मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई

मा प्रकाशित


कैलाली ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान, गोदावरी (कैलाली) ले २०७३ माघमा स्थापना गरेको मनिराज वाङ्मय पुरस्कार प्रथम पटक राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ ।

यही असोज २६ गते महाकाव्यकार मनिराज जोशीको ६३ औं वर्ष प्रवेशका अवसरमा एक समारोहका बीच यस पुरस्कारको घोषणा प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी प्रभातले कैलाली जनपुस्तकालयको सभाकक्षमा गर्नुभयो ।

महाकाव्यकार जोशीका जेष्ठ सुपुत्र गोविन्दराज जोशी, पुत्रवधु तारा जोशी, पुत्र वासुदेव जोशी, पुत्रवधु खेमा जोशी संस्थापक रहनुभएको यस पुरस्कारका लागि रु. दश लाखको अक्षयकोष स्थापना गरिएको छ । यस पुरस्कारको राशि रु. एक लाख रहेको छ ।

यस पुरस्कारको निर्णायक समितिमा प्रा.डा. रामचन्द्र भट्टको संयोजकत्वमा सदस्य श्रेष्ठ प्रिया पत्थर एवम् प्रा. डिल्लीराज फुलारा रहनु भएको छ ।

महाकाव्यकार जोशी वि.स. २०१२ असोज २६ गतेका दिन डोटी जिल्लाको हालको पूर्वीचौकी गाउँपालिका, गाँजरीमा धर्मराज जोशी एवम् जसुदादेवी जोशीका जेष्ठ सुपुत्रका रुपमा जन्मनु भएको हो । उहाँका प्रमुख कृतिमा दशरथ चन्द, जयपृथ्वी, पहलमानसिंह स्वार, खप्तड, शैलेश्वरी एवम् प्रकाश गरेर ६ महाकाव्य रहेका छन् । यस बाहेक उहाँका ३० कृति प्रकाशित छन् ।

सुदूर पश्चिमको साहित्य, संस्कृति, अध्यात्म एवम् समाजसेवाका क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँले नवदुर्गा अनुष्ठान केन्द, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको संस्थापकका साथै सुप साहित्य समाजको समेत संस्थापक गर्नुका साथै रु. ४० लाख बराबरको मनिराज संस्कारालय (सभाकक्ष)को समेत निर्माण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!