वाम घोषणा : ‘आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व’

मा प्रकाशित


काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा एवं प्रदेश सभा चुनावका लागि दलहरूले तयारी तीव्र पारिरहेका छन् । उम्मेद्वार मनोनयनसँगै दलहरू जनताको मन जित्ने खालका चुनावी घोषणा पत्र, नारा र पर्चा बनाउन समेत व्यस्त छन् । यसैक्रममा वाम गठबन्धनमा सामेल दुई ठूला पार्टी नेकपा एमाले र माओवादी केन्द्रले ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ चुनावी घोषणापत्र तयार पारिसकेको जनाइएको छ ।
वाम घोषणापत्रको मुख्य मुद्दा नै ‘आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व’ रहेको छ । देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्ने उद्देश्यले नै वाम शक्तिहरूबीच गठबन्धन र एकता गरिन लागेको जनाउँदै दुई तिहाइ बहुमत पु¥याएर देशमा राजनीतिक स्थायित्व ल्याउन आफूहरू लागि परेको वामगठबन्धनको दाबी छ ।
नेपालको आर्थिक समृद्धिका आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य राखेको वाम गठबन्धनले आफूहरु नै लोकतन्त्रको असली पहरेदार र हिमायती भएको घोषणापत्रमार्फत् दाबी गरेको छ । स्मरणीय छ, नेपाली कांग्रेसले वाम गठबन्धन लोकतन्त्र मास्न र अधिनायकवाद लाद्न खडा भएको भन्दै आलोचना गरिरहेका बेला वाम घोषणापत्रमा चाहिँ यसलाई अफवाहको संज्ञा दिइएको छ ।
‘केही दलले आफूहरु मात्रै लोकतन्त्रको पहरेदार भएको र वाम गठबन्धन प्रजातन्त्रविरुद्ध रहेको भन्दै गरिरहेको प्रचारसमेत आफ्नो कमजोरी लुकाउने र नेपाली जनताको परिवर्तनप्रतिको चाहनालाई अगाडि बढ्न नदिने मानसिकताले आएको अफवाह हो,’ घोषणापत्रमा भनिएको छ, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवं हितको रक्षालाई सर्वोपरी स्थानमा राख्दै लोकतन्त्रको नेपाली मोडल र प्रयोगका लागि वाम गठबन्धन तयार भएको हो ।’
‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’लाई सफल पार्न र विकास गर्ने लक्ष्य वाम गठबन्धनले लिएको छ । तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्ने, समाजवादका आधार तयार पार्ने लगायतका कार्यभार उक्त घोषणापत्रमार्फत् दर्शाइएको छ । यसअघिका वामपन्थी सरकारले सामाजिक सुरक्षा र आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै ती कार्यक्रमलाई थप प्रभावकारी बनाउने समेत घोषणापत्रमा उल्लेख छ ।
लोडसेडिङ अन्त्य, ‘नेपालको पानी जनताको लगानी’ जस्ता ऊर्जा क्षेत्र सुधारका ठोस कार्ययोजना, अघोषित नाकाबन्दीविरुद्ध राष्ट्रिय एकताको नेतृत्व गर्दै वैकल्पिक निकासको पहल, चीनसँग पारवहनलगायत ऐतिहासिक सम्झौता, अहिलेसम्मकै उच्च आर्थिक वृद्धि वामपन्थी नेतृत्वको सरकारले गरेका केही नमूनायोग्य कामका रूपमा अघि सार्दै वामपन्थी गठबन्धनले आफूहरुको नेतृत्वमा नै विकास र समृद्धिले फड्को मार्न सक्छ भन्ने स्पष्ट संकेत गरेको घोषणापत्रमा भनिएको छ ।
स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवं लाभ र राष्ट्रिय हितका आधारमा छिमेकीलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने पनि घोषणापत्रमा उल्लेख छ । संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राष्ट्रिय आवश्यकता अनुसार राष्ट्रिय सुरक्षा नीतिलाई राष्ट्रिय सहमतिका आधारमा ठोस रुपमा कार्यान्वयन गर्ने, मजदुर, किसान र श्रमजीवि वर्गको हितमा समर्पित हुने, स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिने विषय घोषणापत्रमा समेटिएको छ ।
आगामी मंसिर २१ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने मिति यही कात्तिक १६ गतेका लागि तय भएकाले सो लगत्तै वाम घोषणापत्र सार्वजनिक गर्ने दुवै दलको तयारी रहेको बताइएको छ ।
यसैबीच नयाँ शक्ति पार्टी नेपालले पनि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा ‘देशलाई समृद्धिको युगमा लैजाने’ बताइएको छ । नयाँ शक्तिले पनि आर्थिक समृद्धि र त्यसका लागि राजनीतिक स्थायित्वलाई मूल केन्द्रमा राखेको छ । नयाँ शक्तिले ७ प्रदेशका लागि छुट्टाछुट्टै योजना पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: