको उत्तराखण्डमा रहेका विभिन्न तीर्थस्थलमा तीर्थाटनका लागि जाने गर्दछौं। तर हाम्रो यहाँ त्यस्ता थुप्रै धार्मिक क्षेत्र छन्। जहाँ भारतीय दर्शनार्थी समेत आउँछन्। हामीले यी क्षेत्रहरुको प्रचारप्रसार गर्न सके यो क्षेत्र विकसित हुनेमा दुईमत छैन्।’ यो खबर भगीरथ अवस्थीले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)